• नेपाल एयरलाइन्सलाई क्यानबाट जापान उडानकाे अनुमति

  • काठमाडौं, माघ १९ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ ।

    निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौं–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करिब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ ।

    नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेशी नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरूप क्यानले निगमलाई एओसी दिएको हो ।  नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गरे । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ ।

    निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरू गर्ने तयारी गरिरहेको छ । जापानबाट अनुमति पाएपछि उडान शुरू गर्न करिब एक महिना लाग्ने निगमले जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुवै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् ।

    निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

  • कमेन्ट गर्नुहोस्