• एटिएममा छोडिएको पैसा चोर्ने प्रहरीलाई जरिवाना

  • एटिएममा छोडिएको नगद चोरी गरेको पुष्टि भएपछि एक प्रहरीलाई १५ हजार हङकङ डलर जरिवाना गरिएको छ ।

    मुद्दाको सुनुवाई काउलुन सिटी कोर्टमा मंगलबार भएको थियो । जुलाई ५, २०१७ का दिन ३९ वर्षिय लाउ युएन–मिङ काउलुन सिटीस्थित फुक लो चुयन रोडमा एउटा एटिएम प्रयोग गर्दै  थिए । नजिकै रहेको अर्को एटिएमबाट आवाज आईरहेको थियो । हेर्न जाँदा एटिएमबाट नगद निस्किएको थियो ।

    एटिएमबाट निस्किएको नगद आफ्नै जस्तो लागेको तर वालेटमा अर्को ८ हजार हङकङ डलर देखेपछि शंका लागेको लाउले दाबी गरे । बैंकको अभिलेखमा त्यो दिन उनले एक पटक मात्रै नगद झिकेको देखिन्छ ।

    बैंकका कर्मचारीले उनलाई पैसा फिर्ता गर्न सल्लाह दिएका थिए । तर ती कर्मचारीलाई लाउले आफु प्रहरी भएको र पैसा आफ्नै भए सहकर्मीहरूलाई अनावश्यक दुख दिन नचाहेको बताएका थिए । विभिन्न बिलमहशुल भुक्तान गर्न परिवारका अन्य सदस्यहरूले पैसा राखिदिने गरेकाले पनि सो नगद आफ्नै भएजस्तो लागेको उनले बयान दिएका थिए । काममा आन्तरिक स्थानान्तरण भएकाले पनि उनी त्यो दिन अत्यधिक तनावमा रहेको र एटिएमबाट त्रुटि भएको हुनसक्ने उनले बताए ।

    एटिएमको सेक्युरिटी फुटेज नहेरेसम्म उनले अर्काको पैसा लगेको चाल पाएका थिएनन् । चौध वर्षदेखि प्रहरी सेवामा रहेका ती अधिकारीले बैंकमा सोधपुछ गरेबाट पनि आफुले ठग्न नखोजेको पुष्टि हुने बताए । उनी गत वर्ष फेब्रुअरीमा पक्राउ परेका थिए ।

    “प्रतिवादीले १२ सेकेन्डमै आफुले प्रयोग गरेको एटिएम भुल्क सक्दैनन्,” सेक्युरिटी फुटेज हेरेपछि म्याजिस्ट्रेटले भने,“बैंकमा सोधपुछ गरेपछि पैसा आफ्नो नभएको प्रतिवादीले थाहा पाएको अदालतको विश्वास छ ।”

    जरिवानाबाहेक अदालतले पीडितलाई ८ हजार हङकङ डलर फिर्ता गर्न पनि फैसला सुनाएको छ ।

  • कमेन्ट गर्नुहोस्