• आम हडतालले जनजीवन प्रभावित

    एडमिराल्टीमा सडक कब्जा जमाएर बसेका प्रदर्शनकारीहरु । तस्बिरः एपीएफ ।
  •  

    अगष्ट ५ । दुई महिनादेखि शुरु भएको आन्दोलनको दौरानमा दशकौंपछि आज आह्वान गरिएको आम हडतालले हङकङको जनजीवन प्रभावित बनाएको छ ।

    सुपुर्दगी विधेयकको विषय लिएर शुरु भएको आन्दोलनको क्रममा आयोजित आम हडताल सार्वभौमिकता बेलायतबाट चीनमा फर्किएपछि हङकङमा भएको यो पहिलो आम हडताल हो ।

    बेलायतकालिन हङकङमा सन् १९६६ सालमा स्टार फेरीको भाडा २५ प्रतिशत बृद्धि हुदा र १९६७ सालमा बेलायती शासनको विरोध गर्दै आम हडतालमा भएका थिए ।

    आजको आमहडतालले अधिकांश यातायात प्रभावित भएका छन् । अवरोधका कारण रेल सेवा बिहान ९ बजेदेखि नै बन्द भएका थिए । मुख्य–मुख्य ठाउँमा सार्वजनिक बसलगायतका सेवा अवरुद्ध भएका थिए । प्रदर्शनकारीहरुले काउलुन र हङकङ जोड्ने टनेलहरु कब्जामा लिएका थिए । हवाइ यातायात पनि प्रभावित भएका कारण सय भन्दा बढी उडान रद्द भएका छन् ।

    ठाउँ–ठाउँमा प्रहरी र आन्दोलनकारीबीच झडप भएका छन् । प्रहरीले टियरग्यास, रबरको गोलीलगायत प्रयोग गरेको थियो । आन्दोलनकारी र सर्वसाधरणबीच पनि झडपका घटना घटेका थिए । कतिपय ठाउँमा नीजि सवारी प्रयोगकर्ताले बन्दको अवज्ञा गरेका थिए ।

    गर्मीको विदाका कारण शैक्षिक संस्थाहरु बन्द छन् । आम हडतालका आयोजकहरुले विभिन्न कम्पनी तथा सरकारी कर्मचारीहरुलाई विरोधमा उत्रन आह्वान गरेकाले मिलेसम्मका कर्मचारीहरुले विदा लिएका थिए । कर्मचारी अभावका कारण धेरै क्षेत्र प्रभावित भएका थिए । विमानस्थलमा समेत कर्मचारी अभाव भए पछि दुईमध्ये एक धावन मार्ग बन्द गरिएको थियो ।

    आन्दोलनकारीहरु तिनसुईवाई, सातिन, सामसुइपो, चुनमुन, एडमिराल्टी, चिमसाचुईलगायतमा केन्द्रित भए पनि अन्य ठाउँमा पनि सामान्य प्रभाव परेको थियो ।

  • कमेन्ट गर्नुहोस्