• एन्टि–मास्क कानुनले जलिरहेछ शहर

    १४ वर्षीय बालकलाई लाग्यो गोली

    तोडफोडमा परेको बैंक अफ चाइनाको युनलङ शाखा । तस्वीर: जुनु राना ।
  • अक्टुबर ४ । एन्टि–मास्क कानुनको घोषणाले आन्दोलनको मात्रा आकाशिएको छ । आज राति १२ बजेदेखि लागू हुने ५० वर्ष अघिको बेलायतकालिन उक्त कानुनको विरोधमा सडकमा उत्रिएका आन्दोलनकारीहरु तोडफोड र आगजनीमा केन्द्रीत भएका छन् ।
    आन्दोलनकारीहरुको केन्द्रमा पछिल्लो समय बैंक अफ चाइना परेको छ । उनीहरुले विभिन्न ठाउँका बैंकका शाखाहरु तोडफोड गरेका छन् । रेल सेवा (एमटीआरसी)बाट शुरु भएको तोडफोड र आगजनीमा म्याक्सिम र योसिनोया रेष्टुरेण्ट, स्टारबक्स कफी र चाइना ट्राभल्स कम्पनी परिसकेका छन् ।
    चीन सरकारको लगानी रहेका र चीन सरकारप्रति सकरात्मक धारणा राख्ने कम्पनी आन्दोलनकारीको तारो बन्ने क्रम अघि बढिरहेको छ । सबै भन्दा बढी क्षति व्यहोरेको एमटीआरसीले एलआरटी (लाइट रेल ट्रान्जिट)लगायत सम्पूर्ण सेवा बन्द भएको घोषणा गरेको छ ।
    अहिले चुनमुन, युनलङ, चुनवान, साइसुइपो, सातिन, वङताइसिन, वानचाइलगायत अधिकांश स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेका छन् । अरु दिन भन्दा आक्रामक रुपले प्रस्तुत भइरहेका आन्दोलनकारीले पेट्रोल बम हानिरहेका छन् । उनीहरुले ठाउँ–ठाउँमा अवरोध सिर्जना गरेर सवारी आवगमन बन्द गरेका छन् ।
    युनलङमा १४ वर्षीय एक बालक गोली लागेर घाइते भएका छन् । उनलाई कसरी गोली लाग्यो भन्ने एकिन भएको छैन । घटना भएकै ठाउँमा छुट्टिमा रहेका एक प्रहरीमाथि आक्रमण हुँदा उनले गोली चलाएका थिए । उनले चलाएको गोलीले नै उक्त बालक घाइते भएको अनुमान गरिएको छ ।
    घटनापछि पोकओइ अस्पताल भर्ना गरिएका बालकलाई गोली लागेको एकिन भएपछि चुनमुन अस्पताल सारिएको छ । प्रहरीलाई आक्रमणकारीहरुले पेट्रोल बम प्रहार गरेका थिए । उनको कार ध्वस्त बनाइएको छ ।

  • कमेन्ट गर्नुहोस्