• क्यारी लामबाट खोप परियोजनाको शुरुवात

    कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध साइनोभ्याकको पहिलो खुराक लिदै कार्यकारी प्रमुख क्यारी लाम । तस्बिर श्रोतः लामको फेसबुक पेज ।
  •  

    फेब्रुअरी २२ । कार्यकारी प्रमुख क्यारी लामले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध साइनोभ्याकको पहिलो खुराक लिदै खोप कार्यक्रमको शुरुवात गरेकी छन् । केन्द्रीय पुस्तकालय, कजवे बेस्थित सामुदायिक खोप केन्द्रमा आज २ः३० बजे उनले खोप लिएकी हुन् ।

    चीनमा निर्मित साइनोभ्याकको १० लाख खुराक आइपुगेको ३ दिनपछि कार्यकारी प्रमुख लामलगायत कार्यकारी परिषद्का सदस्यहरुले खोप लिएका छन् । खोप लिनेहरुमा न्याय सचिव टेरेसा चेङ, सुरक्षा सचिव जोन ली, निजामति सेवा सचिव प्याट्रिक निप, खाद्य तथा स्वास्थ्य सचिव सोफिया चानलगायत रहेका थिए ।

    सबै भन्दा पहिला खोप लिएकी कार्यकारी प्रमुख क्यारी लामले फेसबुकमार्फत खुसी व्यक्त गरेकी छन् । निःशुल्क खोप परियोजनाको शुरुवात भएको जानकारी गराउँदै उनले कुनै असहज महसुस नभएको प्रतिक्रिया दिएकी छन् । उनका अनुसार मौसमी रुघाखोकीको खोपजस्तै रहेको छ कोभिड–१९ विरुद्धको खोप ।

    उनले सर्वसाधरणलाई खोप लिन उत्प्रेरित गर्दै भ्रामक अफवाहको पछि नलाग्न अनुरोध गरेकी छन् । हङकङ सरकार सर्वसाधरणको स्वास्थ्यप्रति गम्भीर रहेको बताउँदै उनले उच्च मापदण्ड अपनाइएको जानकारी गराएकी छन् ।

    २६ फेब्रुअरीदेखि सर्वसाधरणलाई दिइने खोपको भोलिदेखि बुकिङ खुला गरिएको छ । कार्यकारी प्रमुख लामले हङकङमा पहिला आइपुग्ने खोप पहिलो पटक आफूले लिने प्रतिज्ञा गरेकी थिइन् । हङकङले जर्मनको फाइजर–बायोएनटेक र बेलायतको अष्ट्राजेनेका खोप पनि ल्याउदै छ ।

  • कमेन्ट गर्नुहोस्