• नेपाललाई ऐतिहासिक एक दिवसीय सिरिज

    टिम नेपाल तस्बिर सौजन्य: सन्दीप लामिछाने/ट्विटर
  • काठमाडौं, १४ माघ : नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास कायम गर्न सफल भएको छ ।

    घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई चार विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।

    तीन खेलको सिरिजमा पहिलो खेल गुमाए पनि नेपालले दोस्रो र तेस्रो खेल जित्दै सिरिजमाथि कब्जा जमाएको हो । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २–१ ले जितेको हो ।

    आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

    कप्तान पारस खड्काले शतकीय इनिङ्स खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले छ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा कप्तान पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे । ओडीआईमा पहिलो शतक बनाउने नेपालीसमेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।

    नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे । त्यस्तै सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । त्यस्तै विनोद भण्डारीले नौ, रोहितकुमार पौडेलले १६ र दिपेन्द्रसिंह ऐरीले ६ रन बनाएका थिए । युएईका इमरान हेदर र अस्फाक अहमदले दुई-दुई विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो । खराब शुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

    पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले दुई रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि एक सय रनको साझेदारी गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङ् खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

    नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

    नेपालका कप्तान पारस र करण केसीले दुई-दुई विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए । सिरिजमा नेपालका कप्तान पारस प्लेयर अफ दि सिरिज बनेका छन् । कप्तान पारस प्लेयर अफ दि म्याचसमेत चुनिएका थिए । नेपालले अब यूएइसँग तीन टि–२० सिरिज खेल्नेछ ।

     

  • कमेन्ट गर्नुहोस्