डोनाल्ड ट्रम्पले राजिनामा दिएको झूठो खबर सहित नक्कली वाशिङ्टन पोस्ट वितरण


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजिनामा दिएको झूठो समाचार छापिएको द वाशिङ्टन पोस्टको नक्कली संस्करण वाशिङ्टनको विभिन्न स्थानमा बुधबार बिहान वितरण गरिएका छन् ।
ठ्याक्कै वाशिङ्टन पोस्टजस्तो देखिने ती समाचारपत्र ट्रम्प विरूद्ध लेखिएका सामग्रीले भरिएका थिए । वाशिङ्टन पोस्टजस्तै देखिने नक्कली वेबसाईटमा पनि ती सामग्री राखिएका थिए ।
पोस्टको जनसम्पर्क विभागले ट्विटरमा एउटा वक्तव्य सार्वजनिक गरेको छ : “वाशिङ्टन डिसीमा द वाशिङ्टन पोस्टको नक्कली छापा संस्करण वितरण भइरहेका छन्, र द पोस्टजस्तै देखिने एउटा नक्कली वेबसाईटबारे पनि हामीलाई जानकारी प्राप्त भएको छ । तिनीहरू पोस्टका उत्पादन होईनन्, हामी यो मामिलाको अनुसन्धान गरिरहेका छौं ।”
“अनप्रेजिडेन्टेड” शीर्षकको मुख्य समाचार राखेर छापिएको उक्त समाचारपत्रमा ट्रम्पले एउटा न्याप्किनमा राजिनामा लेखेको र यल्तातर्फ गएको खबर छ । यल्ता क्रिमियाको लोकप्रिय शहर हो जहाँ दोश्रो विश्वयुद्धताका अमेरिकी राष्ट्रपति फ्र्याङ्क्लिन डी. रूजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र तत्कालीन सोभियत संघका प्रमुख जोसेफ स्टालीनले भेटवार्ता गरेका थिए ।
उक्त झूठो खबरमा देशव्यापी रूपमा भएको “महिला नेतृत्वको विशाल विरोध” का कारण ट्रम्पले तत्काल राजिनामा दिएको उल्लेख गरिएको छ । यसले शनिबार हुने तय गरिएको महिला जुलुसको प्रवर्द्धनात्मक गतिविधि हुनसक्ने शंका उब्जिएको छ ।
नक्कली वेबसाईट र समाचारपत्रका पछाडि कसको संलग्नता छ भन्ने तत्काल स्पष्ट भएको छैन । त्यस्ता समाचारपत्रहरू व्हाईट हाउस र युनियन स्टेसन बाहिर समेत गरी वाशिङ्टनको विभिन्न स्थानमा वितरण गरिएका थिए ।
लिबरल अभियन्ता समूह कोड पिंकले संस्थाकी सह–संस्थापक मेडिया बेन्जामिनले क्यापिटोल हिल अगाडि ती समाचारपत्रहरू वितरण गरेको भिडियो फेसबुकमा पोस्ट गरेको छ । भिडियोमा देखिएकी बेन्जामिनले मानिसहरूलाई यस्तो बताईरहेकी छिन्,“संकट टर्यो – ट्रम्पले व्हाईट हाउस छाडे । वाशिङ्टन पोस्टलाई विश्वास गर्नुपर्छ ।”
प्रतिक्रियाका लागि पठाईएको ईमेलको बेन्जामिनले कुनै उत्तर दिएकी छैनन् ।
कंग्रेसनल सुनुवाई र अन्य औपचारिक कार्यक्रमहरूमा बाधा पुर्याउने विरोध कार्यक्रम आयोजना गरेको कोड पिंक वाशिङ्टनमा निकै चर्चित छ । सन् २००२ मा स्थापना भएको संस्थाले आफुलाई “अमेरिकाले लगानी गरेको युद्ध र व्यवसाय अन्त्य गर्न, र विश्वव्यापी सैन्यवादलाई चुनौती दिन र अमेरिकी श्रोतलाई स्वास्थ्य स्याहार, शिक्षा, हरित रोजगार र अन्य जीवनोपयोगी गतिविधितर्फ पुनर्निर्देशित गर्न कार्यरत महिलाहरूले शुरु गरेको आधारभूत तहको शान्तिपूर्ण र सामाजिक न्याय आन्दोलन” भएको बताएको छ । संस्थाको नामले जर्ज डब्ल्यु. बुशको प्रशासनको आतंकवाद विरूद्ध सावधान गराउने प्रणालीलाई व्यङ्ग्य गर्दछ । सो प्रणाली अहिले अस्तित्वमा छैन ।
लिबरल समूह मुभअनले आफु जिम्मेवार नभएको ट्विट गरेको छ । सो नक्कली समाचारपत्र प्रकाशन पछाडि समूहको संलग्नता हुनसक्ने भन्दै केहीले सामाजिक सञ्जालमा शंका व्यक्त गरेका थिए । समूहले “हामीलाई समाचारको शीर्षक मनपरे पनि, आजको व्यङ्ग्यात्मक वाशिङ्टन पोस्ट हामीले उत्पादन गरेका होईनौं” भन्दै ट्विट गरेको छ ।
द वाशिङ्टन पोस्ट
कमेन्ट गर्नुहोस्
