• डिस्नील्यान्ड खुल्यो

    डिन्जील्याणड पार्कका कर्मचारी तथा प्रदर्शकहरु खुसी प्रकट गर्दै ।
  •  

    सेप्टेम्बर २७ । कोभिड‑१९ को तेश्रो लहरबीच हङकङ डिस्नील्यान्ड शुक्रबारदेखि खुलेको छ । लान्ताउ आइल्यान्डको आकर्षण बनेको डिस्नील्यान्ड दुई महिनाभन्दा लामो समयदेखि बन्द थियो ।

    बिहान करिब सवा दशबजे पार्क खुल्दा करिब सय जना प्रवेश गरेका थिए । स्तरोन्नती भइरहेकाले आंशिक रूपमा खुलेको कासल अफ म्याजिकल ड्रिम्समा तस्बिर खिचाउनेको भीड लागेको थियो । डिस्नीको प्रिय पात्रसँग सेल्फी खिचाउने पनि उत्तिकै देखिन्थे। सबैले भौतिक दुरीको नियम पालन गरेका थिए ।

    चार वर्षिया शेल्बी लाइ र उनको ४० वर्षिया आमा ओलिभिया ङ साढे नौ बजेतिर आइपुगेका थिए । मिनी माउसको चित्र भएको टिसर्ट लगाएकी शेल्बीलाई डम्बो चढ्ने मन थियो । उनले कार्टुनमा मिनीले चढेको देखेकी थिइन् ।

    “मैले मिनीलाई कति मिस गरें,” उनले भनिन् ।

    ङसँग वार्षिक पास छ। कोरोनाभाइरसको सङ्क्रमण फैलिनुअघि उनीहरू महिनामा एक पटक आउने गर्थे । महाव्याधि बढ्दै गएपछि घरनजिकै भएको पार्कसम्म मात्रै उनीहरू जाने गर्थे ।

    “एक पटक त साना पार्कमा जान पाइन्दैन कि भनेर छोरीले सोधेकी थिइन्,” उड्डयन उद्योगमा काम गर्ने ङले बताइन् ।

    पार्क विस्तार गर्नलाई नजिकैको जमिन मिलेन । तर ङलाई कुनै चिन्ता छैन। प्राथमिक ग्राहकका लागि अहिलेको स्थान नै पर्याप्त भएको उनको ठहर छ ।

    “हङकङ डिस्नील्यान्ड सानो छ र साना बालबालिकाका लागि आकर्षक छ,” उनले भनिन् ।

    विश्वका ६ डिस्नील्यान्डमध्ये हङकङ डिस्नील्यान्ड सानो छ । छेवैको जमिन खरिद गर्ने विकल्प बिहीबार अन्त्य भएको छ । वर्तमान आर्थिक अवस्थाका कारण नविकरण गर्ने विकल्प विरूद्ध निर्णय गरेको सरकारले जनाएको छ । नभए छेवैको पेन्नीस बेको ६० हेक्टर जमिनमा पार्क विस्तार गर्ने सम्भावना थियो ।

    हङकङ डिस्नील्यान्डको सञ्चालन हङकङ इन्टरनेशनल थिम पार्क्सले गर्दछ । त्यसको ५३ प्रतिशत शेयर सरकारसँग छ ।  अहिलेलाई पार्कले आन्तरिक विस्तार योजनामा ध्यान दिनुपर्ने सरकारले जनाएको  छ । बाँकी शेयर वाल्ट डिस्नी कम्पनीको स्वामित्वमा छ । निर्णयबाट कम्पनी दुखी भएको छ। निकट भविष्यमै पार्क क्षेत्रमा निर्माण कार्य गर्ने योजना नभएको बताएको छ ।

    शुक्रबार आएका केहि आगन्तुकले पार्क विस्तार गरे राम्रो हुने बताए । तीन साथीसँग आएकी १४ वर्षिया योयो लीले पनि विस्तार योजना सफल नभएकोमा दुख व्यक्त गरिन् ।

    “अहिले पार्क रमाइलो नै छ। तर अझ ठूलो भए झन् राम्रो हुने थियो,” उनले भने । डिस्नील्यान्डमा टोय स्टोरी शैलीको राइड लगायत अन्य आकर्षण पनि ल्याउनुपर्ने उनको चाहना छ। टोकियो डिस्नील्यान्डमा उनले त्यस्तो रमाइलो गरेकी थिइन् ।

    पार्क कहिले खुल्छ भनेर छोरीले बारम्बार सोध्ने गरेको म्यान्डरिन भाषाकी शिक्षक ३५ वर्षिया लुसी लिउले बताइन् । राजकुमारीको पहिरनमा सजिएको छोरी अरूसँगै स्लिपिङ ब्युटी कासलअघि फोटो खिचाइरहेकी थिइन् । पार्क खुलै रहे क्रिसमसअघि नयाँ आकर्षणसहित आउने पार्कनिकट श्रोतले जनाएको छ । पार्को १५औं वार्षिकोत्सवमा कासललाई प्रवर्द्धनात्मक कार्यक्रमका लागि प्रयोग गरिनेछ । पार्क खुलै हुने र नयाँ डिजाइन गरिएको आकर्षणलाई वार्षिकोत्सव कार्यक्रम प्रवर्द्धनका लागि प्रयोग गर्ने डिस्नील्यान्डले आशा गरेको श्रोतले जनाएको छ ।

    फेरि खुलेपछि प्रारम्भिक चरणमा हङकङ डिस्नील्यान्ड सातामा पाँच दिन खुल्नेछ । मङ्गलबार र बिहीबार बन्द हुनेछ। सार्वजनिक विदा र रिसोर्टले तोकेको विशेष अवसर अपवाद हुनेछन् । पार्क आधा क्षमतामा सञ्चालन गर्नुपर्नेछ। सबै आगन्तुकले अनलाइन बुकिङ गर्नुपर्नेछ र स्वास्थ्य जाँच गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। मास्क अनिवार्य छ ।

    हङकङ डिस्नील्यान्ड पहिलो पटक जनवरी २६ मा बन्द भएको थियो । जून १८ मा व्यवसाय शुरू भयो। त्यसपछि जुलाईको बीचमा बन्द भयो। प्रतिस्पर्धी ओसन पार्क गएको शुक्रबारदेखि खुलेको छ ।

    -कनिस ल्योङ

  • कमेन्ट गर्नुहोस्