• चीन जोड्ने हाई–स्पिड रेल लिंकको परीक्षण गर्ने एमटीआरको तयारी

  • विवादमा फसेको हङकङको रेल सञ्चालक एमटिआरले शहरको तिव्र–गतिको अन्तर–सीमा रेलको आउने सेप्टेम्बरमा भव्य उद्घाटनका लागि तयारीमा जुटेको छ । यसका लागि यही महिना चार वटा ठूला यात्रुवाहक रेलको यो महिना परिक्षण हुँदैछ ।

    यस अघि जुन २३ मा ६ सय कर्मचारी सम्मिलित पहिलो यात्रुवाहक यात्राको सिमुलेसन अभ्यास गरिएको थियो । अब हुने परिक्षणका लागि एमटिआरले ९ सयभन्दा बढी कर्मचारी सहभागी गराउने योजना बनाईरहेको छ । यीमध्ये ८ सय यात्रु बन्नेछन् र १ सय २० जनाले अभ्यासका क्रममा सहयोग गर्नेछन् । यो परीक्षण जुलाई १६, १८, १९ र २० मा हुनेछ ।

    “एक्टिङ प्यासेञ्जर रिक्रुटमेन्ट” शीर्षकको आन्तरिक सूचना १७ हजारभन्दा बढी कर्मचारीलाई पठाइएको छ । एमटिआरले ८४.४ अर्ब हङकङ डलर लागतको विवादास्पद रेल परियोजनाको परिक्षणका लागि आफ्ना कर्मचारीलाई वेस्ट काउलुन टर्मिनसमा गरिने चार वटा ड्रिलमा सहभागी हुनलाई तयार रहन आह्वान गरेको छ ।

    ड्रिलमा अध्यागमन प्रक्रिया, भीड नियन्त्रण व्यवस्थापन, र सुरुङ, टर्मिनस र रेलबीच मानिसहरूको उद्धार कार्य पनि समावेश गरिनेछ । ती अभ्यासहरू अग्नि नियन्त्रण सेवा लगायत विभिन्न सरकारी विभागसँग संयुक्त रुपमा सञ्चालन गरिने एमटिआरका एक प्रवक्ताले बताए । उक्त एक्सप्रेस रेल लिंक र त्यसको सिग्नलिङ र टिकटिङ प्रणाली, र स्टेशनको परिक्षण अप्रिल १ देखि शुरु भएको थियो ।
    यद्यपि, रेल लिंकमा भने ट्रयाकको कमजोर डिजाईनका कारण ट्रयाकभन्दा बाहिर गएको एउटा गाडी, जमिनमुनि पानी चुहावटका कारण प्रभावित सिग्नलिङ प्रणालीको एउटा खण्ड र अपेक्षा गरेभन्दा छिटो नयाँ ट्रेनको चक्का बिग्रिनु लगायतका विभिन्न गडबडीको श्रृंखला चलिरहेको छ ।

    सन् २००० को प्रारम्भमा सरकारले योजना अघि सारे यता उक्त परियोजना विवादमा मुछिएको छ । वेस्ट काउलुन टर्मिनमा संयुक्त चेकप्वाईन्ट राख्ने विवादास्पद विधेयकलाई व्यवस्थापिका परिषद्ले अघिल्लो महिना पारित गरेको छ । यस अन्तर्गत चीनियाँ अधिकारी पनि यहाँ तैनाथ हुनेछन् ।

    सेवा शुरु गर्नु अघि प्रमुख आकस्मिक ड्रिल लगायत विभिन्न परिमाणका विविध अवस्थाहरूको नक्कल गरेर अभ्यासको एउटा श्रृंखला सञ्चालन गरिने रेल सञ्चालकले जनाएको छ । उक्त लिंकले शहरको वेस्ट काउलुन स्टेशन र फुतियान, शेन्जेनबेई र हुमेन लगायत ग्वाङझु साउथसम्मको छोटो दुरी र अन्य १४ स्थानहरूमा लामो दुरीको सिधा सेवा प्रदान गर्नेछ ।

    एक्सप्रेस रेल ग्राहकका लागि सेवा र अनुभव छरितो र प्रभावकारी भएको सुनिश्चित गर्न सञ्चालन प्रक्रियासँग स्टेशनका कर्मचारीलाई अभ्यस्त गराउन ड्रिलको डिजाईन गरिएको बताईएको छ । अघिल्ला ड्रिलहरूमा सहभागीता जनाए वापत प्रत्येक कर्मचारीलाई २ सय हङकङ डलर बराबरको कुपन दिईएको हङकङ फेडेरशन अफ रेलवे ट्रेड युनियन्सका उपाध्यक्ष ताम किन–चिउले बताए । उनीहरूले सो कुपनलाई एमटिआरको शपिङ मलहरूमा प्रयोग गर्न सक्नेछन् ।

    शहरकै सबैभन्दा महँगो ९७.१ अर्ब हङकङ डलरको लागतमा शा तिन–सेन्ट्रल रेल लिंकमा भइरहेको निर्माण कार्यक्रमको कमजोरी खुलासा भएपछि रेल सञ्चालक अत्यधिक दबाबमा आएको छ ।
    -क्यानिक्स याउ

  • कमेन्ट गर्नुहोस्