• ईन्टरपोलका पूर्व प्रमुखले घुस लिएको चीनको आरोप

  • सोमबार सार्वजनिक गरिएको एक औपचारिक वक्तव्यमा हिरासतमा लिईएको ईन्टरपोलका पूर्व प्रमुख मेङ होङवेईले घुस लिएको चीनियाँ प्रहरीले आरोप लगाएको छ ।

    मिनिस्ट्री अफ पब्लिक सेक्युरिटीको वेबसाईटमा प्रकाशित उक्त वक्तव्यमा “आफ्नै तरिकाले काम गर्ने उनको अडानको अर्थ अनुसन्धानमा पर्नुको कारण उनी आफैं भएको बुझाउँछ” उल्लेख गर्दै मेङका सहायकहरुको अनुसन्धान गर्न प्रहरीले कार्यदल गठन गर्ने पनि बताईएको छ ।

    पब्लिक सेक्युरिटी मन्त्री झाओ केझीले मध्यरातमै मन्त्रालयमा कम्युनिष्ट पार्टीको बैठक संयोजन गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । बैठकले मेङ विरुद्ध अनुसन्धान गर्न “सर्वसम्मत रुपमा समर्थन” गरेको तथा राष्ट्रपति सि जिन्पिङ र पार्टी नेतृत्वप्रति “पूर्ण राजनीतिक वफादारी” को प्रतिज्ञा गरेको थियो ।

    मेङलाई हिरासतमा लिईएको र उल्लेख नगरिएको कुनै कानुन उल्लंघनबारे अनुसन्धान भईरहेको चीनको नेशनल सुपरभाईजरी कमिशनले मध्यरातभन्दा केही अघि घोषणा गरेको थियो । लगत्तै ईन्टरपोलले मेङको राजीनामा पनि प्राप्त गरेको थियो ।

    मन्त्रालयको वक्तव्यमा मेङको संदिग्ध भ्रष्टाचार र कानुनको उल्लंघनले पार्टी र प्रहरीलाई “गम्भिर खतरा पुगेको” बताईएको छ । मेङसँगै घुस लिएको शंका गरिएका अन्यको अनुसन्धान गर्न एउटा कार्यदल गठन गरिने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

    मन्त्रालयको नेतृत्वले कम्युनिष्ट पार्टीको अनुशासन कडाईका साथ लागु गर्ने र पार्टीको निर्णय तथा योजनाहरु दृढतापूर्वक पालन र कार्यान्वयन गर्ने दोहोर्‍याएका छन् ।

    “पार्टीसँग वार्ता वा सम्झौता गर्ने कुनै विकल्प छैन,” वक्तव्यमा भनिएको छ ।

    सन् २०२० मा कार्यावधी समाप्त हुने मेङ बेपत्ता हुनु र हिरासतमा पर्नुले, विश्वव्यापी सुशासनमा नेतृत्वदायी भूमिका खेल्ने चीनको प्रयासमा ठूलो धक्का पुग्ने धेरै विश्लेषकहरुले बताएका छन् । यस्तो गर्ने निर्णय गर्नु अघि नै बेईजिङले जोखिमबारे अग्रिम जानकारी पाएको हुनसक्ने बाँकीको तर्क छ ।

    “उनीहरुले यस्तो निर्णय लिनु अघि अन्तर्राष्ट्रिय समुदायबाट असाधारण प्रतिक्रिया आउने अपेक्षा गरेको मेरो विश्वास छ,” बेईजिङस्थित राजनीतिक समालोचक झाङ लिफानले भने ।

    “मेरो विचारमा केही आकस्मिक कुरा भयो होला । त्यसैले, अन्तर्राष्ट्रिय मञ्चमा बेईज्जत हुने जोखिम मोलेर भए पनि अधिकारीहरुले तत्काल यस्तो कारवाही गर्ने निर्णय गरे ।

    यदि मेङ सामान्य भ्रष्टाचारको मामिलामा संलग्न रहेको पाईए, अधिकारीहरुलाई यस्तो कारवाही गर्नुपर्ने कुनै आवश्यकता पर्ने थिएन ।”

    लन्डनस्थित एसओएएस चाईना ईन्स्टिच्युटका निर्देशक स्टिभ चाङले, मेङको वरिष्ठतालाई हेर्दा, उनलाई हिरासतमा लिने निर्णय चीनियाँ सरकारको उच्च तहबाटै आएको हुनसक्ने बताए ।

    “कम्युनिष्ट पार्टीको हितमा चीनियाँ विदेश नीति नै सबैभन्दा पहिलो र प्रमुख आवश्यकता हो । त्यसैले, चीन र अन्तर्राष्ट्रिय संस्थाहरुमा नेतृत्वदायी भूमिका लिने चीनको क्षमता वृद्धि गर्नु चीनियाँ सरकारको चासोको विषय हो, यस्ता कुरा पार्टीको विचारभन्दा प्राथमिकतामा पर्दछन्,” उनले भने ।

    “यो चीनका लागि एकदमै बदनामीको विषय हुनसक्छ र ईन्टरपोल प्रमुखका दाबेदारलाई उल्लेख नगरिएको कुनै अपराधमा चीनमा हिरासतमा लिने कार्यको ठूलै मुल्य पनि चुकाउनुपर्ने हुनसक्छ, तर यदि पार्टी नेतृत्वसँग मेङलाई तल झार्ने कुनै कारण भए, यो प्राथमिक चासोको विषय नहुनसक्छ…उनको समस्या गम्भिर प्रकृतिको मानिएको हुनसक्ने सम्भावना धेरै छ ।”

    ईन्टरपोलको कार्यालय रहेको लियोन, फ्रान्समा मेङकी पत्निले ६४ वर्षिय मेङ हराएको उजुरी दिएकी थिईन् । फ्रान्सको आन्तरिक मन्त्रालयको वक्तव्य अनुसार मेङकी पत्नि ग्रेस मेङले सेप्टेम्बर २५ देखि पतिको कुनै खबर नपाएको बताएकी थिईन् ।

    बेईजिङले आईतबार वक्तव्य जारी गर्नु अघि उनले लियोनमा सञ्चार माध्यमसँग कुरा गरेकी थिईन् । ग्रेसले पतिको जीवन खतरामा रहेको बताउँदै राष्ट्रिय सरकारहरुलाई हस्तक्षेप गर्न आग्रह गरेको एएफपीले जनाएको छ ।

    अन्तिम पटक सेप्टेम्बर २५ मा, पतिले सामाजिक सञ्जालको सन्देश मार्फत् “वेट फर माइ कल” अर्थात् मेरो फोनको प्रतिक्षा गर्नु भन्ने सन्देश सहित छुरीको “ईमोजी” पठाएको उनले बताईन् ।

    “यो अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्धित विषय हो,” मेङले एउटा प्रेस सम्मेलनमा अंग्रेजीमा भनिन् । “उनलाई के भएको हो मलाई छैन ।”

    खतरा उत्पन्न भएपछि ग्रेस र उनीहरुको सन्तानलाई सुरक्षा प्रदान गरिएको फ्रान्सको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ ।

    म्याट हो

    चोई चीयुक र किन्लिङ लोबाट थप रिपोर्टिङ

  • कमेन्ट गर्नुहोस्