• १६‍औं किम्फ काठमाडौंमा शुरू

  • काठमाडौं ईन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १६औं संस्करण शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ । किम्फमा ३१ देशका ७० भन्दा धेरै चलचित्रहरू देखाईनेछ ।

    ‘वुमन मुभ माउन्टेन्स’ नारा राखेको १६औं किम्फले यस पटक चलचित्र छनोट र फेस्टिभल स्याटलाईट ईभेन्ट, फोटो प्रदर्शनी र अन्य श्रव्यदृश्य प्रस्तुती, प्यानल बहस र संवादहरूमा महिला र महिलाका मुद्दाहरूलाई केन्द्रमा राखेको छ । किम्फले यसलाई नारी शक्तिप्रतिको सम्मान बताएको छ । समाजमा महिलाको भूमिका अन्वेषण गर्ने र चलचित्र निर्माण तथा त्यसको प्रशंसा दुवैमा महिला संलग्नता वृद्धि गर्ने किम्फको उद्देश्य छ ।

    राजधानीको राष्ट्रिय सभा गृहमा पहिलो नेपाली महिला माउन्टेन गाईड दावा याङजुम शेर्पा, गायिका आनी छोयिङ ड्रोल्मा, पहिलो नेपाली महिला टेम्पो चालक लक्ष्मी शर्मा, अष्ट्रेलियाकी डकुमेन्टरी चलचित्र निर्देशक जेनिफर पिडोम र पहिलो नेपाली महिला तबला वादक सरिता मिश्रले संयुक्त रूपमा किम्फको उद्घाटन गरे । उद्घाटन समारोहमा निर्देशक जेनिफर पिडोमको ‘माउन्टेन’ नामक कवितात्मक डकुमेन्टरी प्रदर्शन गरिएको थियो ।

    किम्फमा विभिन्न प्रतियोगिता पनि हुनेछन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका विजेताले पुरस्कार स्वरुप १ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यसै गरी दोश्रो र तेश्रो पुरस्कार स्वरूप क्रमश: एक हजार र पाँच सय अमेरिकी डलर दिईनेछ । नेपाल प्यानोरमा अन्तर्गत उत्कृष्ट डकुमेन्टरीलाई ७५ हजार र उत्कृष्ट फिक्सन अवार्ड अन्तर्गत विजेतालाई एक लाख रूपैयाँ प्रदान गरिनेछ । त्यसैगरी बेस्ट एडभेञ्चर माउन्टेन फिल्म अवार्ड अन्तर्गत विजेतालाई एक हजार अमेरिकी डलर पुरस्कार दिईनेछ । अडियन्स अवार्ड अन्तर्गत विजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

    यस बाहेक चलचित्रकर्मीहरूका लागि निर्देशक केसाङ छेतेन र जेनिफर पिडमले ‘मास्टर क्लास’ सञ्चालन गर्नेछन् । महिनावारी र त्यसप्रतिको दृष्टिकोण, महिला र साहसिक कार्य, हिमाल संरक्षणका विषयहरूमा प्यानल बहस पनि हुनेछ ।

    किम्फ मंसिर २५ गतेसम्म नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहमा सञ्चालन हुनेछ ।

  • कमेन्ट गर्नुहोस्