टाईफुन मेङखुतले १ अर्ब अमेरिकी डलर बराबरको बीमा दाबी गराउने अनुमान
एभरेष्टखबर
September 19, 2018
सप्ताहन्तको त्रासदपूर्ण अग्निपरिक्षापछि शहरमा आएको अहिलेसम्मकै सबैभन्दा तिव्र आँधीबेहरीले ल्याएको विध्वंसका कारण, अभूतपूर्व बीमा भुक्तान सहित हङकङले विशाल आर्थिक क्षति बेहोर्नुपरेको छ ।
एक मुल्याङ्कनकर्ताले क्षतिपूर्ति बीमा दाबी १ अर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरेका छन्, जसले टाईफुन मेङखुतलाई स्थानीय इतिहासकै सबैभन्दा विध्वंसकारी आँधी बनाउनेछ । टाईफुन आईतबार आएको थियो र ताईशान शहर पस्नु अघि छिमेकी ग्वाङदोङ प्रान्तका शहर चिर्दै अघि बढेको थियो ।
शहरको हालसम्मकै तिव्र आँधीका कारण मौसम सम्बन्धि अधिकारीहरुले १० नम्बरको टाईफुन संकेत १० घण्टासम्म जारी गरेका थिए । अन्त्यमा, अधिकारीहरुले १ हजार ५ सय रुख ढलेको र ५ सय शिसा फुटेको सूचना पाए । गत वर्ष आएको टाईफुन हातोको क्षतिलाई यो वर्षको मेङखुतले पछि पारेको छ ।
सोमबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रद्द गरिएका उडानहरु सुचारु गराउने धपेडी थियो । दुवै धावनमार्ग सञ्चालन गरि दुई दिनको अवधिमा करिब २ हजार उडानको नयाँ तालिका जारी गरियो । ढलेका रुखले सडक तथा रेलको ट्रयाक बन्द गरेपछि अधिकांश सार्वजनिक बस र केही रेल सेवा सञ्चालन भएनन् ।
हङकङ आइल्यान्ड पूर्व भिक्टोरिया हार्बर अघि रहेको हेङ फा चुएन हाउजिङ इस्टेटले अत्यधिक क्षति बेहोर्नुपर्यो । त्यहाँ पसेको शक्तिशाली छालले फुटपाथ नै उप्कायो । त्यहाँका शीशाहरु पनि फुटेका थिए । विद्युत आपुर्ति बन्द भयो र खानेपानीको अभाव झेल्नुपर्यो ।
हुङ होमको बन्दरगाहपारि, १९ तले व्यावसायिक भवन वान हार्बरफ्रन्टको अधिकांश झ्याल फुटेका थिए । भवनबाट कागज र कार्यालयका सामग्रीहरु हावामा उडिरहेका थिए । सुपर टाईफुन वर्गीकरण गरिएको मेङखुतभन्दा शक्तिशाली आँधी पनि झेल्न सक्ने गरी निर्माण गरिएका हङकङका दुई अग्ला संरचनाहरु – सेन्ट्रलको ८८ तले ईन्टरनेशनल फाईनान्स सेन्टर (आईएफसि) र वेस्ट काउलुनको १ सय १८ तले ईन्टरनेशनल कमर्श सेन्टर (आईसिसि) मा पनि क्षति पुगेको छ । आईसिसिस्थित ईन्भेस्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीको कार्यालयका धेरै झ्यालहरु भत्किएका छन् ।
यद्यपि उराठलाग्दा तस्बिर र समाचारका बावजुद, शुभसमाचार पनि कम उल्लेखनिय थिएन : मेङखुतले कसैको पनि ज्यान लिएन ।
हातोको ११ करोड अमेरिकी डलर बराबरको क्षतिपुर्ति दाबीलाई मेङखुतले पार गर्ने सम्भावना कम भएको टार्गेट इन्स्योरेन्सका अध्यक्ष हेवु च्योङले गत बिहीबार बताएका थिए ।
“तर म धेरै आशावादी भएको पनि हुनसक्छु,” उनले सोमबार कबुल गरे । “मेङखुतको चक्रवात धेरै फराकिलो थियो र हङकङलाई हातोले भन्दा ६ गुणा लामो झण्डै १२ घण्टासम्म आक्रमण गरेको थियो ।”
“आउने साताहरुमा धेरै मानिसहरुले क्षतिपुर्ति दाबी दर्ता गराउने अपेक्षा गरेको छु ।”
बैंक अफ इस्ट एशियाका प्रमुख अर्थविद् पल ताङ साइ-अनले सप्ताहन्तको आँधीलाई हङकङको परिक्षा बताएका छन् ।
“मेङखुतले यति शक्तिशाली टाईफुन एक पटक मात्रै नआउने र यस्तो फेरी पनि हुनसक्ने संकेत दिएको छ,” ताङले भने,”यसकारण व्यक्ति र कम्पनीहरुले आफ्नो सम्पत्ति वा पूर्वाधार कति टिकाउ छ भन्ने मुल्याङ्कन गर्नेछन्, जसले अन्तत: लागत र खर्च वृद्धि गर्नेछ ।”
हङकङको सबैभन्दा ठूलो बस कम्पनी काउलुन मोटर बसले २२ प्रतिशत वा करिब १ सय १० रुटमा मात्रै सोमबार सेवा सुचारु गर्यो । एनडब्लुएफबि र सिटिबस व्यवस्थापन गर्ने एनडब्लयुएसले ६५ रुटमा वा २४ प्रतिशत मात्रै सेवा सञ्चालन गरेको एक प्रवक्ताले बताए । कम्पनीहरुले धेरै बस बिसौनीमा क्षति पुगेको जनाएका छन् ।
यसैबीच, ट्रान्सपोर्ट डिपार्टमेन्टले मंगलबार बिहान ५ बजेसम्म मुख्य सडकहरु खोल्ने प्रतिबद्धता जनाएको थियो ।
हुङ होमलाई मूलभूमि चीन नजिकैको सीमा लो वु र लोक मा चाउसँग जोड्ने एमटिआर कर्पोरेसनको इस्ट रेल लाइन सेवा सीमित रुपमा सञ्चालन भएको थियो । बिसौनी अस्तव्यस्त थिए । सोमबार साँझ ७ बजेदेखि सेवा सामान्य रुपमा सञ्चालन भयो ।
एनडब्लयुएसकी एक प्रवक्ताले न्यु वर्ल्ड फर्स्ट फेर्री सर्भिसेसको सबै घाटमा बाढी पसेको र केही टर्नस्टाइल र ग्याङ्प्ल्याङ्क भत्किएको बताईन् ।

चाईनिज युनिभर्सिटी अफ हङकङको अर्थ विभागका सहायक प्राध्यापक टेरेन्स चोङ ताइ-ल्योङले शहर सफा गर्न दुईदेखि तीन दिन र गम्भिर क्षति भएका स्थानमा अझ धेरै समय लाग्ने बताएका छन् ।
सम्पूर्ण शहरले सोमबार काम नगरेको भए, आर्थिक क्षति ७ अर्ब ३० करोड हङकङ डलर (९३ करोड अमेरिकी डलर) बराबरको क्षति हुने चोङको विश्वास छ । यो गणना अघिल्लो वर्षको कुल ग्राहस्थ उत्पादनको आधारमा गरिएको हो ।

“न्यु टेरिटोरिजका केही स्थानमा अधिकांश बस र रेल सेवा सञ्चालन नभएकोले, धेरै मानिसहरु काममा जान सकेनन् वा काममा पुग्न ढिला भयो, जसले झण्डै एक दिनको उत्पादकत्व घाटा भयो । क्यारी लामले कर्मचारीका लागि एक वा आधा दिनको विदा घोषणा गर्नुपर्थ्यो,” उनले बताए ।
कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले आईतबार फेसबुकको पोस्ट मार्फत् सोमबार काममा आउन कठिनाई सामना गरेका कर्मचारीप्रति रोजगारदाताहरुले समझदारी र लचकता अपनाउनुपर्ने बताएकी थिईन् । लगत्तै सोमबार, मेङखुत आएको भोलिपल्ट कुनै कामदारले काम गर्नु र नगर्नु रोजगारदाता र कामदारबीचको आपसी समझदारी भएको उनले बताईन् ।

तर उनको सल्लाहले आक्रोश निम्त्यायो । सोमबार राती साढे नौ बजे, लामको पोस्टमा १९ हजारभन्दा धेरै “एङ्ग्री” प्रतिक्रिया आएको थियो । करिब १ हजार ८ सय “लाईक” पाएको उक्त पोस्टमा ७ हजार ९ सयभन्दा धेरै प्रतिक्रिया आएको थियो जसमा धेरैले निराशा व्यक्त गरेका थिए ।
सरकारले पनि टाईफुनको क्षति बेहोरेको छ । जमिनमा भएका ५५ वटा पूर्वाधार, १७ वटा स्विमिङ पुल, पाँच वटा जल खेल केन्द्र र शहरका सबै समुद्रीतट मर्मतसम्भारका लागि अस्थायी रुपमा बन्द गरिए ।
गैरसरकारी पूर्वाधार जस्तै शेक मुनस्थित ८ करोड ४० लाख हङकङ डलरको जक्की क्लब किच्ची सेन्टर नष्ट भयो । शेक ओ कन्ट्रि क्लबस्थित ९९ वर्ष पुरानो गल्फ कोर्स पूर्ण रुपमा डुबेको थियो ।
यस्तो व्यापक विध्वंसका बावजुद, मेङखुतले ल्याउन सक्ने विनाशबारे सरकारी अधिकारीहरुले सर्वसाधारणलाई सचेत गराउन राम्रो काम गरेको चोङले बताए ।
डेनिस चाङ, इनोक यिउ, टोनी च्योङ / एससीएमपी
कमेन्ट गर्नुहोस्














