• टोनीलाई देशद्रोहको मुद्दा, जमानत अस्वीकृत

    वेस वेस्ट काउलुन म्याजिस्टे्रट्स कोर्टमा उपस्थित गराइएका टोनी चुङ प्रहरी भ्यानमा । तस्बीर: एससीएमपी ।
  •  

    २९ अक्टुबर । विघटित पृथकतावादी समूह स्टुडेन्टलोकालिजमका पूर्व संयोजक टोनी चुङलाई पृथक्तावादी, देशद्रोह र रकम अपचलनको आरोपमा मुद्दा दायर गरिएको छ । उनलाई दुई दिनअघि अमेरिकी कन्सुलेट जनरल अगाडि रहेको प्यासफिक कफी सपबाट पक्राउ गरिएको थियो ।

    आज बिहान वेस्ट काउलुन म्याजिस्टे्रट्स कोर्टमा उपस्थित गराइएका टोनीलाई करिव ७ लाख हङकङ डलर अपचलनसहित राष्ट्रिय सुरक्षा कानुनको धारा २१ अन्तर्गत आरोप लगाइएको छ । उनलाई जमानतमा रिहाईका लागि गरिएको आवेदन अस्वीकृत गरिएको छ । उक्त मुद्धाको सुनुवाई जनवरी ७, २०२१ का लागि तोकिएको छ ।

    हङकङलाई स्वतन्त्र राष्ट्र स्थापित गर्ने अभियानसहित स्थापित स्टुडेन्टलोकालिजम गत जुन ३० का दिन राष्ट्रिय सुरक्षा कानुन घोषणा हुनु केही अघि विघटन गरिएको थियो । तर यसको सहयोगी समूहहरु बेलायत, अमेरिका, ताइवानलगायतका देशमा क्रियाशील रहेको छ । उनीहरुले सोसियल मिडियालगायतबाट विभिन्न गतिविधि गरिरहेका छन् ।

    पूर्व संयोजक टोनी चुङसहित उक्त समूहका ४ जनालाई गत जुलाईमा पक्राउ गरिएको थियो । धरौटीमा रिहा भएका उनीहरु प्रहरीमा तारिक धाइरहेका थिए । २७ अक्टुबरका दिन तारिकमा जादा पक्राउ पर्ने आशंकाबीच उनीहरु अमेरिकी कन्सुलेट जनरलमा प्रवेश गरी राजनीतिक शरण लिने तयारीमा थिए ।

    कार्यालय खुल्ने प्रतिक्षामा रहेको टोनीलाई करिव ३० मिनेट अघि नै सादा पोशाकका प्रहरीले गिरफ्तार गरेका थिए । उनको गिराफ्तारीपछि बाँकी रहेकाहरु अमेरिकी कन्सुलेट जनरल प्रवेश गरे पनि उनीहरुलाई शरण नदिइएको विभिन्न श्रोतले उल्लेख गरेको स्थानीय सञ्चार माध्यममा प्रकाशित भएका थिए । राजनीतिक शरणका लागि आवेदक स्वयं अमेरिका प्रवेश गर्नु पर्ने प्रावधान रहेको छ ।

    सोही अपरान्ह तारिक बुझ्न प्रहरी थाना पुगेका उक्त समूहका यन्निस हो र विलियम चान पनि पक्राउ परेका थिए । राष्ट्रिय सुरक्षा कानुन अन्तर्गतको प्रहरी इकाइले समूह विघटन गरिएको भए पनि पृथक्तावादी र देशद्रोही गतिविधि भइरहेको दावी गरेको छ । प्रहरी दावी अनुसार उक्त समूहको फेसबुक पेजको एडमिन टोनी चुङ नै रहेका छन् र उनले राष्ट्रिय सुरक्षा ऐन विपरित सूचना तथा समाचार सम्प्रेषण गरिरहेका छन् ।

    पक्राउ परेकै दिन हो र चान जमानतमा रिहाई भए चुङ कम्तिमा पनि जनवरी ७ सम्म प्रहरी हिरासतमा रहने छन् । आरोप प्रमाणित भएमा आजीवन कारावास समेत हुन सक्नेछ । नयाँ कानुन लागू भएपछि मुद्दा चलाइएका टोनी चुङ दोश्रा व्यक्ति हुन् । यस भन्दा अघि ‘लिबरेट हङकङ, रिभोलुसन अफ आवर टाइम’ लेखिएको व्यानरसहित मोटरसाइकलले प्रहरीमाथि आक्रमण गर्ने २३ वर्षिय तोङ यिङ-कितलाई मुद्दा लगाइएको छ । उनको मुद्दा उच्च अदालतमा सुनुवाई भइरहेको छ ।

    -श्रोत: स्थानीय विभिन्न अनलाइन ।

  • कमेन्ट गर्नुहोस्