फेरी अर्को स्कूल बस ठोक्कियो, प्राथमिक विद्यालयका सात सहित नौ जना घाईते
काउलुन ईस्टस्थित क्वुन तोङ बाईपासमा मंगलबार बिहान कंक्रिटको डिभाईडरमा एउटा स्कूल बस ठोक्किदाँ प्राथमिक विद्यालयका सात विद्यार्थी सहित नौ जना घाईते भएका छन् । प्रहरीले घटनाबारे मंगलबार बिहान करिब पौने आठ बजे जानकारी पाएको थियो ।
“एक जना पुरूष चालक, एक जना महिला सुसारे र सात विद्यार्थीसहित नौ जना घाईते भएका छन्,” एक प्रहरी प्रवक्ताले भने । “सबै जना होशमा छन् ।”
बसमा कति जना विद्यार्थी थिए भन्ने तत्काल स्पष्ट भएन । सो बस काई चिङ ईस्टेटबाहिर राजमार्ग हुँदै शा तिनतर्फ गईरहेको थियो । बिहान पौने नौ बजेसम्म घटनास्थल खुला गरिएको थिएन । सडकको अधिकांश खण्ड बन्द गरिएका थिए । सवारी साधनको लामो लाम करिब ५ किलोमीटर टाढा लगुना सिटीसम्म पुगेको थियो । बाईपासलाई प्रिन्स एडवार्ड रोड ईस्टसँग जोड्ने सहायक मार्गमा पनि अवरोध पुगेको थियो । सडक खण्ड बिहान ९ बजेतिर खुले पनि त्यस क्षेत्रको ट्राफिक अत्यधिक बढेको थियो । लाम तिन र काउलुन ईस्टको काउलुन बे जोड्ने क्वुन तोङ बाईपास ५.२ किलोमीटर लामो ढलान भएको मोटरवे हो । यसको प्रत्येक दिशामा तीन लेन छ भने अधिकतम गति ७० देखि ८० किलोमीटर प्रति घण्टा छ ।
२४ घण्टाभित्र स्कूल बस संलग्न यो दोश्रो दुर्घटना हो । सोमबार दिउँसो १९ सीट क्षमताको एउटा स्कूल बस नर्थ प्वाईन्टस्थित च्योङ होङ स्ट्रिटको एउटा ओरालोमा अकस्मात गुड्किएर हेई वो स्ट्रिटको एउटा भवनमा ठोक्किएको थियो । उक्त घटनामा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
कार्यकारी प्रमुख क्यारी लाम चेङ युएत-ङोरले सोमबारको दुर्घटनामा परी ज्यान गुमाएकाहरू परिवारलाई मंगलबार बिहान समवेदना व्यक्त गरेकी छिन् । लामले घाईते ११ जनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । तीन जनाको अवस्थामा चिन्ताजनक छ भने एक जनाको अवस्था गम्भिर बताईएको छ ।
नोभेम्बरको अन्त्यसम्म हङकङका सडकमा ९९ वटा प्राणघातक दुर्घटनाहरू भएका छन् । सन् २०१७ को सोही अवधिको तुलनामा यो वर्ष सडक दुर्घटना वृद्धि भएको छ । ट्रान्सपोर्ट डिपार्टमेन्टलाई उद्धृत गर्दै अघिल्लो वर्ष जम्मा ९० वटा सांघातिक सडक दुर्घटना भएको लामले बताईन् । दुवै वर्ष झण्डै उस्तै अर्थात् करिब १४ हजार दुर्घटना भएका छन् ।
सन् २०१८ मा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या १ सय १८ पुगेको छ । अघिल्लो वर्ष यो संख्या ९४ थियो । यसरी हेर्दा सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्यामा २५ प्रतिशत वृद्धि भएको छ ।
“एउटा मात्रै गम्भिर सडक दुर्घटना हुनु पनि धेरै हो, ” लामले भनिन् ।
सवारी चलाउँदा आफ्नो “महत्वपूर्ण जिम्मेवारी” बारे विचार गर्न लामले सबै सवारी चालकलाई आग्रह गरेकी छिन् । सडकको डिजाईन र मर्मतसम्भारमा सुधार ल्याउन अधिकारीहरूले तिव्रता दिने तथा सडक सुरक्षा सम्बन्धि सचेतना अभियान पनि वृद्धि गरिने लामले बताएकी छिन् ।