• होटलको झ्याल खस्दा बटुवाको मृत्यु : नेपाली कामदार पक्राउ

  • २१ जनवरी । आज बिहान चिमसाचुइस्थित मिरा होटलको झ्यालको पल्ला खस्दा एक बटुवा महिलाको मृत्यु भएको घटनामा हाउसकिपर नेपाली महिला पक्राउ परेका छन् ।

    पारिवारिक श्रोतका अनुसार उक्त होटलमा काम गर्ने राई थरकी महिलालाई चिमसाचुई प्रहरीले पक्राउ गरेको हो । दोभाषेमार्फत वयान लिएपछि उनलाई १० हजार धरौटीमा रिहा गरिएको छ । दोभाषेको व्यवस्थापनमा समय लागेको कारण उनी लगभग १२ घण्टा थानामा रहनु परेको थियो ।


    लामो समयदेखि उक्त होटलमा कार्यरत ३८ वर्षिया महिला बिहान १०:३० बजेतिर १६ तलाको कोठा सफा गर्न पसेकी थिइन् । कोठामा चुरोटको धुवाँ रहेकोले उनले झ्याल खोल्न खोजेकी थिइन् । चुकुल खोल्नासाथ झ्यालको पल्ला खसेको थियो ।

    टाउकोमा गहिरो चोट लागेकी महिलालाई उपचारको लागि क्वीन एलिजावेथ अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले १२:१६ बजे मृत घोषणा गरेका थिए । २४ वर्षीया मृतक मुख्यभूमी चीनको ग्वानडोङ प्रान्तको फोसान शहरबाट आजै प्रेमीसँग हङकङ घुम्न आएकी थिइन् । सामान्य चोट लागेको घाइते प्रेमीलाई प्राथमिक उपचार गरिएको थियो ।

    कामदार महिलाले कोठामा चुरोटको धुवाँ रहेको बताए पनि होटलका कोठाहरुमा धु्म्रपान निषेध रहेको जनाइएको छ । होटलका अनुसार सन् २००९ सालमा विस्तृत मर्मत सम्भार गरिएको समय सम्पूर्ण झ्यालहरु फेरिएका थिए ।

    भवन विभागका अनुसार होटलको झ्यालमा समस्या भएको कुनै शिकायत प्राप्त भएको थिएन । विभागले झ्यालको पल्ला किन र कसरी खस्यो भन्ने अनुसन्धान गरिरहेको छ ।

    होटलले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्तिमार्फत मृतकको परिवारलाई कुनै पनि सहयोग गर्न तत्पर रहेको जनाएको छ । विज्ञप्तिमा अनुसन्धान पूरा भएपछि वास्तविकता सार्वजनिक गरिने जनाइएको छ ।  सन् २०१३ मा सिआईएका पूर्व एजेन्ट एडवार्ड स्नोडेनले रुस जानुअघि हङकङमा शरण लिँदा तीन हप्ता यही पाँच तारे होटलमा बिताएको बताइन्छ ।

    तस्बिर श्रोत एप्पल डेली र एससीएमपी ।

  • कमेन्ट गर्नुहोस्