• मिस र मिस्टर हङकङ नेपालको तयारी पूरा

  • मिस हङकङ नेपालका प्रतियोगीहरुसंग आयोजक संस्थाका अध्यक्ष लोकराज लिम्बू । तस्बिरः एभरेष्टखबर ।

    १८ डिसेम्बर । डिसेम्बर २६ का साँझ याउमाते कम्युनिटि सेन्टरमा सम्पन्न हुने मिस र मिस्टर नेपाल हङकङ २०१८ को तयारी पूरा भएको छ । कार्यक्रम आयोजक मिस नेपाल हङकङ सोसाइटी र हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएको हो ।

    चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा सोसाइटी र एशोसियसन दुवैका अध्यक्ष लोकराज लिम्बूले जानकारी गराए अनुसार यस पटक मिसतर्फ ७ र मिस्टरतर्फ ५ जनाको सहभागिता रहने छ । उनीहरुको अभ्यास र तालिम युद्धस्तरमा चलिरहेको छ । मिसतर्फ नवौं र मिस्टरतर्फ तेह्रौं प्रतियोगिता हुन गइरहेको छ ।

    मिस नेपालको आयोजक द हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपती प्रमुख रहने निर्णायक मण्डलमा कोरियोग्राफर रचना गुरुङ र नवनायक धीरज मगरलगायत रहने छन् । कार्यक्रम सञ्चालिका मिस नेपाल इन्टरनेशनल २०१२ सुभेक्षा खड्का रहने छिन् ।

    कार्यक्रमको पोस्टर सार्वजनिक गर्दै हङकङ नेपाल बडिबिल्डिङ एशोसियसनका पदाधिकारी तथा सल्लाहकारहरु ।

    विजेता, सहविजेता र उपविजेतालाई नगद पुरस्कार क्रमशः १०, ७ र ५ हजार हङकङ डलरसहित ताज दिइने प्रतियोगिताका ९ शिर्षकका पुरस्कार रहेका छन् । मिस अडियन्स च्वाइसका लागि मिस नेपाल हङकङ सोसाइटीको फेसबुक पेजमा गएर लाइक गर्नु पर्ने प्रावधानको व्यवस्था गरिएको छ ।

    मिस्टर हङकङ नेपालतर्फ  विजेता, सहविजेता र उपविजेतालाई नगद पुरस्कार क्रमशः ८, ६ र ४ हजार हङकङ डलर रहेको छ भने उत्कृष्ठ पोजका लागि १ हजार ।

    मिस हङकङ नेपालका लागि प्रिया गुरुङ, सबिना गौचन, जनिभा श्रेष्ठ, माधुरी लिम्बू, नेहा राई, मलिना गुरुङ र नुमा लिम्बू र मिस्टर हङकङ नेपालका लागि रिथ मल्ल, मनिष लिम्बू, राज लिम्बू, चन्द्र सुनुवार र अनिल गुरुङ प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

    आयोजकहरुका अनुसार छोटो समयमा आयोजना गर्न परेकोले सहभागी संख्या कम रहेको हो । अभ्यास र तालिमका लागि समयको तालमेल मिलाउन समस्या भएकोले कतिपय इच्छुकहरु सहभागी हुन सकेनन् ।

    अध्यक्ष लोकराज लिम्बूले एक प्रश्नको जवाफमा मिस र मिस्टर हङकङ नेपाल प्रतियोगीहरुका लागि उपलब्धीमूलक मञ्चको रुपमा विकसित भएको दावी गरेका थिए । उनका अनुसार प्रतियोगीहरुलाई व्यक्तित्व विकास, अवसर र करियरका लागि यस मञ्चले सहयोग पुर्याएको छ ।

    उनले हिडेन ट्रेजरसंग सहकार्य गर्ने समझदारी भएकोले मिस हङकङ नेपालको विजेता मिस नेपालको टप २० मा छनौट हुने जानकारी गराएका छन् । अरु संघसंस्थासंग पनि सहकार्य गरेर अगाडि बढ्ने प्रयास भइरहेकोले सहभागीहरुले अरु अवसर प्राप्त गर्ने उनको भनाई रहेको छ ।


    कार्यक्रमको पोस्टर सार्वजनिक गर्दै प्रतियोगी र आयोजकहरु ।

     

  • कमेन्ट गर्नुहोस्