• नेपाल भ्रमण वर्ष प्रवर्धन गर्न वेल्समा हाइकिङ

  • ३ अगष्ट, वेल्स ।
    नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन गर्न ‘वि विल राइज फाउन्डेसन’ले संयुक्त अधिराज्यको वेल्समा ‘हाइक फर नेपाल’ आयोजना गर्ने भएको छ ।

    सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेपछि अन्तर्राष्ट्रियस्तरमा फाउण्डेसनको आयोजनामा हुन लागेको पहिलो कार्यक्रम वेल्सको ‘ब्ल्याक माउन्टेन’मा हुनेछ । पैदलयात्रासँगै साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम पनि गरिने छ ।

    ‘हामी उठ्ने छौं’ अभियान अन्तर्गतको यो कार्यक्रमको आयोजकमा पोखरेली मञ्च, संयुक्त अधिराज्य पनि रहेको छ । आज अगष्ट ३ देखि सुरु हुने उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ । पैदलयात्रा भोलि हुनेछ जसमा नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघ र नेपाली दूतावास लगायतको पनि सहयोग रहने छ ।

    वि विल राइज फाउन्डेसनको यस्तो खाले पैदलयात्राको यो तेस्रो संस्करण हो । यसअघि हङकङमा दुई पटक भइसकेको छ । यस कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पु¥याउने आशा रहेको फाउन्डेसनका फाउन्डर तुलसी गुरुङले बताएका छन् ।

    ‘नेपालको पर्यटन प्रवर्धनका निम्ति यहाँ बसोबास गरिरहेका धेरै नेपालीले यथाशक्य समय दिनुभएको छ,’ फाउन्डर गुरुङले भने, ‘नेपाल चिनाउन र पर्यटक बोलाउन हामी निरन्तर पहल गरिरहने छौं ।’

    ‘नेपालको लागि सँगसँगै पाइला चालौं’ नारासहित आयोजना हुने कार्यक्रममा नेपाली राजदूत, नेपाल तथा हङकङका गायक, स्थानीय सांसद, मेयर लगायत करिब १ सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकले अपेक्षा गरेका छन् ।

    कार्यक्रममा सहभागी हुन नेपालबाट तेह्रपटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका थानेश्वर गुरागाई, वि विल राइज फाउन्डेसन, नेपालका निर्देशक निर्मल श्रेष्ठ र हङकङ निर्देशक सुरज गुरुङ वेल्स पुगिसेकका छन् ।

    भुइँचालोपछि थलिएको नेपालको पर्यटन क्षेत्र उकास्न वि विल राइज फाउन्डेसनले यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

    नेपालबाट आएको टोलीलाई स्वागत गरेपछि फाउण्डेसनका फाउन्डर तुलसी गुरुङ (बायाँ) । तस्बिरः डब्लुडब्लुआरएफ ।

  • कमेन्ट गर्नुहोस्