• जोर्डन र सामसुइपोमा लकडाउनको संभावना

    अनिवार्य कोभिड-१९ परीक्षणका लागि परिचालन गरिएका भ्यान र स्वास्थ्यकर्मीहरु । तस्बिरः एभरेष्टखबर ।
  •  

    जनवरी २२ । कोरोनाभाइरस कोभिड-१९ संक्रमण *आंकलन गरिए भन्दा बढी फैलिएपछि याउचिममोङ र सामसुईपो जिल्लाका केही स्थानमा लकडाउन गर्न सरकार बाध्य हुने स्थिति उत्पन्न भएको छ ।

    स्थानीय समाचार माध्यमका अनुसार संक्रमितको संख्या अधिका भेटिएका जोर्डन र सामसुइपोमा आउदो साता शुरुवातमै लकडाउन हुने संभावना रहेको छ । जोर्डनका जिल्ला सदस्य फ्रान्क होका अनुसार विज्ञहरुले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।

    ती क्षेत्रका पुराना घरहरुका बाथरुम, किचेनलगायतमा स्यानेटरी सुविधा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित नरहेकोले संक्रमण तीब्र गतिमा फैलिएको अनुमान गरिएको छ । त्यस किसिमका घरहरुमा नेपालीलगायतका जातीय अल्पसंख्यकको बसाईँ अधिक रहेको छ ।

    उक्त क्षेत्रमा संक्रमण फैलनुको कारण निर्माण क्षेत्रसंग सम्बन्धित पनि रहेको छ । हालै निर्माण क्षेत्रमा संक्रमण दर उच्च रहेको पाइएको छ । नेपालीलगायत जातीय अल्पसंख्यक अधिक मात्रामा निर्माण क्षेत्रमा कार्यरत रहेकोले उनीहरुको बसोबास रहेको स्थानमा संक्रमण उच्च देखिएको छ ।

    संक्रमित भेटिएका घरमा बसोबास गर्नेहरुलाई क्वारेन्टिनका लागि लगिने गरिएको भए पनि अधिक संक्रमित रहेको क्षेत्रलाई लकडाउन गर्दा सजिलो र कम खर्चिलो हुने देखिएपछि त्यसका लागि सरकारलाई सुझाव दिइएको अनुमान गर्न सकिन्छ ।

    अहिले संक्रमण अधिक भेटिएका घरमा बस्नेहरुलाई अनिवार्य कोभिड-१९ परीक्षण भइरहेको छ । त्यसका लागि उक्त क्षेत्रमा मोबाइल परीक्षण भ्यान परिचालित गरिएका छन् । कतिपय भवनहरु खालि गरिएका छन् । त्यहाँ रहनेहरुलाई क्वारेन्टिन सेन्टरमा लगिएको छ ।

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्