• पाँच हजार डलर भौचर: कसले पाउने, कसले नपाउने ?

    अर्थ सचिव पल चान (बीच) भौचर योजना लागु हुने मिति घोषणा गर्दै प्रेस सम्मेलनमा । तस्बिर: सूचना विभाग ।
  •  

    जुलाई ४ देखि पाँच हजार हङकङ डलरको ‘कन्जम्प्सन भौचर स्किम’ दर्ताका लागि खुल्नेछ । लामो पर्खाइपछि आउन लागेको यो भौचर योजनाले कोरोनाभाइरस महाव्याधिबाट थलिएका धेरै व्यवसायलाई प्रोत्साहन गर्ने आशा गरिएको छ ।

    स्थानीयले छनोट गरेको विद्युतीय भुक्तान सञ्चालकको आधारमा डिजीटल भौचर दुई वा तीन किस्तामा उपलब्ध हुनेछ । तर अक्टोपस कार्ड छनोट गर्नेले अलि बढि सुविधा पाउनेछन् ।

    जुलाई ४ र १७ बीच दर्ता हुनेले चाँडोमा अगष्ट १ सम्म पैसा पाउनेछन् । भौचर अन्तर्गत पाएको पैसा कम्तिमा पाँच महिनाभित्र खर्च गर्नुपर्ने छ। भाउचरका लागि आवेदन दिने म्याद अगष्ट १४ तोकिएको छ ।

    सरकारले यी भौचर किन बाँड्दैछ ?

    अर्थ सचिव पल चानले भौउचरसम्बन्धी विवरण शुक्रबार घोषणा गरे । भौचरले उपभोक्ताको भावना प्रोत्साहन गर्न सहयोग गर्ने आशा गरेको उनले बताए ।

    “भौचरको नगद मूल्य हाम्रो स्थानीय अर्थतन्त्रमा सञ्चार हुनेछ । यसले हङकङको आर्थिक सुधार अघि बढाउनेछ,” उनले भने । योजनाले विद्युतीय भुक्तान प्रणालीको अवलम्बनसमेत बढाउने लक्ष्य भएको उनले बताए ।

    सन् २०२० मा हङकङको अर्थतन्त्र ६.१ प्रतिशतले ओरालो लाग्यो । यो अहिलेसम्मकै ठूलो वार्षिक संकुचन हो, महाव्याधिले उपभोग्य वस्तु र पर्यटन खर्च प्रभावित भएको थियो ।

    तर शहरको कूल ग्राहस्थ उत्पादनमा उल्लेखनीय सुधार भएको देखियो । सन् २०२१ को पहिलो त्रैमासिकमा प्रति वर्ष ७.९ प्रतिशतको वृद्धि भयो । यसअघि ३.६ अर्ब हङकङ डलरको योजनाले अर्थतन्त्रमा ०.७ प्रतिशत वृद्धि ल्याउने च्यानले अनुमान गरेका थिए ।

    भौचर कसले पाउछन् ? भौचर के‑का लागि प्रयोग गर्न सकिन्छ ?

    हङकङका वयस्क स्थायी बासिन्दा र मूलभूमि चीनबाट हालै आएका प्रवासीले भौचर पाउनेछन् । “तर दुई वर्षयता हङकङबाहिर गएको हुनुहुँदैन,” चानले बताए । स्थायी बासिन्दाले स्पोन्सर गरेका डिपेन्डेन्टले पनि फाइदा लिन सक्छन् ।

    तर शहरबाहिर पढ्ने र उपचार गराइरहेकालाई छुट हुनेछ । त्यसैगरि स्थानीय कम्पनीले नै विदेशमा काम गर्न खटाएकाले पनि परिवारसहित नै यो सुविधा पाउनेछन् । निर्धारित कल्याणकारी योजना अन्तर्गत ग्वाङदोङ र फुजियानका बासिन्दा भौचरका लागि योग्य हुनेछन्।

    भौचर योजनाले हिरासतमा रहेका व्यक्तिलाई पनि समावेश गरेको छ । पाएको सुविधा उनीहरूले परिवारलाई पठाउन सक्नेछन् । तर वर्किङ भिसा पाएका विदेशी र घरेलु कामदारलाई भने योजनामा समावेश गरिएको छैन ।

    गत दुई वर्षभित्र कोही स्थानीय शहरबाहिर गए‑नगएको अध्यागमन विभागले प्रमाणित गर्नेछ । एक कन्ट्रयाक्टरले निरीक्षण पनि गर्नेछ ।

    भौचरलाई सार्वजनिक यातायात, रेस्टुरेन्ट, खुद्रा पसल, कन्जम्प्सन सर्भिस आउटलेट, र स्थानीय तहमा दर्ता भएका अनलाइन स्टोरमा प्रयोग गर्न सकिनेछ ।

    तर योजनामा कर र टनेल शुल्क, युटिलिटी बिल, आर्थिक उत्पादन र सेवा, विद्यालय र विश्वविद्यालयको शिक्षण शुल्क र खर्च, अनुदान र गैर‑स्थानीय व्यवसायबाट अनलाइन खरिदका लागि प्रयोग गर्न पाइने छैन ।

    कर नीति इकाइका प्रमुख जेस्सी वोङ होक‑लिङले योजना अन्तर्गतका विद्युतीय भुक्तान सञ्चालकले कारोबारको अनुगमन गर्ने बताइन् । व्यवसायीले नियम उल्लङ्घन गरे योजनाबाट निकालिने र गैरकानूनी कारोबारको अनुसन्धान हुने उनले बताइन् ।

    भौचरका लागि कसरी दर्ता हुने ?

    www.consumptionvoucher.gov.hk मार्फत् अनलाइन आवेदन दिन सकिनेछ। हङकङ आइडी वा सरकारको आइएएम स्मार्ट एप प्रयोग गरेर पहिचान प्रमाणित गर्नुपर्ने छ ।

    पोहोर दश हजार हङकङ डलर नगद सुविधा लिएका व्यक्तिले पहिचान प्रमाणित गराउँदा सुरक्षासम्बन्धी केहि प्रश्नको उत्तर दिए पुग्नेछ । हुलाक वा तोकिएका बैङ्कका शाखामा पनि फारम भरेर बुझाउन सकिनेछ ।

    अक्टोपस कार्ड प्रयोगकर्ताले अक्टोपस एप वा तोकिएको सङ्कलन केन्द्रजस्तै एमटीआर स्टेसन र कन्भिनियन्स स्टोरबाट भौचर लिन सक्नेछन् । अलिपेएचके, ट्याप एन्ड गो वा विच्याट पे एचके प्रयोगकर्ताको खातामा सिधै भुक्तान हुनेछ ।

    अक्टोपस कार्डमा तीन किस्तामा भुक्तान गरिएको रकम आठ महिनासम्म खर्च गर्न सकिनेछ । पहिलो दुई भौचर दुई हजार हङकङ डलर मूल्यको हुनेछ ।

    उदाहरणका लागि जुलाई १८ र अगष्ट १४ को म्यादभित्र आवेदन बुझाएर पाएको चार हजार हङकङ डलरको डिजीटल भौचर ३१ मार्च २०२२ सम्म खर्च गरे १६ अप्रिल २०२२ मा एक हजार हङकङ डलरको तेश्रो कुपन पाइने छ । तेश्रो भौचरको खर्च गर्ने म्याद हुने छैन ।

    पैसा भुक्तानका लागि अन्य डिजीटल वालेट रोजेका व्यक्तिले दुई किस्तामा भौचर पाउनेछन् । यस्तो रकम पहिलो पटक दुई हजार हङकङ डलर र त्यसको दुई महिनापछि तीन हजार हङकङ डलर हुनेछ । तर आवेदन बुझाएको मितिको आधारमा जम्मा प्राप्त रकम ३१ डिसेम्बर २०२१ वा ३१ जनवरी २०२२ भित्र खर्च गरिसक्नुपर्नेछ ।

    हङकङ, मकाउ र ताइवान बजारमा अलिपेकी महाप्रबन्धक भेनेसिया लीले डिजीटल भौचर प्रयोगकर्ताले १ अर्ब हङकङ डलर बराबरको शपिङ डिस्काउन्ट पाउने बताइन्।

    खर्च व्यवस्थापन गर्न सजिलो होस् भनेर भौचरबाट पाएको रकम र आफ्नो ब्यालेन्स रकम प्रयोगकर्ताले छुट्टाछुट्टै राख्न सक्ने विच्याट पे एचकेले बताएको छ।

    खर्च गरेवापत अक्टोपसले दश करोड हङकङ डलर बराबरको रिवार्ड दिने भएको छ। चाँडो दर्ता हुनेले बोनस स्वरूप ११८ हङकङ डलर पनि पाउनेछन् ।

    के साँच्चै साना व्यवसायलाई योजनाबाट फाइदा पुग्छ त ?

    विद्युतीय उपकरण बिक्रेता र सुपरमार्केटजस्ता ठूलो चेनलाई फाइदा पुग्ने एस सेन्टर फर बिजनेस एन्ड इकोनोमिक रिसर्चका निर्देशक एन्डी क्वानले बताए ।

    “सबै साना व्यवसायसँग विद्युतीय भुक्तान प्रणाली छैन। त्यहाँ आउने ग्राहक पनि थोरै नै हुन्छन्,” क्वानले भने ।

    खुद्रा क्षेत्रका विधायक पिटर शिउले महँगा विलासी वस्तु बिक्री गर्नेबाहेक विभिन्न उद्योगलाई फाइदा पुग्ने आशा गरेको बताए ।

    हङकङ स्मल एन्ड मिडियम इन्टरप्राइजेज एसोसिएसनका अध्यक्ष पाम माकले दश हजार हङकङ डलरको प्याकेज दिने केहि ब्युटी पार्लरले ग्राहक आकर्षित गर्न दुई हजारको प्याकेज ल्याउने योजना बनाइरहेको बताए ।

    हङकङ फेडेरेसन अफ रेस्टुरेन्टका अध्यक्ष साइमन वोङले डिजीटल कुपनको एक तिहाइ रकम उपभोक्ताले बाहिर खानलाई खर्च गर्ने बताउँछन्।

    “बाहिर गएर खाने चलन फेरि बढेको छ। त्यसैले ग्राहकले भाउचरलाई रेस्टुरेन्टमा खर्च गर्ने हामीले आशा गरेका छौं,” उने भने।

    अन्य अर्थतन्त्रमा पनि यस्तो योजना छ  ?

    मकाउले १२ मेदेखि सबै उमेर स्थायी र अस्थायी बासिन्दाका लागि आठ हजार पटाका (एक हजार अमेरिकी डलर) को योजना ल्याएको छ। प्रत्येक व्यक्तिले डिजीटल वालेटमार्फत् पाँच हजार पटाका पाउँछन् । बाँकी रकम मकाउ पासबाट छुटको रूपमा उपलब्ध हुन्छ । मकाउ पास पनि अक्टोपसले सञ्चालन गरेको हो ।

    कोभिड‑१९ राहत स्वरूप अप्रिल २०२० मा दक्षिण कोरियाको ग्योङगी प्रान्तका सबैलाई एक लाख वोन (अठासी अमेरिकी डलर) बराबरको आधारभूत आय उपलब्ध गराइएको थियो ।

    सो रकम एक अर्ब वोनभन्दा कम वार्षिक कारोबार हुने स्थानीय व्यवसायमा खर्च गर्न सिमीत गरिएको थियो । प्रमुख डिपार्टमेन्ट स्टोर, ठूला बजार, सुपरमार्केट चेन, मनोरञ्जन व्यवसाय, जुवाजन्य व्यवसाय र फ्रान्चाइड आउटलेटमा खर्च मिल्दैन थियो ।

    अमेरिकाले अप्रिल २०२० मा एक हजार दुई सय अमेरिकी डलरको स्टिमुलस चेक उपलब्ध गराएको थियो । सन् २०१९ वा २०२० को कर विवरणबारे प्रत्यक्ष जानकारी दिने योग्य करदातालाई यो सुविधा उपलब्ध थियो । डिसेम्बर २०२० मा छ सय र मार्च २०२१ मा एक हजार चार समय अमेरिकी डलर फेरि वितरण गरिएको थियो ।

    -एससीएमपी ।

  • कमेन्ट गर्नुहोस्