• हङकङमा आन्दोलनको अर्को साता

  • सुपुर्दगी विधेयक स्थगित भए पनि आन्दोलन अझै जारी छ। प्रहरीले आक्रोशित भीडलाई बलपूर्वक हटाइरहेको छ।

    युन लोङमा शनिबार भेला भएका प्रदर्शनकारी हटाउन प्रहरीले अश्रु ग्याँस, स्पोञ्ज ग्रिनेड, पेप्पर स्प्रे र बेटन प्रयोग गर्‍यो।  प्रतिक्रियामा प्रदर्शनकारी पनि छाता र लठ्ठी चलाए। अघिल्लो सप्ताहन्तमा सरकारको विरोध गरिरहेका प्रदर्शनकारी र बटुवालाई सशस्त्र भीडले आक्रमण गर्‍य। आक्रमणमा परी कम्तिमा ४५ जना घाइते भए। त्यसैको विरोधमा यो जुलुस निकालिएको थियो।

    शनिबारको दंगाफसाद विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो। आन्दोलन रातिसम्म चल्यो। आइतबार बिहानसम्म २३ जना घाइते भए। दुई जनाको अवस्था गभ्मीर छ। प्रहरीले थुप्रै मानिसलाई पक्राउ गरेको छ। मध्यरातपछि सरकारले जारी गरेको वक्तव्यमा शान्ति भाँड्ने र कानून उल्लंघन गर्ने प्रदर्शनकारीको भर्त्सना गरिएको छ। हिंस्रक प्रदर्शनकारी विरूद्ध प्रहरीले कडा कारवाही गर्ने पनि बताइएको छ।

    “प्रहरीले आपत्ति र निषेध गरे पनि केही व्यक्ति युन लोङको जुलुस र सभामा सहभागी भए। सरकार यसप्रति खेद प्रकट गर्दछ,” वक्तव्यमा भनिएको छ।

    “जुलुसुपछि केही प्रदर्शनकारीले प्रहरीको घेरा तोडे। प्रहरीको एउटा सवारी साधन तोडफोड र सडक अवरूद्ध गरे। सार्वजनिक शान्तिका खलल पुर्‍याएको र कानून तोडेकोमा सरकार प्रदर्शनकारीको कडा भर्त्सना गर्दछ।“

    प्रदर्शनकारीले इँटा र ज्वलनशील तरल पदार्थ भएका बोतल प्रहरीलाई प्रहार गरेको, धातुका छडले प्रहरी अधिकारीलाई आक्रमण गरेको र सडकबाट बार हटाएको सिनियर सुपरिन्टेन्डेन्ट योलान्डँ यु होइ‑क्वानले बताइन्। प्रतिक्रियामा भीड तितरबितर बनाउन प्रहरी अधिकारीले अश्रु ग्याँस, रबरका गोली र स्पोञ्ज ग्रिनेड गरेको उनले बताइन्। तर कति राउण्ड गोली प्रहार भए त्यसबारे केही बताइनन्।

    युन लोङ स्टेसनमा बिहान करिब दश बजे स्पेसन ट्याक्टिकल स्क्वाड प्रवेश गरेर बेटन प्रहार गर्दै भीड हटाएको प्रसङ्गमा उनले भनिन्,“प्रदर्शनकारीले वेस्ट रेल लाइनको पुलबाट फायर एक्सटिङ्गुइसर तल जमिनमा रहेका प्रहरीलाई फ्याँकिरहेका थिए। त्यसैले हामीले स्टेसन प्रवेश गरेर परिस्थिती नियन्त्रणमा लिएका हौं।”

    त्यसअघि प्रहरी निषेध अवज्ञा गर्दै दशौं हजार प्रदर्शनकारी युन लोङको सडकमा ओर्लिए। अघिल्लो आइतबार त्यहाँको एमटिआर स्टेसनभित्र सेतो टिसर्ट लगाएका व्यक्तिले प्रदर्शनकारी, पत्रकार र यात्रुलाई लखेट्नुका साथै फलामको छड र लौरोले प्रहार गरेका थिए।

    घटनाले पुरै हङकङ स्तब्ध भयो। जूनको प्रारम्भदेखि सुपुर्दगी विधेयकको विरोधमा भइरहेको आन्दोलनलाई थप बल दियो। सेतो टिसर्ट लगाएका आउनेहरू भाडाका ग्याङ्स्टर वा युन लोङका स्थानीय भएको धेरैले शंका गरे। हिंसाका घटना सम्बन्धमा प्रहरीद्ये गिरफ्तार गरेका १२ जना ट्रायडका संदिग्ध सदस्य रहेको प्रहरीले साताको सुरूमा खुलायो।

    आक्रमणको भर्त्सना गर्न कम्तिमा तीन समूहले प्रदर्शन आयोजना गर्नलाई निवेदन दिएका थिए। हिंसा भड्किने सम्भावना देखेर प्रहरीले सबै निवेदन अस्वीकार गर्‍यो। तर प्रदर्शन रोकिएन।

    आयोजकमध्ये एक म्याक्स चुङ किन‑पिङले झण्डै तीन लाख प्रदर्शनकारी सहभागी भएको बताए। प्रहरीले कुनै अनुमान दिएन। तीमध्ये २५ वर्षिया पाठ्यपुस्तक सम्पादक फिरो उङ पनि थिए । “सेतो लुगा लगाउने आक्रमणकारीबाट हामी डराएका छैनौं भन्न म यहाँ आएको हुँ,” उङले भनिन्। अघिल्लो महिना भएको प्रहरी कारवाहीबारे स्वतन्त्र सोधपुछ हुनुपर्ने उनको माग छ।

    भर्खर ग्राजुएसन गरेका २२ वर्षिय ब्रान्डन च्यान सुपुर्दगी विधेयकको विरोधमा गरिएको प्रदर्शन र युन लोङको जुलुसमा पनि सहभागी भए। ट्रायड सदस्यकै डरले “सभाको स्वतन्त्रता र हाम्रो अधिकार त्याग्न सक्दैनौं“ भन्ने देखाउन प्रदर्शनमा सहभागी भएको च्यानको भनाइ छ।

    आक्रमणबारे आइतबार साँझ जानकरी दिइए पनि प्रहरीको ढिलो प्रतिक्रियालाई लिएर प्रदर्शनकारी आक्रोशित छन्। घटनामा संलग्नलाई पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना भइरहेको छ।
    प्रदर्शनकारी अधिकांशले कालो लुगा र अनुहार नदेखिने गरी मास्क लगाएका थिए। अपराह्न युन लोङमा उनीहरूको भीड जम्मा हुन थाल्यो। प्रदर्शनलाई कसैले नेतृत्व नगरेको प्रष्ट थियो। करिब साढे तीन बजे जुलुस सुरू हुँदा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो।

    भीडमा लिङनान युनिभर्सिटीका अध्यक्ष लियोनार्ड चेङ क्वोक‑होन पनि थिए। प्रदर्शनमा सहभागी विद्यार्थी र कर्मचारीलाई हुनसक्ने खतराबाट चिन्तिन भएर पर्यवेक्षकका रूपमा सहभागी भएको उनले बताए।

    “यस्तो परिस्थितीमा, आजको कार्यक्रमको पर्यवेक्षकको रूपमा युन लोङ आउन विद्यार्थीहरूले मलाई भने,” चेङले भने,“अध्यक्षको हैसियतले म मेरा विद्यार्थी, शिक्षक र संस्थासँग पहिले आबद्ध व्यक्तिबारे मलाई सबैभन्दा धेरै चिन्ता छ।”

    “आज म यहाँ विरोध प्रदर्शन गर्न वा जुलुसमा सहभागी हुन आएको हैन। हाम्रा धेरै शिक्षक, विद्यार्थी र संस्थासँग पहिले आबद्ध व्यक्ति यहाँ आएका छन् त्यसैले म परिस्थिती बुझ्न आएको हुँ।”

    सन् २०१४ को अक्युपाइ आन्दोलनमा हङकङको दुई ओटा प्रमुख विश्वविद्यालयका प्रमुख आएर द्वन्द्वबाट टाढा रहन र शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका थिए। जुन धेरैलाई अहिलेसम्म पनि सम्झना छ। तर चेङको उपस्थितीले त्यस्तो प्रभाव देखाएन। प्रदर्शनकारी आक्रामक बन्दै गइरहेका थिए। उनीहरूको आक्रोशको भार प्रहरी अधिकारीले बोक्नुपरिरहेको थियो।

    युन लोङ पुलिस स्टेसनबाहिर ब्यारिकेडलाई “लेनन वाल” बनाइएको थियो। सरकार र प्रहरीको विरोधमा त्यहाँ थुप्रै सन्देश राखिएका थिए। नाम पिन वाइ गाउँबाहिर स्थिती निकै तनावपूर्ण थियो। गत सप्ताहन्तको आक्रमणपछि सेतो टिसर्ट लगाएका पुरूष यहाँ देखिएका थिए। उनीहरू यही बस्ने धेरैको विश्वास छ।

    “ग्याङ्स्टर बाहिर आउ। हामीसँग लड,” गाउँ नजिकै प्रदर्शनकारीले नाराबाजी गरे।

    नाम पनि वाइभित्र गाउँलेहरू हेल्मेट र मास्क लगाइरहेका थिए। पुर्खौली हल र अन्य प्रमुख सम्पत्तिको सुरक्षार्थ उनीहरूको तयारी थियो। दुई समूहलाई सशस्त्र प्रहरीले छुट्याएको थियो। अपराह्न ढिलोसम्म उनीहरू त्यसरी नै उभिरहे। केही प्रदर्शनकारीले प्रहरी अधिकारीलाई इँटा प्रहार गरे। एउटा प्रहरी भ्यान नियन्त्रणमा लिएर तोडफोड पनि गरे। तर भित्र रहेका प्रहरी अधिकारी कुनै चोटपटक लागेन।

    प्रहरी अधिकारी जोखिमा रहेकाले कारवाही गर्नुपरेको प्रहरीले जनाएको छ। भीड तितरबितर गर्न अश्रु ग्याँस प्रहार गरियो। त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। एक महिना अघिसम्म सुरक्षा र व्यवस्थाका लागि सबैले प्रशंसा गरेको शहर फेरि एकपटक अराजक भयो।

    सामाजिक कार्यकर्ता, विधायक र अन्यको एउटा समूहले झडप रोक्ने प्रयास गरे पनि सफल भएनन्। केहीले प्रहरीलाई स्पोञ्ज ग्रिनेड सिधै प्रदर्शनकारीतिर प्रहार नगर्न आग्रह गरेका थिए। प्रतिक्रियामा प्रहरीले भन्यो,“उनीहरू हामीलाई इँटाले हिर्काउँदै छन्।”

    अधिकांश प्रदर्शनकारी रात परेपछि फर्किए। बाँकी रहेका केही सयले युन लोङ स्टेसनको प्रवेशद्वारमा प्रहरी अधिकारीसँग लडिरहे। उनीहरूले फायर एक्सटिङ्गुइसर र पानीको फोहोरा पनि प्रयोग गरे।

    स्पेसल ट्याक्टिल स्क्वाडका अधिकारी स्टेसनमा तैनाथ भए। केहीलाई पक्राउ गरे। केहीले बेटनले पनि हिर्काए। भुइँमा रगत पनि देखिन्थ्यो।

    रातभर यस्तो गतिविधि भइरहँदा कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत‑ङोर र शहरका वरिष्ठ अधिकारी कतै देखिएनन्।

  • कमेन्ट गर्नुहोस्