• सुरक्षा कानूनको प्रस्ताव एनपीसीबाट पारित

    प्रस्तावकाे पक्षमा २८७८, विपक्षमा १ र ६ जना अनुपस्थितको नतिजा । तस्बिर: एएफपी ।
  •  

    मे २८ । हङकङको लागि विशेष तयार गरिने राष्ट्रिय सुरक्षा कानून सम्बन्धी संकल्प प्रस्ताव चीनको राष्ट्रिय जन कंग्रेस (एनपीसी)ले पारित गरेको छ ।

    आज अपरान्ह एनपीसीको १३ औं वार्षिक सभाको समापन अघि गरिएको मतदानमा २,८७८ मतले पारित गरिएको प्रस्तावको विपक्षमा १ मत परेको थियो भने ६ जना प्रतिनिधि अनुपस्थित रहेका थिए । शुक्रबार शुरु भएको सभामा उक्त प्रस्ताव पेश गरिएको थियो ।

    पारित प्रस्तावको आधारमा एनपीसीको स्थायी समितिले कानून तयार गर्ने छ । प्रस्तावित कानून पृथकतावादी, आतंकवादी र विदेशी हस्तक्षेपजस्ता गतिविधि नियन्त्रण गर्न प्रयोग गरिने छ ।

    एनपीसी स्थायी समितिका सभापति लि झाङशुले सभाको समापन गर्ने क्रममा ‘एक देश दुई नीति’को सिद्धान्त अनुरुप बनिने कानून हङकङ र चीनका जनताका मौलिक हितमा हुने उल्लेख गरेका छन् । सोही क्रममा उनले प्रस्तावित कानूनले राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र विकासका साथै हङकङको दीर्घकालीन समृद्धि र स्थायित्वको रक्षा गर्ने बताएका थिए ।

    एनपीसीको स्थायी समितिले बनाएको कानून हङकङको विधायिका परिषद्मा घोषणा गरिने छ र आधारभूत कानूनको अनुबन्ध ३ मा समोवश गरिने छ । यस कानूनले हङकङमा मूलभूमि चीनको सुरक्षा सम्बन्धी निकायहरुको प्रवेशलाई सहज बनाउँने अनुमान गरिएको छ ।

    केही वर्षदेखि स्वतन्त्र हङकङको नारासहित पृथकतावादी र आतंकवादी गतिविधि भईरहेको चीनको ठहर रहेको छ । यसले राष्ट्रिय अखण्डता र सार्वभौमिकता खलल पुर्याएको भन्दै कानून बनाउँन चीनले हङकङलाई दवाव दिएको थियो ।

    आधारभूत कानूनको धारा २३ अन्तर्गत राष्ट्रिय सुरक्षा कानून बनाउन सन् २००३ मा प्रस्तावित विधेयक उपर छलफल शुरु भए पनि निक्र्यौलमा पुग्न सकेको थिएन । विरोध प्रदर्शन भएपछि विधेयक फिर्ता लिइएको थियो ।

  • कमेन्ट गर्नुहोस्