• ‘नेपालमा पहिचानमा आधारित प्रदेश संभव’

  • २३ अगष्ट । नेपाल लोकतान्त्रिक मगर संघका अध्यक्ष भोजविक्रम बुढामगरले नेपालमा पहिचानमा आधारित प्रदेश निर्माण संभव रहेको बताएका छन् ।

    नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा सम्पन्न ‘नेपालको राजनीतिमा आदिवासी जनजाति’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले पहिचानमा आधारित प्रदेशका लागि सम्बन्धित जातिलाई मात्र नभएर सबै नागरिकलाई बुझाउन, राजनीतिक दल तथा विधायकहरुबीच जातीय पहिचानको मुद्दा व्यवस्थित रुपमा छलफल गर्न र सम्बन्धित जातिका जनप्रतिनिधिलाई समुदायको मुद्दामा प्रतिबद्ध बनाउँन आवश्यक रहेको बताएका थिए ।


    उनले नेपालमा पहिचानको राजनीति शासक जातिबाटै शुरु भएको दावी गरेका छन् । उनका अनुसार आर्यहरुले आफ्नो पहिचान स्थापित गर्नकै लागि अरुको पहिचान नामेट गर्ने कामको शुरुवात गरेका थिए । नेपाल निर्माणको क्रममा आदिवासी जनजातिलगायको राज्य विघटन गरेर यसको शुरुवात भएको उनको ठहर रहेको थियो ।

    नेपाल निर्माण भएसंगै पहिचानको लागि बिद्रोह भएका दृष्टान्त पेश गर्दै उनले बहसको थालनी कम्युनिष्ट पार्टीले गरेको बताएका थिए । कम्युनिष्ट पार्टी स्थापनाको दस्तावेजमा पहिचानको मुद्दा समावेश गरिएको भए पनि व्यवहारमा कहिल्यै लागू नभएको उनको आरोप रहेको थियो ।

    कम्युनिष्ट आन्दोलनले आदिवासी जनजातिलाई उपयोग र सशक्तिकरण गरेको भए पनि नेतृत्व इमान्दार हुन नसक्दा पहिचानको मुद्दा पेचिलो बनेको उनको बुझाइ रहेको थियो । उनले नेपालमा रहेका सबै जातजातिका पहिचान स्थापित गर्न सकिने संभावना रहेको बताएका थिए । उनका अनुसार जातीय जनसंख्याको आधारमा प्रदेश तथा स्थानीय निकायमार्फत उक्त संभावना रहेको छ ।

    मगर जातिको इतिहास सम्बन्धी पुस्तकका लेखक तथा आदिवासी जनजाति विषयमा विद्यावारिधी गरिरहेका बुढामगरले विभिन्न तथ्यांक प्रस्तुत गर्दै राज्य संचालनका अंगहरुमा आदिवासी जनजातिको प्रतिनिधित्व दयनीय रहेको बताएका थिए । पछिल्लो समय समवेशिताको सिद्धान्तले निजामति कर्मचारीलगायतमा आदिवासी जनजातिको संख्या बृद्धिले परम्परागत बाहुल्यता रहेका जाति अतालिएको अवस्थामा रहेको उनको जिकिर थियो ।


    चुम्लुङ हिममा आयोजित कार्यक्रम को शुरुवातमा जनजाति महासंघका अध्यक्ष किसन राईले विषयमाथि प्रकास पार्दै नेपालबाट आउने राजनैतिक व्यक्तित्व तथा अभियन्तासंगकोअन्तरक्रिया सान्दर्भिक र उपयोगी हुने बताएका थिए । सदस्य संस्थाका अध्यक्षलगायतको उपस्थिति रहेको कार्यक्रम महासचिव कृष्णराज लाओतीले संचालन गरेको थिए ।

  • कमेन्ट गर्नुहोस्