हङकङ नेपाली महासंघमा टंक राना
टोपबहादुर याक्खा
October 10, 2018
अक्टुबर ७ । टंक रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै हङकङ नेपाली महासंघको १० औं महाधिवेशन सम्पन्न भयो । याउमातेई कम्युनिटी सेन्टरमा सम्पन्न उक्त अधिवेशनद्वारा उपाध्यक्षमा लोकराज लिम्बू, महासचिव नविन सुहाङ, सचिव भविन लिम्बू र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन भएका हुन ।

प्रथम चरणको खुल्लासत्रमा प्रमुख अतिथि महासंघका सल्लाहकार हेजन राई, विशेष अतिथिहरु गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डासुराम पराजुली, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, महासंघका सल्लाहकारहरु दीप थापा, हेम लिम्बू र कानुनकर्मी जसबहादुर ओख्राबोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उपाध्यक्ष टंक रानाको स्वागत मन्तव्यसंगै पानसमा बत्ति बालेर औपचारिक उद्घाटन गरिएको कार्यक्रम सभापति रिता गुरुङद्वारा आफ्नो कार्यकाललाई सफल बनाउँन सहयोग गर्ने संघसंस्था तथा महानुभावहरु प्रति धन्यवाद सहितको मन्तव्य राख्दै कार्यसमिति भंग भएको घोषणा गरेकी थिइन् ।
दोस्रो चरणको बन्द सत्र कार्यक्रममा निवर्तमान महासचिव नविन सुहाङले ३ वर्षे कार्यकालको गतिविधिहरु र कोषाध्यक्ष ताहिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अन्तमा हेजेन राईको अध्यक्षतामा गठित ३ सदस्सीय निर्वाचन मण्डलद्वारा सर्वसम्मत पदाधिकारीको नाम घोषणा गरेको थियो ।

महासंघमा हाल हङकङका ३३ वटा जातीय, क्षेत्रीय तथा खेलकुद, गीत–संगीतलगायत सम्बन्धित संघ संस्थाहरु आवद्ध रहेका छन् । सन् १९९८ मा स्थापित र २०१४ बाट च्यारेटिएबल संस्थामा रुपान्तरित महासंघले २०१६ बाट गृहमामिला विभागको प्रायोजन परियोजना ‘कम्युनिटि सपोर्ट टिम फर नेप्लिज–सीएनटीएन’ मार्फत समुदायका निम्ति विभिन्न कार्यहरु समेत गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्














