• सुपुर्दगी विधेयक फिर्ता

    कार्यकारी प्रमुख क्यारी लाम । तस्बीर: स्काइन्युज ।
  •  

    सेप्टेम्बर ४ । कार्यकारी प्रमुख क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने भएकी छन् । साउथ चाइना मर्निङ पोस्टको अनलाइन अनुसार उक्त घोषणा आजै हुने छ ।

    १३ हप्तादेखि भइरहेको आन्दोलनको प्रमुख माग मध्ये विधेयक फिर्ता एक रहेको छ । प्रस्तावित विधेयक विधायिका परिषद्मा छलफलअघि नै विरोध भएपछि जुन १५ का दिन कार्यकारी प्रमुख लामले पत्रकार सम्मेलनमार्फत स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

    स्थगित गरिएको घोषणासंगै विधेयकको ‘मृत्यु’ भइसकेको भनिएता पनि आन्दोलनकारीहरुले पूर्ण फिर्ताको माग गरेका थिए । चालु विधायिका परिषद्को म्याद आगामी जुनसम्म मात्र रहेको र उक्त अवधिमा पुन पेश गर्ने संभावना नरहेको साथै नयाँ परिषद्मा विधेयक पेश गर्न नयाँ प्रक्रिया शुुरु गर्नु पर्ने प्रावधान रहेको सरकारको तर्क रहेको थियो ।

    हिजो रातिको सूचना अनुसार आज अपरान्ह सरकार समर्थक ४३ जना विधायकहरुलाई कार्यकारी प्रमुखको सरकारी निवासमा बैठकका लागि निमन्त्रणा गरिएको छ । उक्त वैठकमा जानकारी गराइएपछि औपचारिक घोषणा हुने अनुमान गरिएको छ ।

    सुपुर्दगी ऐनमा व्यवस्था नभएको कारण अपराधीहरुलाई मूलभूमि चीन, ताइवान र मकाउलगायतका न्यायिक प्रक्रियामा सहभागी गराउन समस्या भएपछि संशोधनको लागि विधायिका परिषद्मा विधेयक पेश गर्ने तयारी रहेको थियो ।

    गत वर्ष ताइवानमा गर्भवती गर्लफ्रेन्डको हत्या गरी हङकङ प्रवेश गरेका अभियुक्त चान तोङ–काईलाई सुपुर्दगी ऐनमा रहेको अपूर्णता (लुपहोल)का कारण सुपुर्दगी गर्न नसकिएको तर्कसहित संशोधनको लागि विधेयक तयार गरिएको थियो ।

    सरकारको तयारीपछि चीनको न्यायिक प्रक्रिया अपारदर्शी र निश्पक्ष नरहेको आरोपसहित हङकङका जो कोही विरोधीलाई सुपुर्दगी गरिने भन्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको माग विधेयक फिर्तासहित अहिले पाँचवटा रहेको छ ।

    आन्दोलनकारीहरुले विधेयक फिर्तासहित आन्दोलनलाई दंगा करार गरिएको फिर्ता, प्रहरी दमनको जाचबुझ गर्न आयोग गठन, गिरफ्तार गरिएकालाई निःशर्त रिहा र राजनैतिक प्रक्रिया सुधार शुरु रहेका छन् । राजनैतिक सुधारमा विश्वव्यापी बालिक मतबाट कार्यकारी प्रमुखको चयन रहेको छ ।

    विधेयक फिर्ताको घोषणाले हिंसात्मक बन्दै गएको आन्दोलन मत्थर हुने सरकारी विश्वास रहेको हुन सक्छ । आन्दोलनको क्रममा आमहडताल लगायतका कार्यक्रमहरु भइसकेका छन् । प्रत्येक दिनजसो सार्वजनिक यातायात रेलसहित अवरुद्ध हुने गरेका छन् । विमानस्थलमा उत्पन्न अवरोधका कारण उडान स्थगित लगायतका घटना भइसकेका छन् ।

  • कमेन्ट गर्नुहोस्