क्यारी लामद्वारा कार्यकारी परिषद् पुनर्गठन
एभरेष्टखबर
April 22, 2020
अप्रिल २२ । कार्यकारी प्रमुख क्यारी लामले कार्यकारी परिषद् पुनर्गठन गरेकी छन् । उनको सिफारिसमा राज्य परिषद्ले पाँच नयाँ सचिव नियुक्त गरेको छ । नवनियुक्त सचिवहरुले आज नै सपथ ग्रहण गरेका छन् ।
नव नियुक्त सचिवहरुमा क्रमशः निजामति सेवा –प्याट्रिक निप, गृह मामिला –कास्पर सुइ, संवैधानिक तथा मूलभूमि मामिला –इरिक चाङ, वित्तिय सेवा तथा कोष –क्रिस्टोफर हुइ र आविष्कार तथा प्रविधि –अल्फ्रेड सिट रहेका छन् ।
सपथ ग्रहणपछि कार्यकारी प्रमुख लामले नवनियुक्त सचिवहरु जिम्मेवारी वहनका लागि सक्षम रहेकोमा कुनै शंका नरहेको र चुनौतिहरु सामना गर्न सफल हुने विश्वास व्यक्त गरिन् । सोही अवसरमा लामले कोविड–१९ महामारीबाट प्रभावित हङकङको पुनर्निर्माणमा नव नियुक्त समूहबाट ठूलो सहयोगको अपेक्षा गरिएको विचार व्यक्त गरेकी थिइन् ।

प्याट्रिक निप बाहेक अन्य सचिव नयाँ अनुहार रहेका छन् । निप यो भन्दा अघि संवैधानिक तथा मूलभूमि मामिला सचिव रहेका थिए ।

संविधानिक तथा मूलभूमि मामिला सचिव इरिक चाङ अध्यागमन विभागका पूर्व निर्देशक हुन् ।

बैंकिङ क्षेत्रबाट आएका गृह मामिला सचिव कास्पर सुइले गृह मामिला विभाग र श्रम तथा कल्याण विभागमा काम गरिसकेका छन् ।

आर्थिक संस्थानहरुमा लामो अनुभव भएका वित्तिय सेवा तथा कोष सचिव क्रिस्टोफर हुइ आर्थिक सेवा विकास परिषद्का कार्यकारी निर्देशक रहिसकेका छन् ।

आविष्कार तथा प्रविधि सचिव अल्फ्रेड सिट इलेक्ट्रिकल तथा मेकानिकल सेवाका कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्

















