• दिदी–बहिनीको नौलो व्यवसाय

  • o१५ वर्ष भन्दा बढी अरुकोमा काम गरेपछि आरती लिम्बू र अनुराधा लिम्बूले आफै खोलेको ‘बेबी बेसिक्स’ स्टोर लोकप्रिय बन्दै ।

    हङकङको व्यापार व्यवसायमा एकपछि अर्को नेपालीको प्रवेश भइरहेको छ । यसैक्रममा गत साता सेण्ट्रलको क्विन्स रोडस्थित लनसिङ हाउसको सातौं तलामा ‘बेबी बेसिक्स’ नामक स्टोर संचालनमा आएको छ ।

    चर्चित स्टोर ‘बम्ब्स टु बेब्स’मा डेढ दशक भन्दा बढी ब्रान्च म्यानेजर र एडमिनिष्ट्रेशन म्यानेजरको अनुभव संगालेका दिदी–बहिनी आरती लिम्बू र अनुराधा लिम्बूले सुरु गरेको व्यवसाय भने अरु नेपालीले गरिरहेको भन्दा फरक छ ।

    ‘बेबी बेसिक्स’मा गर्भवती महिला, नवजात शिशुदेखि १० वर्ष सम्मका बाल–बालिकाका लागि उपयोगी स्वास्थ्य सामाग्री, पहिरन, खेलौना आदि एकै छानामुनी सुपथ मुल्यमा उपलब्ध छन् । चल्दाचल्दैको ‘बम्ब्स टु बेब्स’ अचानक बन्द भएपछि लिम्बू दिदी–बहिनीले लामो अनुभव खेर नफाली ‘बेबी बेसिक्स’ नामबाट त्यसलाई पुनर्जीवन दिएका हुन् । आरती भन्छिन्, “हामीले जानेको काम यही थियो, फेरि अरुकोमा जागीर खाने भन्दा आफै केही गरौं भन्ने लागेर व्यवसाय सुरु गरेका हौ ।”


    स्टोरमा ‘बम्ब्स टु बेब्स’का पुराना ग्राहकहरुको भीड लाग्न थालिसकेको छ । आरती भन्छिन्, ‘स्टोर खुलेको एक सातामा ‘बम्ब्स टु बेब्स’का धेरै ग्राहकहरु आउन थालेका छन् ।’ उनका अनुसार ग्राहक चिनियाँ तथा अन्य मूलका धेरै भए पनि नेपाली पनि आकर्षित भइरहेका छन् ।

    हङकङका धेरै स्टोरहरुमा महंगोमा बिक्री भइरहेका र नेपालीहरुले पनि प्रयोग गर्दै आएका उत्पादनहरु सस्तोमा उपलब्ध गराइएको दाबी स्टोरको छ । बेलायत र युरोपबाट ठूलो मात्रामा आयात गरिने भएकाले बाहिर भन्दा सस्तो र कतिपय सामान अन्य स्टोरमा भन्दा आधा मूल्यमा समेत दिन सकिएको बताइएको छ ।

    अनलाइन शपिङ www.babybasicshk.com र होम डेलीभरी सेवा समेत एकसाथ सुरु गरिएको छ । पाँच सय हङकङ डलर भन्दा बढीको सामान अनलाईनबाट अर्डर गर्ने ग्राहकलाई होम डेलीभरी सेवा उपलब्ध छ ।


    हङकङका नेपालीबाट माया र हौसला पाउने अाशामा रहेका लिम्बू दिदी–बहिनी आफूले जानेको–सिकेको व्यवसायमा अरुले पनि हात हालुन् भन्ने चाहन्छन् ।

  • कमेन्ट गर्नुहोस्