• मेङखुतको फोहोर सफा गर्न नेपाली श्रमदान

  • सेप्टेम्बर १७ । दश घण्टा ताण्डव मच्चाउने मेङखुतले थुपारेको फोहोर फाल्न जोर्डन र युनलङमा नेपालीहरुले आज श्रमदान गरेका छन् । हङकङ अब्जरभेटरी डिपार्टमेन्टले टाइफुन हटेको सूचना जारी गर्नसाथ उनीहरु कुचो, प्लास्टिस्कका ब्याग, खुकुरी, हाते आरा, ठेलागाडालगायतका सामग्री लिएर सडक र पार्कमा निस्किएका थिए ।

    नेपाल आदिवासी जनजाति युवा संघका सचिव तिलक सोमै मगरको नेतृत्वमा निस्किएको टोलीले युनलङको ताइतोङ रोडस्थित कोलोर (सिटि मल)पछाडिको पार्क र जक्की क्लव टाउन स्क्वायर (घडी पार्क)लगायत सफाई गरेको थियो ।

    ‘आफू बसेको ठाउँमा प्राकृतिक विपत्ति पर्दा सहयोग गर्नु पर्छ भन्ने लाग्यो र सफा गर्न निस्केका छौं’, कोलोर पछाडि भेटिएका सोमैले भने, ‘हङकङ हाम्रो पनि घर हो र यसलाई सफा राख्नु हाम्रो कर्तव्य  हो ।’


    उनले सफाईमा निस्कन अघि युनलङ जिल्ला परिषद् कार्यालयमा फोनमार्फत जानकारी गराएर अनुमति लिएको बताए । उनका अनुसार श्रमदान गर्ने कुराले परिषद्का कर्मचारी खुसी भए र धन्यवाद ज्ञापन गरे ।

    गैर–आवासीय नेपाली संघ (एनआरएनए)की अध्यक्ष राधिका गुरुङको नेतृत्वले याउमातेस्थित साइगुन स्ट्रिट, क्यान्टोन रोड, फेरि स्ट्रिट र वाटर लु रोडमा सफाई गरेको थियो ।

    ‘सामाजिक सञ्जाललगायतमा ज्याप स्टुडियोका विक्रम गुरुङ लगायतकाहरुले सफाई अभियानमा सघाउनु पर्ने विचार व्यक्त गरिरहेका थिए’, एनआरएनएकी अध्यक्ष राधिका गुरुङले भनिन्, ‘त्यसपछि जिल्ला पार्षद् बेन्नी युङ, प्रहरी इन्सपेक्टर इभा चान र का वाइमार्फत फुड एण्ड इन्भाइरोमेन्टल हाइजिन डिपार्टमेन्टसंग सम्पर्क भयो । उनीहरुले तोकिदिएको ठाउँमा अन्य संघसंस्थाका प्रतिनिधिहरु सहितले सफा गरेका हौं ।’

    उनका अनुसार आवश्यक परे नेपालीले जस्तोसुकै सहयोग गर्न सक्छ भन्ने विश्वास दिलाउनका लागि पनि सफाई कार्यक्रम गरिएको हो । यस भन्दा अघि सिचुवान भूकम्प पीडितका लागि पनि एनआरएनएले राहत संकलनार्थ कार्यक्रम गरेको थियो ।

    डिपार्टमेन्टका मिस युङले नेपाली सहयोगको सह्राना गरिन् । उनले भनिन्, ‘हामीसंग क्लिनिङ स्टाफ पर्याप्त छन् र पनि नेपाली भावनात्मक सहयोग प्राप्त हुदा खुसी लागेको छ ।’

    यस्तो अवस्थामा स्थानीय र अन्य समुदायकाहरु सहयोग गर्न निस्किएनन् नि ? भन्ने प्रश्नमा उनले थाहा नभएको बताइन् ।

  • कमेन्ट गर्नुहोस्