• भौतिक दूरीसम्बन्धी नियम उल्लङ्घन गर्नेलाई कडा कारवाही गरिने

    याउ मा तेई सामुदायिक परीक्षण केन्द्रमा लामबद्ध मानिसहरू । तस्वीरः एससीएमपी
  •  

    ३ डिसेम्बर । बिहीबारसम्म हङकङमा थप ९२ जना नयाँ सङ्क्रमित फेला पर्न सक्ने मेडिकल स्रोतले जनाएको छ । भौतिक दूरीसम्बन्धी नियम पनि कडाइका साथ लागू गर्ने सरकारले जनाएको छ ।

    बुधबार १०३ नयाँ सङ्क्रमित फेला परे । तीमध्ये १५ जनाको ट्रेसिङ भएको छैन र ६ जना विदेशबाट आएका हुन् । हालसम्म हङकङमा ६,४९९ जना कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ११० जनाले ज्यान गुमाएका छन् । प्रारम्भिक चरणमा पोजिटिभ देखिने ७० जना पुगेका छन् ।

    “पछिल्लो समय भौतिक दूरीसम्बन्धी नियम उल्लङ्घन गर्नेहरूले सङ्क्रमण बढाएका छन्,” गृह मामिला सचिव क्यास्पर चुइ यीङ‑वाइले बिहीबार बिहान एउटा रेडियो कार्यक्रममा भने, “भाइरसविरूद्ध सँगै लड्ने हो भने सबैले नियमको पालन गर्नुपर्छ ।”

    दुईभन्दा धेरै व्यक्ति भेला हुन नपाउनेजस्ता नियम उल्लङ्घन गर्नेलाई सरकारी विभागहरूले कडा कारवाही गर्ने चुइले बताए । जरिवाना पनि बढाइने उनले बताए ।

    कोभिड‑१९ सम्बन्धी नियम उल्लङ्घन गरेबापत दुई हजारदेखि दश हजारसम्म हङकङ डलर जरिवाना हुनसक्ने स्रोतहरूले यसअघि जानकारी दिएका छन् ।

    अर्को वर्ष हुने कला र खेलकुद गतिविधिका आधारमा सरकारले ट्राभलमा पनि सहजीकरण गर्न खोजेको गृह मामिला सचिवले जनाएका छन् । यस्तो भए विदेशबाट आउने कलाकार र खेलाडीले दुई साता क्वारेन्टिन नबसी हङकङ प्रवेश गर्न पाउनेछन् । तर स्वास्थ्य परीक्षण गर्नपर्ने र समुदायमा नजानेजस्ता नियम भने कडाइका साथ पालन गर्नुपर्नेछ ।

    विशेषगरी न्यूनतम पारिश्रमिक ४,६३० हङकङ डलर भएका घरेलु कामदारलगायत न्यून आय हुने समूहका लागि दश हजार हङकङ डलर जरिवाना गराउनु उपयुक्त नभएको श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ डा. ल्योङ ची‑चिउले बताएका छन् ।

    तर युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट डा. हो पाक‑ल्योङले भने बारम्बार नियम उल्लङ्घन गर्ने व्यक्ति भएकाले जरिवाना बढाउनु उपयुक्त भएको बताए । तर कानून सबैका लागि निष्पक्ष र एक हुनुपर्नेमा उनको जोड छ ।

    बेग्लै प्रसङ्गमा, तलबी बिरामी बिदा नपाउने स्थानीय सङ्क्रमित कामदारलाई पाँच हजार हङकङ डलर सहयोग गर्ने नयाँ सरकारी नियमका लागि दुईवटा मात्रै आवेदन परेको श्रम सचिव ल ची‑क्वोङले बताए ।

    एउटा आवेदन स्वीकृत भएको र अर्को विचाराधीन रहेको उनले बताए ।

    • च्यान हो‑हिम

  • कमेन्ट गर्नुहोस्