• जापानी टापु हरायो

  • जापानी कोस्टगार्डले होक्काइदोबाट हराएको एउटा टापुको खोजी गरिरहेको छ ।

    जापानी समुद्रमा रहेका सयौं टापुमाथि वैधानिक नियन्त्रण कायम गर्ने र विशिष्ट आर्थिक क्षेत्र विस्तार गर्ने प्रयास स्वरुप सन् २०१४ मा टोकियोले ईसान्बे हानाकिता भनेर नामांकरण गरेको टापुको नामनिशाना भेटिको छैन । अन्तिम पटक सन् १९८७ मा टापुको औपचारिक सर्वेक्षण गरिएको थियो । अभिलेख अनुसार टापुको सबैभन्दा अग्लो भाग समुद्र सतहदेखि १.४ मिटर रहेको असही समाचारपत्रले उल्लेख गरेको छ ।

    साराफत्सु गाउँ नजिकैको समुद्री किनारदेखि करिब ५ सय मिटर दुरीमा रहेको सो टापुले करिब उस्तै दुरीमा रहेको रुसी क्षेत्रबाट जापानको विशिष्ट आर्थिक क्षेत्र छुट्याउन सहयोग गरेको थियो । त्यहीबाट थोरै पूर्वमा, मस्कोले कुरील प्रायद्वीप भन्ने गरेको टापुहरुको श्रृंखला रुसले नियन्त्रण गर्दछ । ती टापुहरु दोश्रो विश्वयुद्धको अन्त्यताका नियन्त्रणमा लिईएका थिए । टोकियोले अझै पनि ती टापुहरुलाई नर्दन टेरिटोरिज भनी आफ्नो नक्सामा उल्लेख गर्दछ र सन् १९४५ देखि फर्काउने अभियान चलाईरहेको छ ।

    हिउँ लगायत विभिन्न तत्वले टापु क्षय भएको र सतहमुनि भासिएको अधिकारीहरुको अनुमान छ । हिउँदमा यो क्षेत्र हिउँले ढाकिन्छ । टापुको अवशेष कहिकतै बाँकी छ कि भनेर सर्वेक्षण गर्न सो क्षेत्रमा कोस्टगार्ड खटाईएको छ । टापुको आधार पत्ता लागे पनि, यसले टापुको अन्तर्राष्ट्रिय परिभाषा पूरा नगर्ने र जापानको विशिष्ट आर्थिक क्षेत्र, थोरै भए पनि, खुम्चिने छ ।

    समुद्री क्षेत्रमा जापानको दाबीलाई बल प्रदान गर्न जापानी सरकारले सन् २०१४ मा नामांकरण गरेका मानव बस्ती नभएका १ सय ५८ टापुमध्ये ईसान्बे हानाकिता कोजिमा पनि एउटा थियो ।

  • कमेन्ट गर्नुहोस्