किम जोङ उन बेईजिङमा


उत्तर कोरियाली नेता किम जोङ उनलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ । तस्बिर: एससीएमपी ।
उत्तर कोरियाली नेता किम जोङ–उनले ३५औं जन्मदिन बेईजिङमा मनाईरहेका छन् । किमले आउने केही सातामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेईजिङमा दोश्रो चरणको वार्ता गर्नेछन् ।
किम चीनको चार दिने यात्रामा आएका हुन् । उनी रेलबाट मंगलबार बिहान बेईजिङ आईपुगेका छन् । उत्तर कोरियामा किमको जन्मदिनभन्दा उनको पुर्खाको जन्मजयन्तीलाई विशेष महत्वका साथ मनाईन्छ । उनको बुवा र हजुरबुवाको जन्मदिवसमा सार्वजनिक विदा दिईन्छ । किमको जन्मदिनमा भने कुनै औपचारिक कार्यक्रम आयोजना गरिदैंन ।
सन् २०१४ मा प्योङयाङमा भएको एउटा प्रदर्शनी खेलमा नेशनल बास्केटबल एसोसिएसन (एनबीए) का खेलाडी डेनिस रडम्यानले उनका लागि ह्याप्पी बर्थडे गीत गाएका थिए । यो घटना किम अन्तर्राष्ट्रिय कुटनीतिमा प्रवेश गर्नुअघिको हो ।
गत वर्ष मार्चमा भ्रमण गरेदेखि किमको यो चौथो चीन यात्रा हो । भ्रमणमा किमकी पत्नि री सोल–जु सहित किम योङ–चुल, रि सु–योङ, पाक ते–सुङ, रि योङ–हो, नो क्वाङ–चुल लगायत अन्य उत्तर कोरियाली अधिकारीहरू पनि सहभागी भएको उत्तर कोरियाको सरकारी सञ्चार गृह केसीएनएले जनाएको छ ।
वाशिङ्टनस्थित आर्म्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक ड्यारियल किम्बालले नयाँ वर्षका दिन गरेको सम्बोधनमा उल्लिखित नीति अनुरूप किमले चीनको सहयोग खोज्ने बताएका छन् । ट्रम्पसँग अर्को सम्भावित शिखर वार्ता गर्ने सम्बन्धमा प्योङयाङको स्थान बलियो बनाउन पनि किमले प्रयास गर्ने किम्बालले बताए । प्राप्त सूचना अनुसार उक्त शिखर वार्ता हानोई, बैंकक वा हवाईमा हुने सम्भावना छ ।
“हामी स्थानबारे छलफल गरिरहेका छौं…चाँडै नै घोषणा गर्नेछौं,” ट्रम्पले व्हाईट हाउसमा उपस्थित सञ्चारकर्मीलाई आईतबार बताएका छन् ।

पूर्व अमेरिकी कुटनीतिज्ञ सन किङले ट्रम्पसँग शिखर वार्ता गर्नुअघि चीनलाई उत्तर कोरियाले सुरक्षा ग्यारेन्टीको रूपमा प्रयोग गरिरहेको बताएका छन् । उनी हाल पार्क स्ट्राटजिस नामक राजनीतिक रणनीति सम्बन्धि काम गर्ने संस्थामा वरिष्ठ उपाध्यक्ष छन् ।
“उत्तर कोरियाले विश्वभरि सञ्चालन गरेका अवैध व्यवसायका लागि लगानीको श्रोत र ट्रान्जिटका रूपमा लामो समयदेखि मूलभूमी चीन र यसका बैंकहरूलाई प्रयोग गर्दै आएको छ । यसरी किमले ट्रम्प विरूद्ध बढी आत्मविश्वास निर्माण गर्नेछन्,” किङले भने ।
“यदि किमले साँच्चिकै ट्रम्पलाई पुन: भेट्छन् भने, उनी आफ्नो प्रमुख सहयोगी तथा संरक्षक सिसँग भेटेर मात्रै विश्वमंचमा आउने छन् । बेईजिङले उत्तर कोरिया विरूद्ध गरिएको नाकाबन्दीलाई उल्लंघन गर्दै प्योङयाङलाई निरन्तर सहयोग गरोस् भन्ने चाहना पूरा गर्नेतर्फ किम लाग्नेछन्,” उनले भने ।
सोलस्थित सेजोङ ईन्स्टिच्युटका एक अनुसन्धाता च्योङ स्योङ–च्याङले सिसँग किमको शिखर वार्ता कोरियाली प्रायद्विपको परणाणु निशस्त्रीकरण, वर्तमान युद्धविरामलाई शान्ति व्यवस्थामा परिणत गर्ने र उत्तर कोरिया विरूद्ध लगाईएको नाकाबन्दी हटाउनेबारे केन्द्रित हुने अनुमान गरिएको बताएका छन् ।
उत्तर कोरियाको अन्तरमहादेशीय बलिस्टिक मिसाईललाई देशबाहिर लगेर नष्ट गर्नेबारे पनि किम र सिबीच बहस हुनसक्ने सम्भावनालाई नकार्न नसकिने उनले बताएका छन् । अमेरिका यो मुद्दाको सम्बोधन होस् भन्ने चाहन्छ ।
कमेन्ट गर्नुहोस्
