• स्थगित बायोएनटेक खोप सुचारु हुने

    बायोएनटेक खोप स्थगित भएपछि सुनसान रहेको युनलङस्थित खोप केन्द्र । तस्बिरः एभरेष्टखबर ।
  •  

    अप्रिल ३ । प्याकेजिङमा देखिएको समस्याको कारण स्थगित गरिएको बायोएनटेक खोप अप्रिल ५ देखि सुचारु हुने भएको छ । जर्मनी निर्माता कम्पनी र चिनियाँ आपूर्ति कम्पनीले खोप लिनेका लागि स्वास्थ्य सम्बन्धी समस्या नरहेको प्रतिवेदन पेश गरेपछि हङकङ सरकारले स्थगित कार्यक्रम सुचारु गर्ने निर्णय गरेको हो ।

    सरकारी सूचना अनुसार अप्रिल ५ पछिका लागि बुक गरिएको खोप समय तालिका अनुसार नै लगाइने छ भने मार्च २४ देखि अप्रिल ४ सम्म दोश्रो खुराकका लागि बुक गर्नेहरुलाई अप्रिल ५ देखि १० भित्रको समय तय गरेर सूचित गरिने छ । उक्त अवधिका लागि पहिलो खुराक बुक गर्नेहरुले भने नयाँ बुक गर्नु पर्ने छ । नयाँ बुकिङका लागि आज बिहान ९ बजेदेखि खुला गरिएको छ ।

    लगभग १ लाख ५० हजारले पहिलो खुराक लिइसकेपछि बायोएनटेकको बोतलमा ६० वटा जति बिर्को राम्ररी नलागेको, चर्किएको र लतपतिएको भेटिएपछि उत्पादक र आपूर्ति कम्पनीको परामर्शमा खोप कार्यक्रम स्थगित गरिएको थियो । हङकङ र मकाउ पठाइएको व्याच नं.२१०१०२ र २१०१०४ खारेज गर्दै उत्पादक कम्पनीले ३ लाख खुराक पठाएपछि स्थगित कार्यक्रम सुचारु हुने भएको हो ।

    बायोएनटेक खोप स्थगितको कारण समय तालिका बुक गरिसकेका १ लाख ८० जना प्रभावित भएको छ । योसंगै चिनियाँ उत्पादन साइनोभ्याक खोप लिनेको संख्यामा पनि कमी देखिएको छ । यसले गर्दा ३ सय दिनभित्र खोप लगाइसक्ने हङकङको योजनामा असर पर्न सक्ने देखिएको छ ।

  • कमेन्ट गर्नुहोस्