• कोभिड-१९ संक्रमित एकल अंकमा, बन्द क्षेत्र खुल्ने अनुमान

    सेन्टर फर हेल्थ प्रोटेक्सनका रोनाल्ड लाम दैनिक पत्रकार सम्मेलनमा । तस्बिरः आरटीएचके ।
  •  

    फेब्रुअरी १५ । कोरोनाभाइरस (कोभिड-१९)को चौथो लहरसंगै संक्रमितको संख्या दोहोरो अंकदेखि उकालो लागेको लगभग ३ महिनामा पहिलो पटक आज एकल अंकमा झरेको छ । आजका ९ संक्रमितमध्ये ५ जना इन्डोनेशिया, भारत, पोल्याण्ड र फिलिपिन्सबाट आयातित रहेका छन् ।

    नोभेम्बर १८ का दिन संक्रमितको संख्या ९ रहेकोमा भोलिपल्ट १२ पुग्दै उकालो लागेको थियो । यो संख्या नोभेम्बर २९ का दिन ११५ पुगेको थियो । हङकङमा संक्रमितको संख्या १०,७८८ पुगेको छ भने १९३ जनाको मृत्यु भएको छ । १०,२०६ जना संक्रमित निको भइसकेका छन् भने उपचाररतको संख्या ३९० रहेको छ ।

    संक्रमितको संख्या कम देखिनुमा चाडबाडका कारण परीक्षणमा सहभागिताको संख्या न्युन रहनु र आज चिनियाँ नयाँ वर्षको सार्वजनिक विदा सकिने भएकोले भोलि यो संख्या बृद्धि हुन सक्ने सम्बन्धित विज्ञहरुले अनुमान गरेका छन् ।

    संक्रमितको संख्या घटेसंगै सामाजिक दूरी सम्बन्धी नियम केही खुकुलो हुने अनुमान गरिएको छ । साँझ ६ बजेपछि बन्द गरिएका रेष्टुरेण्टहरु राति १० बजेसम्म खुला गरिने आशा गरिएको छ । एउटा टेबलमा २ जनामात्र बस्न पाइने नियम ४ जनासम्म बढाइने छ ।

    कोभिड-१९को चौथो लहरसंगै बन्द गरिएका ब्युटि पार्लर, जिम, सिनेमा, पार्टि प्यालेससहित बन्द रहेका सार्वजनिक स्थल खुला हुने अनुमान गरिएको छ । पटक-पटक बढाइएको पछिल्लो अवधि पर्सी १७ फेब्रुअरीसम्म कायम रहेको छ । यस अवधिमा केटाकेटी खेल्ने पार्क, बीबीक्यू पार्कलगायतका सार्वजनिक स्थलहरु पनि बन्द रहेका छन् ।

    संक्रमितको संख्या उल्लेखनिय रुपमा भेटिएपछि कतिपय निर्माण क्षेत्रसमेत बन्द रहेका छन् । बन्द क्षेत्र खुलासंगै त्यहाँ कार्यरतहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र अनिवार्य पेश गर्न पर्ने भएकोले सार्वजनिक परीक्षण स्थलहरु भीडभाड रहनेछन् ।

  • कमेन्ट गर्नुहोस्