• भानुजयन्ती : अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस

    भानुजयन्तीको निरन्तरता अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस
  • १२ जुलाई । दुई वर्षको अन्तरालपछि भानुजयन्तीले निरन्तरता पाएको छ । सन् २००४ देखि हङकङ नेपाली फाउण्डेसनले शुरुवात गरेको भानुजयन्ती सन् २०१५ मा विश्व नेपाली साहित्य महासंघको आयोजनामा सम्पन्न भएको थियो । सन् २०१६ र २०१७ स्थगित कार्यक्रम यस वर्षदेखि गैर–आवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा हुने भएको हो ।
    नेपाली भाषा तथा साहित्यप्रेमी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिबीच चुम्लुङ हिममा आयोजित कार्यक्रममाथि प्रकास पार्दै महासचिव किसन राईले यो वर्षदेखि भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा एनआरएनएले विश्वव्यापी मनाउन शुरु गरेको जानकारी गराएका थिए ।
    उनले पहिलो वर्ष भएकोले कुनै तयारी गर्न नपाएको बताउदै आउदा वर्षदेखि रचनात्मक क्रियाकलापसहित भानुजयन्ती मनाइने जानकारी गराएका थिए । हङकङका विद्यालयहरुमा औपचारिक पठनपाठन नहुने भएकोले नेपाली भाषाको स्थिति दयनीय रहेको उनको ठम्याइ रहेको थियो । महासचिव राईले भाषा र साहित्यजस्तै नेपाली कला र सङ्गीतलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा लैनसिं बाङ्देल र अम्बर गुरुङजयन्तीलाई मनाउन सकिने सुझाएका थिए ।
    कार्यक्रमका प्रमुखअतिथि सृजनशील साहित्य समाज हङकङका अध्यक्ष हाङयुग अज्ञातले विश्वभर रहेका नेपालीलाई एक बनाउने माध्यम नेपाली भाषाको विकल्प नरहेको विचार व्यक्त गरेका थिए । उनले नेपाली भाषा विकासको लागि नेपालमा बोलिने सबै राष्ट्रिय भाषाको विकास हुन आवश्यक रहेकोमा जोड दिएका थिए । आगन्तुक शब्दले भाषालाई बृहत् र बलियो बनाउने तर्क गर्दै उनले अंग्रेजी भाषाको उदाहरण पेश गरेका थिए ।
    नेपाली साहित्य साझा श्रृङ्खलाका संयोजक डीबी पालुङ्वा, पारिजात पुरस्कार हङकङ २०१८ का विजेता सुनिता गिरी, कवयित्री पूर्णिमा जी शाहले भानु सम्बन्धी लगायतका कविता वाचन गरेको कार्यक्रममा नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।
    उक्त अवसरमा चित्रकार दीपेन्द्र राईले आपूmले कोरेको भानुको चित्र संघका अध्यक्ष राधिका गुरुङलाई हस्तान्तरण गर्दै लिखित भानुको जीवनी सुनाएका थिए । उनले भानुको पालामा फोटो खिच्ने प्रविधि नभएकोले प्रचलनमा रहेका तस्बिर चित्रकारको कल्पनामा आधारित भएकोले आपूmले पनि सोही गरेको बताएका थिए ।
    उपाध्यक्ष निरञ्जन गुरुङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा भानुको तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो । सञ्चालिका सचिव टीका रानाले भानुका रचनामध्ये बधुशिक्षा पाठ गरेकी थिइन् ।
    कार्यक्रमको समापन गर्दै अध्यक्ष गुरुङले एनआरएनएले भानुजयन्तीलाई निरन्तरता दिने र आवश्यक परे अन्य संघसंस्थालाई पनि सहआयोजकको रुपमा संलग्न गरिने बताएकी थिइन् । नेपाली भाषाको पठनपाठनका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएकी थिइन् ।

    सम्बोधनको क्रममा प्रमुखअतिथि सृजनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञात । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्