• गोर्खा ट्रेलब्लेजर : अब पालो सिर्जनाको

  • १० जनवरी । हङकङमा हुने ट्रेलवल्कमा एकपछि अर्को नयाँ नेपाली खेलाडीहरु पदार्पण भइरहेका छन् । यसै क्रममा यस पटकको पालो रहेको छ सिर्जना राईको । पर्सी जनवरी १२ का दिन हुने गोर्खा ट्रेलब्लेजरमा भाग लिन उनी यहाँ आईपुगेकी छन् ।

    सिर्जना र महेन्द्र राईलगायतलाई स्वाग गर्दै गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष रत्न खिम्दिङ (दायाँ)लगायत । तस्बिर: बज्रकुमार राई ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राईसहित आएकी उनलाई गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष रत्न खिम्दिङ र सचिव अमोद राईलगायतले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सिर्जना र महेन्द्रलाई राखेपका सदस्य सचिवकेशवकुमार विष्टले हिजो विदाई गरेका थिए ।

    सिर्जना र महेन्द्र राईलाई विदाई गर्दै राखेपका सदस्य सचिव केशवकुमार विष्ट  । तस्बिर: राखेप ।

    ट्रेलवल्कमा उदियमान खेलाडी सिर्जनाले ट्रेलब्लेजरको २६ किलोमिटरको स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । संखुवासभाकी सिर्जना भर्खरै सम्पन्न मास्टर ट्रेल पञ्चासे (५० किलोमिटर)की विजेता हुन् । उनले अन्नपूर्ण ट्रेललगायत विभिन्न प्रतियोगितामा भाग लिइसकेकी छन् ।

    चाइल्ड वेल्फेयर स्किम र गोर्खा सिमेट्रिज ट्रष्टको संयुक्त आयोजना रहेको गोर्खा ट्रेलब्लेजरको दोश्रो संस्करण हुन लागेको हो । गत वर्ष शुरु भएको यसले ‘बेस्ट न्यु रेस’को उपाधी प्राप्त गरेको थियो । हङकङमा हुने ट्रेलरेसमा सूचिकृत पनि भइसकेको छ ।

    आयोजक गाेर्खा सिमेट्रिजका पदाधिकारी तथा अन्य तयारीको क्रममा । तस्बिर: जीसीटी ।

    हङकङमा लामो इतिहास रहेको गोर्खाको बारेमा नयाँ पुस्तालाई जानकारी गराउँन र त्यसलाई स्मरणीय बनाउँन गोर्खा ट्रेलब्लेजरको शुरुवात गरिएको ट्रष्टका अध्यक्ष रत्न खिम्दिङ बताउँछन् । गोर्खा भूतपूर्व सैनिक रहेका उनका अनुसार बेलायतकालिन हङकङका लागि गोर्खाहरुको योगदान अतुलनीय रहेको छ ।

    यस परोपकारी (च्यारिटेबल) प्रतियोगिता बेलायतकालिन गोर्खा सैनिकको तालिमस्थलको रुपमा रहेको स्थान (पात सिन लेङ कण्ट्रिपार्क)मा हुने गरेको छ । यसबाट संकलित रकम स्किम र ट्रष्टमार्पmत शिक्षालगायतमा खर्च गरिने जनाइएको छ ।

    ट्रष्टका सचिव तथा कार्यक्रम संयोजक अमोद राईका अनुसार १२ र २६ किलोमिटरका दुई स्पर्धाका लागि ३० देशका लगभग ४०० खेलाडीले नाम दर्ता गराएका छन् । स्थानीय र बाहिरका गरी लगभग ६० जना नेपाली मूलका खेलाडीहरुको सहभागिता रहने छ ।

    ट्रेलवल्क हुने रुटमा स्वयंसेवकहरु। तस्बिर: जीसीटी ।

  • कमेन्ट गर्नुहोस्