• हङकङमा कोभिड‑१९ का कारण ज्यान गुमाउने सय पुगे

    प्रिन्स मार्गरेट अस्पताल ।
  •  

    सेप्टेम्बर १३ । हङकङमा हिजाे शनिबार कोभिड‑१९ बाट मृत्यु हुने व्यक्तिको संख्या सय पुगेको छ।  हिजाे सङ्क्रमित १३ जना नयाँ बिरामी फेला परेका थिए । दैनिक २० जनाभन्दा  थोरै सङ्क्रमित भेटिएको यो लगातार छैठौं दिन हो ।

    नौमध्ये पाँचोटा स्थानीय सङ्क्रमणको श्रोत खुलेको छैन। अन्य चार जना फिलिपिन्स‚ भारत र रूसबाट आएका थिए। आधिकारिक तथ्याङ्क अनुसार शहरमा सङ्क्रमितको संख्या ४‚९३८ पुगेको छ ।

    दैनिक पत्ता लाग्ने सङ्क्रमितमध्ये ३० देखि ४० प्रतिशतको श्रोत नखुल्ने सेन्टर फर हेल्थ प्रोटेक्सनको सरूवा रोग शाखाका प्रमुख डा. च्वाङ शुक‑क्वानले बताइन्। यसले देशमा सङ्क्रमण लुकेर फैलिरहेको देखाउँछ ।

    “भौतिक दुरी खुकुलो पारेपछि विशेष सावधानी अपनाउनुपर्छ। जुनसुकै बेला सङ्क्रमण फैलिनसक्छ । दैनिक फेला पर्ने सङ्क्रमितको संख्या बढ्न सक्छ‚” कोभिड‑१९ सम्बन्धी दैनिक प्रेस ब्रिफिङमा उनले भनिन् ।

    सङ्क्रमणको श्रोत नखुलेकोमध्ये एक याउ तोङस्थित याउ लाइ इस्टेटमा बस्छन् । उनको परिवारमा ६ जना छ । कन्ट्याक्ट ट्रेसिङमार्फत् पत्ता लागेपछि सबैको परीक्षण गराउँदा तीन जनालाई सङ्क्रमण भएको खुलेको छ । एक जना चुन वानमा‚ एक जना ताइकू शिङको चिनियाँ रेस्टुरेन्टमा र अर्को एक जना लाम तिनको लगुना सिटीमा काम गर्थे ।

    परिवारका केहि सदस्य मास परीक्षण कार्यक्रममा सहभागी भएको च्वाङले बताइन् । तर कन्ट्याक्ट ट्रेसिङबाट उनीहरू कार्यक्रमभन्दा अघि नै सङ्क्रमित भएको देखिएको छ ।

    सङ्क्रमणको श्रोत नखुलेको अन्य चार जनामा तुयन मुनको गोल्डेन बिचमा रेस्टुरेन्टमा काम गर्ने ३० वर्षिया महिला‚ ताइ वाइ बस्ने र तो क्वा वान भेहिकल एक्जामिनेसन सेन्टरमा काम गर्ने ५१ वर्षिया महिला‚ क्वाइ चुङबस्ने ८८ वर्षिय पुरूष तथा लोक फू बस्ने र लाउ फाउ शानमा क्लर्कको काम गर्ने ४५ वर्षिय पुरूष रहेका छन्। शनिबार १० भन्दा धेरै प्रारम्भिक लक्षण देखिएकाहरू पनि फेला परेको च्वाङले बताइन् ।

    भिक्टोरिया पार्कमा रहेको स्वास्थ्य व्यायम गर्ने स्थानमा एक महिला र बालिका ।

    तीमध्ये ६५ वर्षिया महिलालाई अन्य स्वास्थ्य समस्या छ। उनको उपचार तुयन मुन हस्पिटलमा भइरहेको छ । उनी सङ्क्रतिम भएको पत्ता लागेपछि अस्पताल परिसरमा जोखिमको चिन्ता बढेको छ ।

    अस्पतालको जेनरल वार्ड भर्ना हुँदा ती महिलाले हर बखत मास्क लगाएको र ज्वरो वा श्वासप्रश्वाससम्बन्धी समस्याको कुनै लक्षण नदेखिएको हस्पिटल अथोरिटीको गुणस्तर र मापदण्डका प्रमुख व्यवस्थापक डा. लाउ का‑हिनले बताए । सो वार्डमा हेमाटोलोजी क्यान्सर बिरामीका केहि क्युबिकल पनि राखिएका छन्। वार्ड भरिएकोले उनलाई अस्थायी रूपमा हलवेमा पनि राखिएको थियो ।

    “क्युबिकलमा ढोका छन् । केहिमा पोजिटिभ प्रेसर भेन्टिलेनसन पनि छ‚” लाउले भने । “हेमाटोलोजी बिरामीको स्याहार गर्ने कर्मचारीले वार्डका अन्य बिरामीको रेखदेख गरेनन्। त्यसैले कर्मचारी र करिडोरबाट कोठामा भाइरस सर्ने सम्भावना एकदमै न्युन छ ।”

    चुनमुन हस्पिटलका एक अधिकारीले सो बिरामीसँग भाइरसको एन्टिबडी फेला परेको शनिबार साँझ बताए । त्यसैले उनी सङ्क्रमणको पछिल्लो चरणमा रहेको विज्ञहरू सहमत छन् । क्लिनिकल अवस्था र परीक्षणको नतिजा अनुसार उनीबाट सङ्क्रमण फैलिने अवस्था नभएको उनीहरू बताउँछन् ।

    “नजिकका रहेका बिरामी र उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्नु पर्दैन। स्वास्थ्य निगरानी पनि गर्नु पर्दैन‚” उनले भने ।

    उता एलिस हो मिय लिङ नेदरसोल हस्पिटल र प्रिन्सेस मार्गरेट हस्पिटलको आइसोलेसन वार्डको नेगेटिभ प्रेसर सिस्टममा बाधा उत्पन्न भएको छ । यस्ता घटनाबाट सङ्क्रमणको जोखिम एकदमै न्युन भएको लाउले बताए ।

    यसअघि क्यारिटास मेडिकल सेन्टरका एक अधिकारीले कोरोनाभाइरस सङ्क्रमित ६७ वर्षिय पुरूषको शनिबार बिहान ६.२५ बजे मृत्यु भएको बताए । उनीसँग भाइरस विरूद्ध एन्टिबडी भए पनि क्यान्सरका कारण उनको स्वास्थ्य बिग्रदै गएको थियो ।

    सरकारले शुक्रबारदेखि भौतिक दुरीसम्बन्धी नियम केहि खुकुलो बनाएको छ । अबदेखि सार्वजनिक स्थल र रेस्टुरेन्टमा एउटै टेबुलमा चार जनासम्म भेला हुन पाउनेछन् ।

    मास परीक्षण कार्यक्रम अन्तर्गत शनिबार राति ८ बजेसम्म १६ लाख नमूना परीक्षण गरिएको थियो। परीक्षणमा शहरको ७५ लाख जनसंख्यामध्ये २१.५ प्रतिशत सहभागी भएका छन् । अनलाइनमार्फत् करिब १३ लाख ४५ हजार कार्यक्रममा सहभागी हुन दर्ता भएका थिए। योजना अनुसार हालसम्म २३ जना नयाँ सङ्क्रमित फेला परेका छन् ।

    यो साताको शुरूमा सरकारले कार्यक्रमलाई तीन दिनसम्म लम्ब्याएर सोमबारसम्म गर्ने निर्णय गरेको थियो। देशैभरि विभिन्न ५७ ओटा नमूना सङ्कलन केन्द्रबाट परीक्षण भइरहेको छ ।

    यसैबीच हङकङ स्पोर्ट्स इन्स्टिट्युट खुल्नेबारे विचार गरिरहेको छ । अध्यक्ष लाम ताइ‑फाइले यो महिनाको अन्त्यतिर विद्यार्थीहरू क्रमिक र चरणबद्ध रूपले भौतिक कक्षामा सहभागी हुने बताए । धेरै खेलाडी जो त्यहाँका विद्यार्थी पनि हुन् महाव्याधिको प्रभाव कम हुँदै गएपछि तालिममा फर्किने उनको विश्वास छ ।

    हङकङ स्पोर्ट्स इन्स्टिट्युटका  अध्यक्ष लाम ताइ‑फाइ ।

    “हामीले थुप्रै दृष्टिकोणबाट विचार गरेका छौं । तालिम केन्द्र खोल्नेबारे विचार गर्नुपर्दछ भन्ने हामीलाई बोध भएको छ‚” लामले भने। निर्णय गर्नलाई थप तथ्याङ्क सङ्कलन गर्न आउने दुई दिनमा कर्मचारी‚ कोच र खेलाडीले भाइरस परीक्षण पनि गराउन सकिने उनले आशा गरेका छन् ।

    -कनिस ल्योङ‚ जिजि चोय

  • कमेन्ट गर्नुहोस्