• क्रिकेट : नेपालद्वारा हङकङ पराजित

  • काठमाडौं, फागुन १२ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) महिला विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

    थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४ रन र सीता रानामगरले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ हङकङकी जसमिनी टिटमुसले तीन विकेट र सान तो, मारिको हिल र क्यारी चानले एक-एक विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६२ रन बनायो । हङकङका लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन जोडिन् भने यास्मिन दसवानीले १६ तथा बेला पुनले ११ रन जोडे ।

    हङकङमाथिको सहज जित हात पारेको नेपाली टोलीतर्फ नेरी थापा एक्लैले ६ विकेट लिइन् भने सरिता रानामगरले २ विकेट झारिन् । जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।

    जारी प्रतियोगितामा नेपाललको यो तेस्रो जीत हो । यसअघि नेपालले मलेसियालाई ३४ रन र संयुक्त अरब इमिरेटस् (युएइ) लाई ७ विकेटले पराजित गरेको थियो ।

    नेपाल थाइल्याण्डसँग भने ५७ रनले पराजित भएको थियो । राउण्ड रोबिनका आधारमा हुने उक्त छनोटको विजेताले आइसिसि महिला टी–२० विश्वकप छनोट–२०१९ प्रतियोगितामा खेल्नेछ ।

    एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएइ, मलेसिया, कुवेत, चीन र हङकङ सहभागी छन् । नेपालले लिग चरणको पाँचौं खेल भोलि सोमबार चीन विरूद्ध खेल्नेछ ।

  • कमेन्ट गर्नुहोस्