• आठ जना नयाँ सङ्क्रमित, भौतिक दुरी कायम

    युनलङस्थित जक्की क्लव स्क्वायर (घडीपार्क)मा सामाजिक दुरी कायम गरी बसेकाहरु । तस्बिर: एभरेष्टखबर ।
  •  

    १४ अक्टुबर ।  मङ्गलबार हङकङमा आठ जना नयाँ कोभिड‑१९ सङ्क्रमित भेटिए । योसँगै सार्वजनिक भेलामा चार जनासम्म सहभागी हुन पाउनेलगायत भौतिक दुरी अर्को साता पनि कायम हुनेछ ।

    माइक्रोबायोलोजिस्ट तथा सरकारका सल्लाहकारसमेत रहेका प्राध्यापक युएन क्वोक‑युङले मध्यम लक्षण भएका व्यक्तिलाई पनि अनिवार्य परीक्षण गराउनुपर्ने आव्हान गरेका छन् । भौतिक दुरीसम्बन्धी नियम आउने बिहीबारसम्म लागु हुनेछ ।

    मङ्गलबार फेला परेका कोभिड‑१९ सङ्क्रमितमध्ये चारजनालाई स्थानीय रूपमै सङ्क्रमण भएको हो भने दुई जनाको श्रोत पत्ता लागेको छैन । सङ्क्रमणको श्रोत पत्ता नलाग्नेमा च्योङ क्वान ओका ६८ वर्षिय अवकाशप्राप्त व्यक्ति र सिटीप्लाजामा काम गर्ने ४८ वर्षिय पुरूष छन् । उनी अन्तिम पटक अक्टोबर ९ मा काम गर्न गएका थिए ।

    चार जना सङ्क्रमित विदेशबाट आएका थिए। तीमध्ये एकजना जर्मनीबाट आएका कार्गो एअरक्र्यु, एक जना फिलिपिन्सका घरेलु कामदार, र दुई जना जना फ्रान्स र भारतबाट आएका हुन् । शहरमा हालसम्म ५,२०१ जना सङ्क्रमित छन् र १०५ जनाको मृत्यु भइसकेको छ ।

    मध्यम लक्षण भएका व्यक्तिका लागि प्रस्तावित अनिवार्य परीक्षण कार्यक्रममा सहभागी हुन नमान्नेलाई कारवाही गर्ने अधिकार स्वास्थ्य तथा कानून नियामक निकायलाई दिनुपर्ने युनिभर्सिटी अफ हङकङका संक्रामक रोग विशेषज्ञ युएनले मङ्गलबार एउटा रेडियो कार्यक्रममा बताए ।

    शहरमा सङ्क्रमण नियन्त्रण गर्ने उपायमा भएको कमीकमजोरी नसुधारे यो जाडोको मौसममा दशौं हजारलाई सङ्क्रमण हुने र करिब एक हजारले ज्यान गुमाउने उनले यसअघि चेतावनी दिएका थिए ।

    “मैले डरको खेती गरेको धेरैले आरोप लगाए । मैले त्यसो गरेको होइन । म सत्य बताउन चाहन्छु,” युएनले भने ।

    “महाव्याधिको अवस्था जाडोभन्दा गर्मीमा सधैं राम्रो हुन्छ । जाडोभन्दा गर्मीमा भाइरस बाँच्ने अवधि छोटो हुन्छ ।”

    जाडो शुरू भइरहेकोले सङ्क्रमण छिटै बढ्नसक्ने भन्दै लक्षण देखिएका व्यक्तिले सकेसम्म चाँडै परीक्षण गराउन युनिभर्सिटी अफ हङकङकै माइक्रोबायोलोजिस्ट तथा स्वास्थ्यविद् डा. हो पाक‑ल्योङले त्यहि रेडियो कार्यक्रममा आग्रह गरेका छन् ।

    तर श्वासप्रश्वाससम्बन्धी रोगका विशेषज्ञ डा. ल्योङ ची‑चिउले मध्यम लक्षण भएका व्यक्तिको अनिवार्य परीक्षण साध्य विकल्प नहुने बताएका छन् ।

    “मध्यम लक्षण भएका व्यक्तिहरू जताजतै भेटिन्छ,” ल्योङले भने । त्यो समूहमा दशौं हजार पर्ने भएकाले त्यति धेरै सङ्ख्यामा परीक्षण ठीक समयमा गर्न सम्भव नभएको उनले बताए ।

    कोरोनाभाइरसबारे सरकारको सल्लाहकारसमेत रहेका चाइनिज युनिभर्सिटीका श्वासप्रश्वाससम्बन्धी रोगका विशेषज्ञ प्राध्यापक डेभिड हुई शु‑च्योङले सैद्धान्तिक रूपमा परीक्षण बढाउनुपर्ने युएनको तर्कसँग सहमती जनाए । तर अनिवार्य परीक्षण अभ्यासमा अनुत्पादक हुनसक्ने उनको डर छ ।

    “मध्यम लक्षण भएका धेरै व्यक्ति हुनसक्छन् । ज्वरो घटाउनलाई औषधी खानसक्छन्,” उनले भने,“तर अनिवार्य परीक्षणले उनीहरूलाई अझ टाढा बनाउनसक्छ । लक्षण देखिएपछि उनीहरू चिकित्सककहाँ नजान सक्छन् ।”

    अनिवार्य परीक्षण ट्याक्सकी चालक, साझा डर्मिटोरीमा बस्ने घरेलु कामदार, र क्वाई चिङ कन्टेनर टर्मिनल कामदारजस्ता सीमित उच्च‑जोखिम समूहमा गर्न सकिने हुईले बताए ।

    भौतिक दुरीको नियमानुसार सार्वजनिक भेला वा रेस्टुरेन्टमा चार जनाभन्दा धेरै एकै ठाउँमा बस्न निषेध छ। पबमा एउटा टेबलमा मात्रै दुई जना बस्न पाउँछन् र मध्यरातपछि बन्द गर्नुपर्छ ।

    –च्यान हो‑हिम, एलिजाबेथ च्योङ

  • कमेन्ट गर्नुहोस्