सङ्क्रमित यौनकर्मी, कन्ट्याक्ट ट्रेसिङमा कठिनाइ
गैरकानूनी गतिविधीविरूद्ध गरिएको अपरेशनमा पक्राउ परेकी यौनकर्मी कोभिड‑१९ सङ्क्रमित भएको पत्ता लागेपछि प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ गर्न कठिनाइ सिर्जना भएको छ । ती यौनकर्मीले दिनमा थुप्रै ग्राहकलाई सेवा दिने गरेको खुलेको छ ।
सङ्क्रमणको श्रोत पत्ता लगाउन प्रहरीले सेन्टर फर हेल्थ प्रोटेक्सनलाई सहयोग गरिरहेको छ । मूलभूमीकी चिनियाँ महिलाको उमेर ४२ वर्ष बताइएको छ ।
“उनलाई कुनै ग्राहकबाट कोरोनाभाइरस सरेको हुनसक्छ । सङ्क्रमित भएपछि अन्य ग्राहकलाई उनले सारेको पनि हुनसक्छ,” प्रहरी श्रोतले बतायो ।
“सङ्क्रमण पुष्टि हुने व्यक्तिले ती यौनकर्मीकहाँ जाने गरेको अस्वीकार गर्नसक्ने भएकाले” ती महिलालाई भएको सङ्क्रमणको श्रोत पत्ता लगाउन कठिन हुने पनि उनी बताउँछन् ।
ती महिला कोरोनाभाइरस सङ्क्रमित भएको शनिबार पत्ता लागेको हो ।
उनलाई मोङ कोकस्थित ओरिएन्टल ल्यान्डर होटेलबाट गएको बुधबार पक्राउ गरिएको हो । होटेलबाहेक अन्यत्र पनि यौन सेवा उपलब्ध गराएको प्रहरीको विश्वास छ । प्रहरीले ती स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।
“सेन्टर फर हेल्थ प्रोटेक्सनले ती स्थान खुलाउनेछ । ती महिलाका ग्राहकले पनि परीक्षण गराउनेछन् भन्ने हामीले आशा गरेका छौं,” उनले भने ।
ती महिलासँग देहव्यापार गिरोह वा कुनै दलाल पनि संलग्न छ कि भनेर अनुसन्धान भइरहेको श्रोतले बतायो ।
प्रारम्भिक अनुसन्धान अनुसार ती महिला मध्य‑अगष्टतिर मूलभूमीबाट गैरकानूनी रूपले हङकङ प्रवेश गरेकी हुन् । त्यसपछि शा तीनस्थित फ्ल्याटबाट यौन व्यवसाय शुरू गरेको विश्वास गरिएको प्रहरी श्रोतले जनायो ।
“वेबसाइटमा सम्पर्क विवरणसहित ती महिलाको फोटो पोस्ट गर्न कसले सघायो हामी अनुसन्धान गरिरहेका छौं,” उनले भने ।
टेलिफोन वा मेसेजिङ एपमार्फत् सम्पर्क गर्ने ग्राहकलाई शा तीनस्थित फ्ल्याटमा आउन निर्देशन दिइने गरिएको श्रोतले बतायो । त्यसपछि ती महिला ओरिएन्टल ल्यान्डर होटेल सरेर यौन सेवा प्रदान गर्न थालिन् ।
“होटेलमा बस्दा एकै दिनमा थुप्रै ग्राहकसँग यौन सम्पर्क भएको हामीलाई जानकारी भयो,” श्रोतले भन्यो ।
होटेलबाट पक्राउ परेपछि उनलाई मोङ कोक प्रहरी कार्यालयमा दुई दिन राखियो । त्यसपछि कासल पिक बे इमिग्रेसन सेन्टर हुँदै मा ताउ कोक डिटेन्सन सेन्टर सारियो ।
मोङ कोकमा रहदाँ २३ जन प्रहरी अधिकारीको सम्पर्कमा आएकी प्रहरीले जनाएको छ । तीमध्ये चार जना क्वारेन्टिनमा छन्। प्रहरी कार्यालय पनि नि:सङ्क्रमण गरिएको छ ।
ती महिलासँगै एउटै थुनामा राखिएका ६ जना बन्दी र ६ जना प्रहरी कर्मचारीलाई नजिकको सम्पर्क मानेर क्वारेन्टिन राखिएको अध्यागमन विभागले बताएको छ । सबै ६ बन्दीको परीक्षण नेगेटिभ आएको विभागले बतायो ।
–क्लिफोर्ड लो