केही सेकेन्डमै काम गर्ने र एक महिना टिक्ने गर्भनिरोधक
जर्जिया ईन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धाताहरूले महिलाका लागि सस्तो गर्भनिरोधक ‘प्याच’ बनाएका छन् ।
प्रयोग गरेको केही सेकेन्डमै प्याचमा भएका “माईक्रोस्कोपिक निडल” छालाको सतहमा प्रवेश गरेर शरीरमा गर्भनिरोधक औषधी लिभोनोर्जेस्ट्रेल पुर्याउँछन् । प्याचलाई केही सेकेन्ड लगाए पनि एक महिनासम्म औषधीको प्रभाव रहने “नेचर बायोमेडिकल ईन्जिनियरिङ” जर्नलमा सोमबार प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उपभोक्ताका लागि आउने केही वर्षमै उत्पादन शुरू हुने र बजारमा यसको मुल्य अमेरिकी डलर १ सम्म हुने अनुसन्धाताहरू अपेक्षा गर्दछन् ।
“महिनामा एक पटक पाँच सेकेन्ड माईक्रोनिडल लगाएर महिलाहरू आफैंले लामो सयमसम्म प्रभावकारी रहने गर्भनिरोधक प्रयोग गरून् भन्ने हाम्रो लक्ष्य हो,” अध्ययन प्रतिवेदनका लेखक तथा जर्जिया टेक्स स्कूल अफ केमिकल एन्ड बायोमोलिक्युलर ईन्जिनियरिङका प्राध्यापक मार्क प्रस्नीजले भने ।
बजारमा उपलब्ध केही अन्य गर्भनिरोधक प्याचलाई प्रयोगकर्ताले निरन्तर लगाउनुपर्छ । त्यसको विपरीत नयाँ प्याचमा भएका माईक्रोनिडल छालामा प्रवेश गरेपछि त्यसको पछाडिको भाग निकाल्न सकिने अनुसन्धाताहरू बताउँछन् ।
मुसाहरूमा गरिएको प्रारम्भिक परिक्षणमा सय वटा जति माईक्रोनिडल भएको उक्त प्याचले एक पटकको प्रयोगमा एक महिनाभन्दा लामो समयका लागि औषधी प्राप्त भएको पत्ता लागेको थियो ।
एउटा अन्तर्वार्ताको क्रममा, मुसाको रगतमा लिभोनोर्जेस्ट्रेलको सही मात्रा पठाउन सकिन्छ वा सकिदैंन भन्ने निर्धारण गर्नु नै प्रारम्भिक परिक्षणको उद्देश्यक भएको प्रस्नीजले बताए ।
अबको पाँच वर्षमा यो प्याच बजारमा उपलब्ध हुनसक्ने प्रस्नीजले बताए । यो प्याचले मानिसमा पनि प्रभावकारी रूपमा काम गर्न सक्छ भन्ने प्रमाणित गर्न थप परिक्षण आवश्यक भएको अनुसन्धाताहरू बताउँछन् । प्रत्येक ६ महिनामा एक पटक लगाउन मिल्ने प्याच बनाउने उनीहरूले आशा गरेका छन् ।
“स्वास्थ्यकर्मीकहाँ जान र लामो समयसम्म प्रभावकारी हुने गर्भनिरोधक लगाउन केही महिलालाई कठिनाइ हुनसक्छ,” प्रस्नीजले भने ।
“लामो समयसम्म काम गर्ने र आफैं लगाउन मिल्ने केही साधन भए, धेरैका लागि आकर्षक र सजिलो हुनेछ ।”