• हङकङमा हुने भो एनआरएनए क्षेत्रीय बैठक

  • १२ सेप्टेम्बर । गैर–आवासीय नेपाली संघ (एनआरएनए)को एशिया–प्यासफिक क्षेत्रको छैठौं बैठक डिसेम्बर ८–९ का दिन हङकङमा हुने भएको छ । क्षेत्रीय संयोजक किरण थापाबाट बैठक सम्बन्धी पत्र प्राप्त गरेपछि अध्यक्ष राधिका गुरुङले उक्त जानकारी गराएकी हुन् ।

    अध्यक्ष गुरुङका अनुसार अगष्ट २६ का दिन जापानमा सम्पन्न ‘नेपाल डे’को अवसरमा बैठकको घोषणा गरिएको थियो । घोषणा बमोजिमको पत्र संयोजक थापाले रामादा होटल ग्वाङझाउमा हस्तान्तरण गरेका हुन् । एनआरएनए चीनको विवाद मिलाउन आएका संयोजक थापालाई भेट्न अध्यक्षसहित हङकङ टोली ग्वाङझाउ पुगेको थियो ।

    क्षेत्रीय संयोजक किरण थापाका अनुसार यस क्षेत्रका देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य र राष्ट्रिय समन्वय समितिका अध्यक्षहरु सहितको बैठक तयारी समिति गठन गरिने छ । आयोजक भएकोले हङकङ अध्यक्ष उक्त समितिको सचिव रहने छन् ।

    प्रत्येक दुई वर्षमा हुने क्षेत्रीय बैठक यो भन्दा अघि थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, जापान र कोरियामा सम्पन्न भइसकेको संयोजक थापाले बताएका छन् । उनका अनुसार ती देश बाहेक मकाउ, ताइवान, बर्मा, लाओस, बु्रनाइ, कम्बोडिया र सिंगापुरलगायतका देशमा एनआरएनए गठन भएका छन् । चीनमा भने गत वर्षको अधिवेशनमा विवाद भएपछि अहिलेसम्म समिति गठन हुन सकेको छैन ।

    अध्यक्ष राधिका गुरुङले बैठक स्थल चयन गर्ने काम भइरहेको र त्यसको टुंगो लागेपछि जानकारी सभाको आयोजना हुने बताएकी छन् । उनका अनुसार छैठौं अधिवेशनबाट गठन भएको समितिले उक्त बैठक आयोजनाको दावी गरे बमोजिम नै घोषणा भएको र पत्र प्राप्त भएको हो ।

    क्षेत्रीय संयोजक किरण थापा (दायाँबाट दोश्रा) बैठक सम्बन्धी पत्र हङकङलाई हस्तान्तरण गर्ने क्रममा । तस्बिरः एभरेष्ट ।

  • कमेन्ट गर्नुहोस्