• सप्ताहन्तमा हङकङ र मकाउको एक दिने यात्रा नहुने

  • शहरवासीले बेहोर्नुपरेको बाधाव्यवधान कम गर्न ग्वाङदोङका ट्राभल एजेन्सीहरूलाई अन्तरसीमा पुलबाट सप्ताहन्तमा गरिने हङकङ र मकाउको एक दिने यात्रा सबै रद्द गर्न निर्देशन दिईएको प्रान्तको पर्यटकीय निकायले जानकारी दिएको छ ।

    एक साता अघि प्रान्तीय राजधानीका ट्राभल एजेन्सीहरूलाई हङकङ-चुहाई-मकाउ पुल हुँदै सप्ताहन्तमा आगन्तुकको समूह लिएर नजान आग्रह गर्दै क्वाङचाउ पर्यटन अधिकारीहरूले एउटा आकस्मिक सूचना जारी गरेका थिए । अक्टोबर २४ बाट पुल सञ्चालनमा आएदेखि सामान्यतया शान्त रहने तुङ चुङ क्षेत्रको लान्ताउ आईल्यान्डमा मूलमूभीबाट ठूलो संख्यामा आगन्तुक आउने गरेका छन् । उनीहरूका कारण बस बिसौनीमा अत्यधिक भिड हुने र पसलहरूमा सामान पनि चाँडै सकिन थालेका छन् ।

    अक्टोबर १७ र नोभेम्बर १ बीचमा, ग्वाङदोङभरी १७ लाख ८० हजारभन्दा धेरैले हङकङ र मकाउको भिसा पाएका थिए । तीमध्ये अधिकांश अवकाशप्राप्त व्यक्ति थिए । प्रान्तको सार्वजनिक सुरक्षा विभागले जनाए अनुसार यो प्रति वर्ष २६.६ प्रतिशतको वृद्धि हो ।

    अत्यधिक भीडभाडबाट दिक्क भएका तुङ चुङवासी र अभियन्ताबाहेक अवैधानिक टुर सञ्चालकहरूले मूलभूमीलाई हङकङमा काम गर्नबाट रोक्ने रोजगार सम्बन्धी कानुन उल्लंघन गरिरहेको पनि आरोप लगाईएको छ ।

    ग्वाङदोङ प्रोभिन्सियल कल्चर एन्ड टुरिजम डिपार्टमेन्टले “बन्दरगाह र वरपरका क्षेत्रमा मानिसको चाप थप कम गर्न” तीन उपाय लागु गरेको जनाएको छ । सप्ताहन्तमा पुल हुँदै हङकङ र मकाउ जाने छोटो यात्रा हाललाई रद्द गर्ने बाहेक, विभागले ट्राभल एजेन्सीहरूलाई “दुई दिन वा सोभन्दा धेरै समय लाग्ने गुणस्तरीय भ्रमण” को व्यवस्था मिलाउन प्रोत्साहन गरेको छ ।

    सम्बन्धित पर्यटन निकायलाई नगर र तल्लो तहसम्म गएर एजेन्सीहरूको नजिकबाट अनुगमन गर्न खटाउने र अन्तरसीमा बसका लागि अनलाईन टिकट प्रणाली मार्फत् यात्रुको बहाव नियन्त्रण गर्ने अन्य दुई विकल्प रहेका छन् ।

    “हाम्रो विभाग र अन्य सम्बन्धित निकायहरूले नियन्त्रणका उपाय अवलम्बन गरेपछि, चुहाईस्थित पुलको बन्दरगाह जाने सडकको ट्राफिक कम भएको छ र चुहाईबाट हङकङ जाने यात्रुको संख्या पनि प्रभावकारी रूपमा नियन्त्रण भएको छ,” विभागले भन्यो । हङकङको ट्राभल  ईन्टस्ट्री काउन्सिलले जनाए अनुसार, अघिल्लो साता पुलको बाटो भएर आउने दर्ता गरिएका भ्रमण टोलीहरूको संख्या ४ सयल ३० रहेकोमा गत साता घटेर ३ सय ४० पुगेको छ ।

    हङकङको अध्यागमन विभागले पुल हुँदै ७६ हजार ४ सय ७३ जना यात्रु गत साता हङकङ प्रवेश गरेको जनाएको छ । त्यसअघि १ लाख २ हजार ७ सय ४९ जना पुल भएर शहर पसेका थिए । यसरी पुल मार्गबाट हङकङ प्रवेश गर्नेहरूको संख्यामा २६ प्रतिशत ह्रास आएको छ ।

    क्वाङचाउका दुई प्रमुख ट्राभल एजेन्सीहरू – ग्वाङजिल्भ र नान्हुका बजार प्रतिनिधीले नयाँ निर्देशनबारे अनभिज्ञ रहेको दाबी गरेका छन् । नान्हुको वेबसाईटमा, बुधबार अपरान्हसम्म सप्ताहन्त भ्रमण सहित पुल हुँदै हङकङ र मकाउको १३ दिने भ्रमण अझै उपलब्ध रहेको जनाईएको छ । ग्वाङजिल्भले सञ्चालन गर्ने हङकङको चार वटा एक दिने भ्रमण साताको शुरुमा हुने गर्दछ ।

    हङकङको ट्राभल ईन्डस्ट्री काउन्सिलकी कार्यकारी निर्देशक एलिस च्यान च्योङ लोक-यीले ग्वाङदोङको नयाँ उपायको स्वागत गरेकी छिन् । यसले एक दिने भ्रमण संख्यामा थप कटौती गर्ने उनले बताएकी छिन् । मूलभूमीका आगन्तुकहरू स्थानीय टुर एजेन्टको नेतृत्वमा उपयुक्त समूह व्यवस्थापन गरी आए, एक दिने भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नै नपर्ने च्यानले बताईन् । काउन्सिलले अवस्थाको अनुगमन गर्ने र ग्वाङदोङका अधिकारीसँग सम्पर्कमा रहने उनले बताएकी छिन् ।

    पर्यटन क्षेत्रका विधायक यिउ सि-विङले ग्वाङदोङका ट्राभल एजेन्सीहरूले उनीहरूको प्रान्तीय निकायको निर्देशन पालन गर्ने र दुई दिने भ्रमण धेरैभन्दा धेरै आयोजना गर्ने आशा व्यक्त गरेका छन् । यसो गर्नाले आगन्तुकहरू जाने पुलस्थित अन्तर-बन्दरगाह शटल बस सेवा, सीमा जाँचपास र स्थानीय डिस्ट्रिक्टमा मानिसको चाप कम गर्न सहयोग पुग्ने उनले बताए ।

  • कमेन्ट गर्नुहोस्