• अफ्रिकाको कान्छो अर्बपति मोहम्मद देवजी तान्जानियामा अपहरित

  • तान्जानियाका व्यापारी तथा सत्तारुढ चामा चा मापिन्डुजी (सीसीएम) पार्टीका पूर्व सांसदलाई पहिचान नखुलेका व्यक्तिले दार एस सलामबाट बिहिबार नियन्त्रणमा लिएको क्षेत्रीय कमिशनरले बिहीबार बताएका छन् ।

    अरबौं डलरको आम्दानी गर्ने मोहम्मद ईन्टरप्राईजेज तान्जानिया लिमिटेड (एमइटिएल ग्रुप) का मालिक तथा अध्यक्ष मोहम्मद देवजी बिहानको व्यायाम सकेर देशको व्यापारिक राजधानीको एउटा विलासी होटेलमा पुगेपछि अपहरणमा परेका हुन् । देवजी अफ्रिकाकै कान्छो अर्बपति हुन् ।

    दार एस सलामका क्षेत्रीय कमिशनर पल माकोन्डाले देवजी होटेल प्रवेश गर्ने क्रममा दुई पुरुषले अपहरण गरेको बताए । “उनीहरुले एउटा बन्दुक चलाए र त्यसपछि गेट खोले,” माकोन्डाले भने । सुरक्षाकर्मीहरुले देवजीको खोजी गरिरहेको उनले बताएका छन् ।

    पुलिस कमान्डर लजारो माम्बोसासालाई उद्धृत गर्दै ती हतियारधारी पुरुषहरु विदेशी भएको स्वाहिली टाईम्सले ट्विटरमा उल्लेख गरेको छ । होटेलको गेटमा पहरा दिने गार्ड लगायतका प्रत्यक्षदर्शीसँग सोधपुछ भईरहेको उनले बताए ।

    “मैले उनको पितासँग कुरा गरेको छु र हाम्रो मित्र मोको अपहरणको समाचार सत्य हो,” ईन्भाईरोन्मेन्ट एन्ड युनियन अफेयर्सका स्टेट मिनिष्टर जनवरी माकाम्बाले ट्विटरमा भनेका छन् । “मोहम्मदको परिवार छ र कलिला सन्तान पनि छन् । उनको उद्धारमा सहयोग पुग्ने सूचना हामीलाई दिएर सहयोग गर्नुहोस् ।”

    ४३ वर्षिय देवजी सीसीएमको टिकटबाट संसदमा निर्वाचित भएका थिए तर सन् २०१५ को निर्वाचनमा उनले आफ्नो सीटका लागि लडेनन् । एमइटिएल तान्जानियाकै ठूला कम्पनीहरुमध्ये एक हो । कम्पनीको वेबसाईट अनुसार देशको कुल ग्राहस्थ उत्पादनको करिब ३.५ प्रतिशत हिस्सा यसको छ । कम्पनीको साईकल र डिटर्जेन्टदेखि खाने तेल र पेय पदार्थसम्म उत्पादन गर्ने ३० भन्दा धेरै कारखानाहरु छन् । कम्पनीले कृषी, पूर्वाधार, उर्जा र मोबाईल फोनको क्षेत्रमा पनि लगानी गरेको छ ।

    कम्पनी ११ वटा अफ्रिकी देशमा काम गर्दछ । तीमध्ये अधिकांश इस्ट अफ्रिकामा पर्दछन् । देवजीले सन् २०१५ मा कम्पनीले २ अर्ब अमेरिकी डलर आम्दानी गरेको र २४ हजारलाई रोजगार दिएको बताएका थिए ।

    फोर्ब्सको अर्बपति सूची अनुसार उनको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर बराबर छ ।

    रोयटर्स/ ब्लुमबर्गबाट थप रिपोर्टिङ

  • कमेन्ट गर्नुहोस्