स्मार्ट शहर बनाउन चार सय मल्टिफङ्कसनल ल्याम्प पोस्ट
एससीएमपी
July 19, 2019
स्मार्ट शहर विकास प्रवर्द्धन गर्ने सरकारी योजना अन्तर्गत आउने तीन वर्षभित्र हङकङमा चार सय ओटा मल्टिफङ्कसनल ल्याम्प पोस्ट राखिनेछ । यसक लागि २७ करोड २० लाख हङकङ डलर बजेट छुट्याउने तयारी भइरहेको छ ।
ल्याम्प पोष्टमा सेन्सर, सिसि क्यामेरा, डाटा नेटवर्क र अन्य डिजिटल सुविधा पनि हुनेछ । हावाको गुणस्तर, ट्राफिकको वहाव र मौसम सम्बन्धी जानकारी संकलन गर्न यी ल्याम्प पोस्टलाई प्रयोग गरिनेछ । विश्लेषणका लागि यसको डाटा सर्वसाधारण सरकारी विभाग र विभिन्न उद्योगलाई उपलब्ध हुनेछ ।
केही ल्याम्प पोस्टमा ट्राफिक क्यामेरा जडान गरिनेछ । यसबाट ट्राफिक जाम र दुर्घटना सम्बन्धी रियल-टाइम जानकारी संकलन गरिनेछ । हावाको गुणस्तर मापन गर्ने सेन्सरले प्रदूषको सघनताबारे डाटा संकलन गरेर विश्लेषणका लागि इन्भाइरोन्मेन्टल प्रोटेक्सन डिपार्टमेन्ट पठाइनेछ ।
ती ल्याम्प पोस्टले फाइभ जी मोबाइल नेटवर्कको निर्माणमा पनि सहयोग पुर्याउनेछ । यसको बेस स्टेसनबाट तिव्र गतिको मोबाइल डाटा नेटवर्क सहजीकरण गर्न सकिनेछ ।
‘शहर र ट्राफिक व्यवस्थापन अभवृद्धि गर्न स्मार्ट ल्याम्प पोस्टले हाम्रो विभागलाई विभिन्न स्माट एप्लिकेसन कार्यान्वयन गराउन सहयोग गर्नसक्छ,’ असिस्टेन्ट गभर्न्मेन्ट चिफ इन्फोर्मेसन अफिसर टोनी वोङ ची-क्वोङले भने ।

स्मार्ट ल्याम्प पोस्टले नागरिकको गोपनियता हनन नगर्ने वोङले जोड दिए । सार्वजनिक परामर्श नभएसम्मलाई केही कामहरू स्थगन गरिएका छन् । ल्याम्प पोस्टले गर्ने केही कामहरू लागु हुनुअघि डिस्ट्रिक्ट काउन्सिलको पनि स्वीकृति पनि लिनुपर्ने हुन्छ । गैरकानूनी रूपमा फोहोर फ्याँक्ने स्थानको पहिचान र सडक विशेषमा प्रयोग हुने सवारी साधनको प्रकार विश्लेषण गर्न कारको प्लेट नम्बर संकलन गर्ने कार्य हाललाई स्थगित गरिएको छ ।
नागरिकको गोपनियता सुरक्षित राख्न आवासिय क्षेत्रतर्फ फर्किएको स्मार्ट ल्याम्प पोस्टमा भिडियो क्यामेरा राखिने छैन ।
‘स्मार्ट ल्याम्प पोस्टको प्रयोगले गोपनियता वा व्यक्तिगत सूचनाको उल्लंघन हुने सम्भावनाबारे सर्वसाधारण चिन्तित रहेको हामीले बुझेका छौं । अनुहार वा व्यक्तिगत डाटा संकलन गर्ने हाम्रो कुनै योजना छैन र यस्तोइ योजना ल्याउने पनि छैनौं,’ वोङले भने ।

काउलुन, काइ ताकको बे शिङ काइ रोड र क्वुन तोङ लगायत बटुवाको भीड र अत्यधिक ट्राफिक हुने थुप्रै डिस्ट्रिक्टमा ५० ओटा ल्याम्प पोस्ट राख्ने कार्य जून महिनाको अन्त्यदेखि सुरू भएको छ । सेन्ट्रल, एडमिराल्टी, कजवे बे, वान चाइ र चिम चा चुइ लगायतका स्थानमा चरणबद्ध रूपमा थप स्मार्ट ल्याम्प पोस्ट राखिने ।
कमेन्ट गर्नुहोस्

















