• जिम्मी लाइलगायत धरौटीमा रिहा

    सञ्चार उद्यमी जिम्मी लाइ मङकक प्रहरी थानाबाट रिहा हुने क्रममा । तस्बिर श्रोत: एससीएमपी ।
  •  

    अगष्ट १२ । सञ्चार उद्यमी जिम्मी लाइलगायत एकै दिन गिरफ्तार गरिएका दशै जनालाई गए राति धरौटीमा रिहा गरिएको छ । भर्खरै लागू गरिएको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत दुई दिनअघि श्रृङ्खलाबद्ध रुपमा दश जनालाई गिरफ्तार गरिएको थियो ।

    सञ्चार उद्यमी लाइ गिरफ्तार भएको झण्डै ४० घण्टापछि राति १ बजेतिर मङकक प्रहरी थानाबाट रिहा भएका हुन् । पाँच लाख (३ लाख नगद र २ लाख बण्ड) धरौटीमा रिहा भएका उनी कुनै प्रतिक्रिया बिना गाडिमा प्रवेश गरेका थिए । त्यहाँ उपस्थित उनका समर्थकहरुले नाराबाजी गरेका थिए ।

    सोमबार बिहान पक्राउ परेका उनलाई मङ्गलबार साइकुङस्थित याट क्लवमा रहेको उनको नीजि याट (आलिसन डुङ्गा) खानतलासका लागि लगिएको थियो । त्यहाँबाट प्रहरीले केही सामग्री प्रमाणको रुपमा जफत गरेको छ ।

    लाइको गिरफ्तारीसंगै शुरु भएको श्रृङ्खलामा उनका दुई छोरा, नेक्स्ट मिडियामा उपल्लो तहका कर्मचारीसंगै राजनीतिककर्मी अग्नेस चौ, बेलायती आईटीभीका लागि कार्यरत सञ्चारकर्मी तथा भूपू विद्यार्थी नेता विल्सन लि र पछिल्लो जिल्ला परिषद् निर्वाचन अवलोकन समूहका सदस्य एण्डी लि रहेका थिए ।

    राजनीतिककर्मी अग्नेस चौ दुई लाख (२० हजार नगद र १ लाख ८० हजार बण्ड) धरौटीमा राति ११ बजे रिहा भएकी थिइन् । उनलाई ताइपो प्रहरी थानामा करिव २४ घण्टा राखिएको थियो । नजिकै रहेको निवासबाट उनलाई सोमबार साँझ पक्राउ गरिएको थियो ।

    राष्ट्रिय सुरक्षा कानून प्रयोगमा आएपछि भएको पहिलो श्रृङ्खलाबद्ध गिरफ्तारीमा परेकाहरुलाई विदेशी शक्तिसंगको साँठगाँठको आरोप लगाइएको छ । साउथ चाइना मर्निङ पोष्ट (एससीएमपी)मा उल्लेख गरिए अनुसार यस श्रृङ्खलामा गिरफ्तार गरिएकाहरुको सम्बन्ध विदेशी शक्तिसंग देखिएको छ । नयाँ कानून लागू भएपछि यस समूहले विदेशी बैंकमार्फत दश लाख डलर भन्दा बढी रकम प्राप्त गरेको छन् ।

    नयाँ कानून अन्तर्गत विखण्डन, देशद्रोह र आतंककारी गतिविधिसंगै विदेशी शक्तिसंगको साँठगाँठ सम्बन्धी अपराधको अदालती प्रक्रिया अगाडि बढ्ने छ ।

  • कमेन्ट गर्नुहोस्