• सोधपुछको क्रममा दुर्व्यवहार गरिएको डेमोसिस्टोका नेता जोसुवा वोङको आरोप

    जोसुवा वोङ वेस्ट काउलुन अदालतमा
  • डेमोसिस्टोका नेता जोसुवा वोङ चि-फुङले सोधपुछको क्रममा भुईंमा नाङ्गै बस्न लगाएर कारागारका कर्मचारीले आफ्नो अपमान गरेको बिहीबार आरोप लगाएका छन् । गैरकानुनी विरोध आयोजना गरेको अभियोगमा जेलसजाय काटिरहेका बेला यस्तो भएको उनले बताएका हुन् ।

    तथाकथित घटनामा वोङले न्याय सचिव विरूद्ध १६ हजार हङकङ डलरको क्षतिपूर्ति माग गर्दै स्मल क्लेम्स ट्राईब्युनलमा मुद्दा हालेका छन् । उक्त घटना तुङ ताउ करेक्सनल ईन्स्टिच्युसनमा अक्टोबर १६, २०१७ मा भएको उनले दाबी गरेका छन् । वोङलाई पिक उक करेक्ससनल ईन्स्टिच्युसनबाट त्यहाँ सारिएको थियो । सन् २०१४ को सेप्टेम्बरमा गैरकानुनी सभा गरेको अभियोगमा उनलाई ६ महिनाको जेलसजाय भएको थियो । जेलमा ६९ दिन बिताएपछि कोर्ट अफ फाईनल अपिलले सो फैसला खारेज गरेको थियो ।

    करेक्सनल सर्भिसेस डिपार्टमेन्टका एक अधिकारीले एउटा वातानुकुलित कोठामा नाङ्गै र खाली खुट्टा भुईंमा बस्न आदेश दिएको वोङले डेप्युटी एज्युडिकेटर पर्सी युलाई बताए । ती अधिकारी ल्योङ तीन-हाङ रहेको पछि खुलेको थियो । उनलाई पनि पाँच मिनेटसम्म सोधपुछ गरिएको थियो ।

    लागुऔषधको प्रयोग, ट्रायडका गतिविधिहरूमा संलग्नता, पहिलेको पेशा र राजनीतिक संलग्नता लगायतका विषयमा उनलाई प्रश्न गरिएको थियो । यद्यपि पछिल्ला विषयबारे ल्योङले भरेको फारममा उल्लेख नगरिएको वोङले बताए ।

    करेक्सनल सर्भिसेस डिपार्टमेन्टका सहायक अधिकारी ताई क्वोङ-यी

    वोङका अनुसार दुई-दुई पटक नाङ्गै किन बस्नुपर्‍यो भन्ने प्रश्नमा ल्योङले भनेका थिए – “हामी यहाँ भुईंमा बस्ने शौचालय प्रयोग गर्छौं – तपाईंलाई केही कठिनाइ छ कि भनेर जाँचेको ।”

    कैदीबन्दीलाई त्यस्तो शैलीमा सोधपुछ गर्ने अभ्यासबारे नसुनेको बताउँदै यस्तो व्यवहार शक्ति र पदको दुरूपयोग भएको वोङले बताए ।

    “मैले अपमानित महशुस गरें किनभने यो सुरक्षाको विषयभन्दा बाहिर गएको मलाई विश्वास छ…उनीहरूको रवैया हेर्दा, उनीहरूले मलाई नै लक्षित गरेका थिए ।”

    “कैदीबन्दी पनि मानव हुन्; उनीहरूले भुईंमा नाङ्गै बसेर प्रहरी अधिकारीलाई कुकुरजस्तो मास्तिर फर्केर हेर्न पर्दैन,” उनले उँचो आवाजमा भने ।

    ल्योङका दुई जना सहकर्मी सहायक अधिकारीद्वय ताई क्वोङ-यी र पाक वाई-होनले छोटो समयका लागि वोङलाई नाङ्गै बस्न लगाएको स्वीकार गरेका छन् । तर वोङले भनेजस्तो सोधपुछ गर्ने क्रममा नभएर सोधपुछ गर्नु अघि निषेधित सामग्री ल्याएको जाँच्नलाई प्रत्येक पटक दुई सेकेन्ड जति समय यस्तो गरिएको उनीहरूले बयान दिए ।

    करेक्सनल सर्भिसेस डिपार्टमेन्टका सहायक अधिकारी पाक वाई-होन

    निषेधित सामग्रीहरू लुकाएर ल्याईउने लगायतका अनियमितता पत्ता लगाउन दुई पटक बसे पुग्ने र निषेधित सामग्री पत्ता लागे कैदीबन्दीलाई तीन मिनेटभन्दा बढी समय नाङ्गै नराखिने उनीहरूले बताएका छन् । दुवै अधिकारीले प्रमाण हेरफेर नगरेको वा वोङबारे केही कुरा नगरेको बताउँदै साँचो बोलेको बयान दिएका छन् ।

    “त्यो भए मैले झुटो आरोप लगाएँ ?” वोङले सोधे ।

    “मैले बुझिनँ,” ताईले उत्तर दिए ।

    त्यही प्रश्न दोहोर्‍यारए सोध्दा ताईले भने – “त्यस्तो केही भएको थिएन ।”

    विवाद बढ्ने देखेर एज्युडिकेटरले हस्तक्षेप गरिन् ।

    “यो झुटो हो कि होईन भनेर तपाईंले किन नबताएको मलाई थाहा भएन,” उनले भनिन्,“सरल रूपमा भन्दा, सोधपुछको क्रममा वोङ नाङ्गै बसे कि बसेनन् ?”

    “अहँ । बसेनन्,” ताईको उत्तर थियो ।

    ल्योङको बयानसँगै मुद्दाको सुनुवाई शुक्रबार पनि जारी रहनेछ ।

  • कमेन्ट गर्नुहोस्