• बेलायतमा हाइक फर नेपाल

  • ६ अगष्ट, बेलायत । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्धन हेतु शनिबार वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ आयोजना गरियो । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले उक्त सहरलाई करिब चार घण्टा नेपालमय बनाएको थियो । करिब १२ किलोमिटर लामो हाइकिङलाई ‘नेपालका लागि संगसंगै पाईला चालौं’ नारा दिइएको थियो ।

    बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले माउन्ट एभरेष्ट नामाकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गर्दै यसले दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए । उनका अनुसार यस्ता कार्यक्रमले नेपालीबीच सद्भाव, भातृत्व र सौहार्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ ।
    ब्रेकनका सभासद क्रिस डेभिस, पोइज काउन्टी काउन्सिलका अध्यक्ष डेभिड मेराडिथ, ब्रेकन टाउन काउन्सिलका मेयर मेनी टेलर, उपमेयर एन म्याथिस, टलग्रेथ टाउन काउन्सिलका मेयर विलियम पवेल र यसै क्षेत्रका पूर्व मेयर लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    पोइज काउन्टीका अध्यक्ष मेराडिथले नेपाललाई आनो दोस्रो घर बताउदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साईनो गाँस्न लागेको समेत खुलासा गरे । ‘यसैलाई आधिकारिकता दिन आगामी फेब्रुअरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौं ।’ उनले थपे । यसका निमित्त सकृयतापूर्वक लागेका ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले यो हुन सके दुबै मुलुकले फाइदा लिनसक्ने बताए । नेपाल प्रवर्धनात्मक कार्यक्रममा बेलायतबासीकातर्फबाट सम्पूर्ण सहयोग रहने समेत गुरुङले प्रतिबद्धता व्यक्त गरेका थिए ।

    पोखरेली मञ्च बेलायतको संयोजकत्व र ब्रेकन नेपाली समाजको सकृयता रहेको कार्यक्रममा सहभागी हुन नेपालबाट तेह्रपटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, १६ वटा विधामा गिनिज वल्र्ड रेकर्ड गराएका थानेश्वर गुरागाई, वि विल राइज फाउन्डेसनका संस्थापक तुलसी गुरुङ, सोही फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ र सुरज गुरुङ आएका छन् ।

    यस कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानलाई टेवा पुग्ने आशा रहेको फाउन्डेसनका संस्थापक तुलसी गुरुङले बताए । करिब १ सय ५० नेपाली एवं विदेशीहरु सहभागी पैदलयात्रामा स्थानीय बेलायतीहरुले नेपालबारे उत्सुकतापूर्वक जिज्ञासा राखेका थिए ।


    नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्धन अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताए ।

    अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जानकारी गराउँदै नेपाली दूतावासले २०२० मा यो संख्या एकलाख पु¥याउने लक्ष्य रहेको बताएको छ ।

    वि विल राइज फाउन्डेसनको आयोजना रहने ‘हाइक फर नेपाल’ हङकङमा दुई पटक सम्पन्न भइसकेको छ ।

  • कमेन्ट गर्नुहोस्