• जिल्ला निर्वाचनमा ऐतिहासिक सहभागिता

    कार्यकारी प्रमुख क्यारी लाम मतदानको क्रममा । तस्बिर: सूचना विभाग ।
  •  

    २४ नोभेम्बर । मतदाताको ऐतिहासिक सहभागिता सहित जिल्ला परिषद्को निर्वाचन सम्पन्न भएको छ । सार्वभौमसत्ता चीनमा फर्किएपछि छेटौं पटक सम्पन्न यस निर्वाचनमा २८ लाख ५३ हजार ६ सय ८ (६९.०४%)ले मतदानमा भाग लिएका थिए ।

    यस पटकको मतदान प्रतिशत अघिल्लो (सन् २०१५) भन्दा २२.०३ प्रतिशत बढी रहेको छ । यो प्रतिशत अहिलेसम्मकै सर्वाधिक रहेको छ । १८ जिल्लाका ४ सय ५२ सिटका लागि राजनैतिक दलका तथा स्वतन्त्र गरी १ हजार ९० जना उमेदवार रहेका छन् ।

    निर्वाचन आयोगका अध्यक्ष वर्नावास फुङका अनुसार बिहान ७ः३० बजे शुरु भएको मतदान रातको १०ः३० बजे बन्द गरिएको थियो । उनले ३ मिनेट ढिलो मतदान शुरु भएका दुईवटा मतदान केन्द्रमा १०ः३३ मा मतदान बन्द गरिएको जानकारी गराएका छन् ।

    दुई दिन अघिसम्मको स्थिति हेर्दा तोकिएको समयमा निर्वाचन हुनेमा आशंका उत्पन्न भएको थियो । तर उक्त आशंकालाई गलत सावित गर्दै शान्त वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

    ६ महिनादेखि चलिरहेको आन्दोलनको कारण डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एण्ड प्रोग्रेस अफ हङकङ (डीएबी)लगायत चीन समर्थक राजनैतिक पार्टीको करिव दुई तिहाईको वर्चस्व कम हुने आंकलन गरिएको छ । उक्त पक्षले अघिल्लो निर्वाचनमा ३ सय ३१ सिटमा कब्जा जमाएको थियो ।

    सामाजिक सञ्जाल लगायतको गतिविधिलाई विश्लेषण गर्ने हो भने यो पटक नेपाली समुदायलाई पनि आन्दोलनले असर परेको देखिन्छ । आन्दोलनकारीको पक्षमा रहेर क्रिया–प्रतिक्रिया दिनेहरुको संख्या उल्लेखनीय रहेको छ । यो भन्दा अघिका निर्वाचनमा डीएबीका मतदाता रहेकाहरुले विकल्प खोजेको देखिएको छ ।

    अघिल्ला निर्वाचनहरुमा लगभग १२ घण्टाभित्र नतिजा प्रकाशन भएका भए पनि यो पटक प्रतिशत वृद्धि भएकोले केही बढी समय लाग्ने अनुमान गरिएको छ । निर्वाचन पछिको प्रतिक्रियामा आयोगका अध्यक्ष फुङले पनि केही ढिलो हुने बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्