• हङकङ‑चीन सीमा चाँडै खुल्न सक्ने

    कोरोना भाइरस देखिनु अघिको हङकङ-चीन सीमा नाका लोकमाचाउ । तस्बिरस: रोय इस्सा ।
  •  

    हङकङ‑चीन सीमा खोलेर चीनमा बसेका स्थानीयलाई शहर फर्काउने आन्तरिक वार्ता अघि बढेको छ । सीमा खुले खस्किदों अर्थतन्त्र फेरि तङ्ग्रिने अधिकारीले आशा गरेका छन् ।

    कार्यकारी प्रमुख क्यारी लामले सार्वजनिक स्वास्थ्य सम्बन्धी जोखिमलाई ध्यानमा राखेर अन्तरसीमा नाका क्रमिक र व्यवस्थित रूपले खोल्नेबारे छलफल भइरहेको मङ्गलबार बताइन् ।

    “हङकङ र चीन होस्, हङकङ र मकाउ होस् वा हङकङ र अन्य देश व्यावहारिक र  सहज आवागमन खुलाउने समय भएको छ,” उनले भनिन् ।

    कोभिड‑१९ नेगेटिभ परीक्षण प्रस्तुत गर्नसके १४ दिने क्वारेन्टिन अनिवार्य नगरी चीनमा बस्ने हङकङेलीलाई शहर फर्काउन प्राथमिकता दिनुपर्ने लामले बताइन् । कुनै समयसीमा नतोकिएको यो प्रबन्धले नातेदार र व्यक्तिगत कामका लागि शहर प्रवेश गर्ने सुविधा दिनेछ ।

    “त्यस्ता हङकङेलीलाई शहर फर्काउनेबारे हाम्रो छलफल अघि बढेको छ ।” लामले भनिन्।

    त्यसका लागि ग्वाङदोङका अधिकारीहरुसँग सम्झौता गर्ने वा यात्रुको दैनिक कोटा बनाउने वा कति ओटा नाका खोल्नेबारे छलफल भइरहेको उनले बताइन् ।

    फेब्रुअरीदेखि तीनबाहेक सबै नाका बन्द गरिएको छ। यात्रुलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थल, शेन्जेन बे र हङकङ‑जुहाई‑मकाउ पुलबाट मात्रै प्रवेश गर्न दिइएको छ। चीन, ताईवान र मकाउबाट आउने व्यक्ति हङकङ आएपछि होटेल वा घरमै अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्छ ।

    चीनबाट शहर आउने यात्रु मार्चदेखि प्रति वर्ष तुलनामा ९९ प्रतिशत ओरालो लागेको छ । हङकङ आउने पर्यटकमा चिनियाँको सङ्ख्या अत्यधिक हुन्छ । अगष्टमा करिब २३ सय मात्रै चिनियाँ सीमाबाट प्रवेश गरेका छन् ।

    चिनियाँ पर्यटकलाई नै भित्र्याउने नभई स्थानीयलाई शहर ल्याउने विषयमा मात्रै छलफल भएकोमा पर्यटन क्षेत्र दुखी भएको ट्राभल इन्डस्ट्री काउन्सिलका अध्यक्ष जेसन वोङले बताए ।

    “सरकारले छिटै सीमा खोल्नेमा हामी आशावादी छौं किनभने चीन नै हङकङेली यात्रा गर्ने पहिलो गन्तव्य हो ।” उनले भने। विश्वव्यापी रूपमै यात्रामा बन्देज लागेपछि टुर एजेन्टको आम्दानी बन्द भएकोमा उनले जोड दिए।

    पर्यटन क्षेत्रका विधायक यिउ सि‑विङले सरकारले दिएको विवरणको स्वागत गरे। योजना साकार होस् भन्ने उनको चाहना छ ।

    “पहिलो प्रयास हामीले नै गर्नुपर्छ। नभए यात्रा फेरि शुरू गर्न हामी कहिले सक्ने छैनौं ।” उनले भने।

    यिउले अन्तरसीमा यात्रा अक्टोबरको मध्यदेखि शुरू हुनसक्ने बताए। हङकङ र चीनमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण भइरहेको छ ।

    नयाँ सङ्क्रमण पछिल्ला सातामा घट्दै गएको छ। भौतिक दुरीको नियम बिस्तारै खुकुलो हुँदैछ ।

    अगष्टको मध्यदेखि चीनका सबै कोरोनाभाइरस सङ्क्रमित विदेशबाट आएको नेशनल हेल्थ कमिशनले जनाएको छ।

    क्वारेन्टिन नबस्नका लागि शहर प्रवेश गर्नेले कोभिड‑१९ नेगेटिभ भएको प्रमाण दिनुपर्ने श्वासप्रश्वा ससम्बन्धी हङकङका विशेषज्ञ डा. ल्योङ ची‑चिउले बताए। त्यस्तो परीक्षण नतिजा यात्रा गर्नु तीन दिन अघि जारी भएको हुनुपर्नेछ ।

    “हङकङ आउनुअघि परीक्षण नेगेटिभ आएको भए जोखिम धेरै हुँदैन,” उनले भने, “विशेष गरि दुई महिनायता ग्वाङदोङ प्रान्तमा स्थानीय सङ्क्रमण भएको छैन।”

    अक्टोबर १ देखि शुरू भएको  आठ दिने राष्ट्रिय दिवस “स्वर्ग साता”को एक सातापछि चिनियाँ नाका खुकुलो बनाउन सकिने ल्योङले सुझाए। त्यो समयमा लाखौं घरेलु पर्यटक चीनव्यापी यात्रा गर्छन् ।

    “यसपछि कोरोनाभाइरसको सङ्क्रमण धेरै नभए, धेरैले सीमा खोलेको सहज अनुभव गर्नेछन् ।” उनले भने।

    –क्याथलिन मग्रामो

  • कमेन्ट गर्नुहोस्