• विद्युत चुहावट नियन्त्रणमा सफलता

  • काठमाडौं, माघ २३ माघ : लामो सयमदेखि विकराल समस्या बनेको विद्युत चुहावटलाई गुणात्मक रूपले घटाउन नेपाल विद्युत प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ ।

    प्राधिकरणले चालू आवमा १८.५० प्रतिशत विद्युत चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा प्राधिकरणको प्रणालीमा २०.४५ प्रतिशत विद्युत चुहावट भएको थियो । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई चुहावट नियन्त्रणको थोरै लक्ष्य दिएको थियो ।

    सरकारको स्पष्ट निर्देशन, प्राधिकरणको प्रभावकारी एवं व्यावहारिक कार्यान्वयन तथा सुरक्षाकर्मीको सक्रिय सहयोगका कारण चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणका लागि श्वेतपत्रमार्फत स्पष्ट निर्देशन दिएको थियो । गत वैशाखामा जारी गरिएको श्वेतपत्रमा चुहावट घटाउनु पनि ऊर्जा उत्पादन गरेसरह हुने भन्दै प्रभावकारी रूपमा काम गर्न प्राधिकरणलाई आवश्यक सहजीकरण गरिरहेको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रूपमा चालिएका कदमले विद्युत चुहावटमा ऐतिहासिक सफलता मिलेको बताए । उनले २५.७८ प्रतिशत रहेको चुहावटलाई घटाएर न्यून बिन्दुमा ल्याउन सफलता मिलेको बताए ।

    आव २०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेकामा आव २०७३/७४ मा २२.९ प्रतिशतमा झरेको थियो । चालू आवको बाँकी अवधिमा पनि अभियानाकै रूपमा चुहावट नियन्त्रण गर्ने योजनामा प्राधिकरण लागेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा अन्तर्गतका कर्मचारी  दिन–रात नभनी खटिएका कारण पनि चुहावट नियन्त्रणमा सफलता मिलेको हो । प्राधिकरणका अनुसार करिब १० प्रतिशतको चुहावट नियन्त्रण मात्रै हुनसक्यो भने पनि वार्षिक सात अर्ब रूपैयाँ थप आम्दानी हुनेछ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको आर्थिक तथा प्रशासनिक बेथिति नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्ने लगायतका निर्देशन प्राधिकरणलाई दिएका थिए । गृह, ऊर्जामन्त्री तथा सचिव, प्रहरी महानिरीक्षक लगायतको संयुक्त बैठकले  विद्युत चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापक रूप परिचालन गर्ने निर्णय गरेको थियो ।

    विद्युत चोरी नियन्त्रण अभियानमा गृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबाट निरन्तर साथ र सहयोग पाइरहेका कारण पनि ऐतिहासिक सफलता मिलेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

    काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकामा चालू आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशत पुगेको छ । यस्तै भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करीब ४० प्रतिशत रहेकामा अहिले पछिल्लो समयमा घटेर १३.७२ प्रतिशतमा सीमित भएको छ ।

    लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करिब १५ प्रतिशत रहेको चुहावट घटेर ६.४१ प्रतिशतमा झरेको छ । हेटौंडा क्षेत्रीय कार्यालय मातहतका कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकामा पछिल्लो दिनमा घटेर ६.६६ प्रतिशतमा झरेको छ ।

    उद्योग करिडोर रहेको वीरगञ्ज, सिमरा र हेटौंडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौंडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेखनीय कमी आएको हो । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट गत मङ्सिरसम्ममा घटेर २.५० प्रतिशतमा झरेको छ । दुई वर्षअघि ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रमा अहिले ३९.९५ प्रतिशतमात्रै चुहावट हुने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

    विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकामा घटेर ११.६१ प्रतिशतमा सीमित भएको छ । कुल १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशत, पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकामा घटेर ८.६१ प्रतिशतमा सीमित भएको छ ।

    जनकपुर, नेपालगञ्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट पनि उल्लेख्य मात्रामा घटेको छ । प्राधिकरणले दुई वर्षमा पाँच हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखेको छ ।

    प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि अभियान नै थालेको छ । त्यस्तै मिटर लिन प्रोत्साहित गर्न सुकुम्बासीलाई पनि मिटर सहज रूपमा दिने, स्थानीय तहको सिफारिशबिना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण गरेका कारण चुहावट नियन्त्रणमा सफलता मिलेको हो ।

  • कमेन्ट गर्नुहोस्