• चीनसँगको व्यापार वार्तामा उल्लेखनीय प्रगति– राष्ट्रपति ट्रम्प

    US President Donald Trump (L), China’s Vice Premier Liu He, US Vice President Mike Pence (2R) and US Secretary of State Mike Pompeo wait for a meeting between US and Chinese officials in the Oval Office of the White House January 31, 2019 in Washington, DC. (Photo by Brendan Smialowski / AFP)
  • वासिङ्टन, माघ १८ : संयुक्त राज्य अमेरिका र चीनबीच वासिङ्टनमा जारी व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको दुबै देशका प्रतिनिधिहरूले बताएका छन् । चीन र अमेरिकाबीचको “व्यापार युद्ध” नाम दिइएको अमेरिकी करवृद्धि योजनाले विश्व अर्थतन्त्रमै पार्न सक्ने गम्भीर प्रभावलाई ध्यान दिई हाल दुबै मुलुकबीच वार्ता भइरहेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीयाँ राष्ट्रपति सी चिनफिङबीच जी–२० बैठकको अवसरमा अर्जेन्टिनाको ब्युनस आयर्समा भएको भेटवार्तामा दुबै मुलुकबीच तीन महिने व्यापार युद्धविराम घोषणा गरिएको थियो ।

    आगामी मार्च १ तारिखभित्रै वार्ताद्वारा नयाँ सहमति नभए अमेरिकाले २०० अर्ब डलर बराबरका चिनीयाँ सामानमा हाल लाग्दै आएको १० प्रतिशत करलाई वृद्धि गरी २५ प्रतिशतसम्म बनाउने घोषणा गरेको छ ।

    दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङट्न डिसीमा जारी वार्तामा उल्लेखनीय प्रगति भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चिनीया राष्ट्रपति सी चिनफिङले लेखेको पत्र निकै स्वागतयोग्य रहेको पनि बताए ।

    चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाले पनि दुवै देशका व्यापार प्रतिनिधिबीच दुई दिनको वार्तामा “महत्वपूर्ण प्रगति” भएको जनाएको छ । व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा एक प्रतिनिधि मण्डल वासिङ्टन आएको छ ।

    अर्थशास्त्रीहरूको भनाइमा आगामी मार्च १ तारिखको समयसीमाभित्र दुबै मुलुकबीच सम्झौता नभए त्यसले विश्व अर्थतन्त्रमा ठूलै नोक्सानी गर्नेछ । चिनीयाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्र चिनीयाँ प्रतिनिधि मण्डलले पढेर सुनाएको थियो । पत्रमा चिनीयाँ राष्ट्रपतिले दुवै मुलुकबीचको सम्बन्ध अहिले “गम्भीर मोडमा” आएको चर्चा गर्दै परस्पर सम्मानका आधारमा दुवै मुलुकले मिलेर कार्य गर्ने उल्लेख छ ।

    जवाफमा राष्ट्रपति ट्रम्पले दुवै मुलुकबीचको सम्बन्ध ज्यादै राम्रो रहेको बताए ।

    अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र अर्थमन्त्री स्टीभन मन्चिनले आगामी फेब्रुअरीको मध्यमा अर्को चरणको वार्ताका लागि चीनको भ्रमण गर्नेछन् । सिन्ह्वाका अनुसार, राष्ट्रपति ट्रम्पले व्यापार वार्ता सम्पन्न भएपछि चिनीयाँ राष्ट्रपतिलाई भेट्ने बताएका छन् । त्यसपछि दुवै मुलुकबीच व्यापार सम्झौता हुनेछ ।

    “सहमतिका बुँदाहरूलाई लिपिबद्ध गर्नु आवश्यक छ । हामीले अझै केही बुँदामा सहमति जनाइसकेका छैनौं । मेरो विचारमा त्यसमा सहमति हुनेछ । मेरो विचारमा म र राष्ट्रपति सीबीच भेटघाट हुनासाथ सबै बुँदामा सहमति हुनेछ,” राष्ट्रपति ट्रम्पले बताए ।

    चीनको अर्थतन्त्रमा निकै मन्दी आइसकेको र बजार खुम्चिएका कारण पनि वार्ताको महत्व अझ बढेको छ ।

    गत वर्ष, वासिङ्टन र बेइजिङले एकअर्का मुलुकका ३ सय ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका थिए ।

    चीनको गलत व्यापार अभ्यासलाई लिएर राष्ट्रपति ट्रम्पले चीन विरूद्ध व्यापार युद्ध नै शुरू गरेका थिए ।
    व्यापार वार्ताको समयावधि बढाउने सम्भावनका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “मार्च १ तारिखको समयसीमा बढाउने बारेमा हामीले कुरा गरेका छैनौं । मेरो विचारमा तोकिएकै समयभित्र दुई देशबीच सम्झौता हुन्छ ।”

    यसैबीच, चिनीयाँ वार्ता टोलीको नेतृत्व गरिरहेका चिनीयाँ उपप्रधानमन्त्री लिउ हेले राष्ट्रपति ट्रम्पसँग बिहीबार भेटवार्ता गरेका छन् । उनले प्रति दिन थप पचास लाख टन भटमास (सोयाबिन) खरिद गर्न चीन तयार रहेको राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका थिए ।

    जवाफमा राष्ट्रपति ट्रम्पले चीनको यस कदमले अमेरिकी किसान खुशी हुने बताए ।

    बेइजिङले यसअघि नै अमेरिकी सोयाबिन खरिद गर्न थालिसकेको छ । अमेरिकाबाट ठूलो परिमाणमा सोयाबिन चीन निकासी हुने गरेको छ ।

  • कमेन्ट गर्नुहोस्